काठमाडौं। नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएका छन्। कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख ४२ हजार आठ सय ८८ जना पुगेको हो। उनीहरूमध्ये ६३ लाख ४८ हजार दुई सय ७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६ सय नौ जनाले एक मात्रा खोप लगाएका छन्।
यसैबिच पछिल्लो २४ घण्टामा आठ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एजेन्ट गरी आठ हजार दुई सय १९ जनाको नमुना परीक्षण गर्दा आठ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९६ हजार ६ सय १८ जना र एजेन्ट विधिबाट गरिएको परीक्षणमा ९१ हजार नौ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
थप एक हजार एक सय २३ जना निको भएसँगै कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार आठ सय १९ जना पुगेको छ। थप नौ जनासहित कोरोना भाइरसको सङ्क्रमणको कारण अहिलेसम्म ११ हजार एक सय ५७ जनाले ज्यान गुमाएका छन्। अहिले १७ हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ५० जनाको आइसियु र एक सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।