के शंकर पोखरेल ओलीका उत्तराधिकारी हुन् ?

‘‘अहिले पनि ओली भर्सेस पाँच दल छन्। यस्तो अवस्थामा अहिले सबल र सक्षम एमाले हुनको लागि नेतृत्वमा ओलीको विकल्प छैन। यही नै शंकर पोखरेलको लाइन हो।’’

नेपालभ्युज

के शंकर पोखरेल ओलीका उत्तराधिकारी हुन् ?

काठमाडौं। नेकपा (एमालेको) पहिलो विधान सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले रुघाखोकी लागेको भन्दै आफ्नो राजनीति प्रतिवेदन शंकर पोखरेललाई पढ्न दिए। उद्घोषकको जिम्मा पाएका प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेश गर्न ओलीलाई पोडियममा बोलाए।

करीब ३५ मिनेट पढेपछि ओलीले ड्यास तिर फर्कदै भने, ‘‘मलाई रुघाखोकी लागेकाले पढ्न समस्या भयो। यो राजनीतिक प्रतिवेदन कमरेड शंकर पोखरेलले वाचन गर्नुहुनेछ।’’

झट्ट हेर्दा यो अति सामान्य कुरा थियो। अध्यक्षलाई शारीरिक समस्या परेपछि अरु कसैले उनको आग्रहमा प्रतिवेदन पढ्नु अस्वाभाविक होइन। तर, ओलीपछि एमालेको नेतृत्वमा पुग्ने अपेक्षा र दौडमा लागेका नेताहरुलाई यसले झट्का दियो। बोल्न सकनेन् तर मुखामुख चाहिँ गरे। पोखरेल पोडियममा आएर ओलीको प्रतिवेदन पढ्न थाले। तत्काल मिडिया र हलमा गाइगुईँ चल्यो, के ओलीले पोखरेललाई प्रतिवेदन पढ्न दिएर सांकेतिक रुपमा आफ्नो उत्तराधिकारी हुन् भन्ने सन्देश दिएका हुन् ?

यदि अध्यक्षले पढ्न नसकेको भए महासचिव ईश्वर पोखरेल थिए, उनलाई किन दिइएन ? उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली थिए  । दुवै उपमहासचिवहरू घनश्याम भुसाल र विष्णु पौडेल पनि थिए। यता सचिवहरू समेत थिए। तर नवौँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भई पदाधिकारीमा नरहेका नेता शंकर पोखरेललाई नै ओलीले प्रतिवेदन पढ्न सुम्पिनुले ओलीको रोजाइमा उनी परेको आंकलन धेरैको छ।

पोखरेल ओलीलाई पुन: अध्यक्षमा दोहोर्याउनुपर्छ भनेर लविङ गरिरहेका नेता हुन्। आफूलाई प्रशंसा गर्ने र आफ्ना लाइनमा टिकिरहने नेतालाई ओली संरक्षण पनि गर्छन् र माया पनि। त्यो बादललगायत माओवादीबाट आएका नेतालाई उनले दिएको जिम्मेवारीबाट देखिइसक्यो।

पोखरेल उनीसँग लामो समयदेखि सहकार्यमा छन्। त्यस हिसाबले प्रतिवेदन पढ्न दिएर उनले उनीप्रति आफू अधिक विश्वस्त छु भन्ने देखाए। एकजना दोस्रो तहका नेता चाहिँ आशंका गर्छन्। नाम नलेखिदिने शर्तमा उनले भने, ‘ओलीले पार्टीमा उमेर हद लगाएर धेरैलाई बिदा गर्ने योजना बनाएका छन् र आफ्नो राजनीतिक सक्रियतापछि आफ्ना विश्वासिलालाई नेतृत्व सुम्पने सोच बनाएको देखिन्छ।’

७० वर्षे उमेर हदका कारण एमालेमा ओलीपछिका धेरै शीर्षस्थ नेता एकै पटक नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदै छन्। त्यसपछिका नेतृत्वको दाबेदारमा शंकर पोखरेललगायत हुनेछन्।

एमालेमा निर्वाचित महासचिव ईश्वर पोखरेल हुन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि पोखरेललाई निरन्तरता दिइएन। एमालेमा उपमहासचिव रहेका विष्णु पौडेललाई महासचिव बनाइयो। त्यस बेला धेरैले ओलीले पौडेललाई उत्तराधिकारी बनाउन खोजेका हुन् कि भन्ने चर्चा गरेका थिए।

तर अहिले ओलीले उपमहासचिवमा पौडेलका प्रतिस्पर्धीलाई अघि सारेपछि घटना रोचक देखिएको छ। अधिवेशन स्थलमै सुनियो, राष्ट्रपति विद्यादेवी भण्डारीको दबाबमा  पोखरेललाई अघि सारिएको हुनसक्छ। राष्ट्रपति भण्डारी एमालेमा सक्रिय राजनीतिमा हुँदा पोखरेल उनको निकट मानिन्थे।

उमेर हदले पन्छिँदै धेरै प्रतिस्पर्धी
एमालेमा सम्भवत ७० वर्षे उमेर हद यसै विधान महाधिवेशनले पारित गर्ने छ। जसले ओलीपछिका धेरै शीर्षस्थ नेतालाई एकै पटक नेतृत्वको प्रतिस्पर्धाको दौडबाट बाहिर लैजाने छ।  यसअघि ओलीको उत्तराधिकारीमा वर्तमान महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदीप ज्ञवालीको चर्चा थियो। त्यसपछिका नेतृत्वको दाबेदारमा शंकर पोखरेलको नाम थियो।

विधान महाधिवेशनले उमेर हद कायम गरेमा ११ औँ महाधिवेशनबाट पहिलो तहका नेताहरु नेतृत्वबाट बाहिरिनेछन्। किनकि एमाले विधानमा कार्यकारी कमिटीमा निर्वाचित वा मनोनीत हुन उमेर हद ७० वर्ष तोकिएको छ। र अब वैशाखमा हुने महाधिवेशनमा ओली आफैँ नेतृत्वमा दोहोरिन चाहेका छन्। यो महाधिवेशनमा ओलीलाई रोक्न खोज्ने साहस दोस्रो तहका नेताहरुमा छैन। यसैले अर्को ११ औँ महाधिवेशन आउने बेलासम्म अहिले ६८ वर्षीय महासचिव ईश्वर पोखरेल, ६७ वर्षीय नेताहरु युवराज ज्ञवाली, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यले बिदा लिइसकेका हुनेछन्।

यसको अर्थ एमाले अब ६० वर्ष हाराहारीका नेताहरूको नेतृत्वको दौडमा हुनेछन्।  एमालेमा दोस्रो पुस्ता मानिने ६४ वर्षीय भीम रावल, ५९ वर्षीय नेताहरु घनश्याम भुसाल, ५८ वर्षीय  नेताहरु प्रदीप ज्ञवाली, शंकर पोखरेल नेतृत्वको दौडमा हुनेछन्। त्यस बेलामा ओलीले पोखरेललाई नै अघि सार्ने सम्भावना रहेको आंकलन छ।

सचिव तथा प्रवक्ता प्रदीप ज्ञवाली पार्टीमा लोकप्रिय छन्। ओलीका विश्वासिला पात्र समेत रहेका उनलाई पार्टीभित्र धेरैले रुचाउँछन्। तर, उनीभन्दा पोखरेल ओली निकट भएकाले उनलाई नेतृत्वमा जान पोखरेलभन्दा बढी चुनौतीपूर्ण रहेको बताइन्छ।

यता शंकर पोखरेल भने नेतृत्वमा अहिल्यै रुचि नभएको बताउँछन्। प्रतिवेदन पढ्न दिएर अध्यक्षले तपाईलाई उत्तराधिकारी बनाउन खोज्नु भएको हो ? भनेर प्रश्न गर्दा उनी बोल्न चाहेनन्। उनले यतिमात्रै भने, “मेरो अहिल्यै नेतृत्वमा जाने सोच छैन। अध्यक्षले कार्यकाल दोहोर्याउनु पर्छ। एमालेलाई उहाँको नेतृत्व आवश्यक छ।’’

उनका सहयोगी एमाले नेता सरोजकुमार रेग्मीले नेपाल भ्यूजसँग कुरा गर्दै पोखरेलको नेतृत्वमा जाने इच्छा नभएको कुरा बताए। उनले पाखेरलेको भनाइ उधृत गर्दै भने, ‘‘यसअघि ओलीले महाधिवेशनसम्म पर्ख म छाडिदिउँला भन्दा पनि उहाँ विरुद्ध घेराबन्दी भयो। काम गर्न दिइएन। पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा रहँदा काम गर्न दिइएन। अहिले पनि ओली भर्सेस पाँच दल छन्। यस्तो अवस्थामा अहिले सबल र सक्षम एमाले हुनको लागि नेतृत्वमा ओलीको विकल्प छैन। यही नै शंकर पोखरेलको लाइन हो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved