सार्वभौम देशलाई हस्तक्षेप गर्ने पराजित हुन्छ – ओली

नेपालभ्युज

सार्वभौम देशलाई हस्तक्षेप गर्ने पराजित हुन्छ – ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि सार्वभौम देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने देश पराजित हुने बताएका छन्। पार्टीको पहिलो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अफगानिस्तानको उदाहरण दिए।

अध्यक्ष ओलीले अफगानिस्तानमा देखिएको समस्यको बाछिटा दक्षिण एशियासम्म आउन सक्ने भन्दै यसमा नेपाल सचेत हुन आवश्यक रहेको बताए। असंलग्न राष्ट्र र पञ्चशीलको सिद्धान्त नै नेपालको परराष्ट्र नीतिको आधार हुनुपर्नेमा उनको जोड थियो।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले म्यानमारमा भएको सैन्य ‘कू’ र प्रजातान्त्रवादी नेत्री आङ साङ सुकीको निर्वाचित पार्टीलाई सेनाले गरेको बर्खास्तीमा पनि चासो व्यक्त गरेका छन्।

विधान महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको परराष्ट्र नीति स्पष्ट पारेका छन्। नेपालको भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने भन्दै मित्र राष्ट्रबाट पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

त्यसअघि छिमेकी देशले नेपालमा राख्ने चासोका विषयमा नेपाल अवगत भएको बताउँदै उनले नेपालको संवेदनशीलताका विषयमा छिमेकी देश पनि सचेत हुनुपर्ने बताएका थिए। दुईपक्षीय विवादका विषयलाई नेपाल आपसी छलफलका माध्यमबाट समाधान गर्न तयार रहेको समेत उनले बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीको विदेश नीति स्पष्ट पारेका अध्यक्ष ओलीले विश्वका दुई शक्तिशाली देश आपसमा प्रतिस्पर्धा गर्दा त्यसले विश्वलाई नै असर पुर्‍याएको बताए। अमेरिका र चीन केही वर्षदेखि व्यापार युद्धलगायत अन्य आपसी समस्यामा जुध्दै गरेको प्रति इंगित गर्दै अध्यक्ष ओली यस्तो बताएका हुन्।

बद्लिँदो विश्व राजनीतिका विषयमा आफ्नो धारणा राखेका अध्यक्ष ओलीले विश्व व्यवस्थामा परिर्वतन आएको समेत बताए। अमेरिकाको एकल धुव्रीय शक्तिलाई उदाउँदो शक्ति चीन र पुनः उदायको शक्ति रुसले चुनौती दिएको भन्दै विश्व बहुधुव्रीय पद्धतिमा गएको ओलीले बताएका छन्।

यस्तै कोभिड महामारीका विषयमा समेत ओलीले आफ्नो धारणा सार्वजनिक गरेका छन्। कोभिड-१९ लाई मानव इतिहासले नै व्यहोरेको कठिन स्वास्थ्य समस्या भएको भन्दै उनले शक्ति राष्ट्रले भ्याक्सिनमा गरेको एकलौटीपनको विरोधसमेत गरेका छन्।

यो पनि पढ्नुहोस्

विधान महाधिवेशनमा ओलीले के भने ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved