पहिलो विधान महाधिवेशनबाट एमालेले दिन खोजेको सन्देश

पार्टी विभाजनले खासै फरक नपरेको र निर्वाचनको तयारीमा जुटेको सन्देश दिन एमालेले विधान अधिवेशन आयोजना गरेको हो ।

पहिलो विधान महाधिवेशनबाट एमालेले दिन खोजेको सन्देश

काठमाडौँ। नेकपा एमालेको पहिलो विधान महाधिवेशन शुरु भएको छ। आगामी मंसिरमा तय भएको १० औँ महाधिवेशनअघि एमालेले विधान महाधिवेशन आयोजना गरेको हो।

पार्टीको आन्तरिक राजनीतिको समिक्षा गर्दै भावी दिनको कार्यदिशा तय गर्न विधान महाधिवेशनको आयोजना गरिएको बताइएको छ। यस महाधिवेशनले पार्टीको नीति र विधि तय गर्न लागेको हो।

विधान महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्यको सहभागीता हुनेछ। यस्तै केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै जिल्ला कमिटीबाट आएका प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसदको पनि सहभागिता हुँदैछ।

आजबाट आयोजना भएको विधान महाधिवेशनले २ भदौमा पार्टी विभाजनसँगै त्यसले पारेको असरका विषयमा छलफल गर्नेछ। एमालेका तत्कालीन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल लगायतका अन्य नेताले २ भदौमा पार्टी विभाजन गर्दै नयाँ दल दर्ता गराएका थिए।

नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पुस र वैशाखमा दुई पटक संसद विघटन गरेका थिए। पार्टी नेतृत्वको सरकार गठन भएसँगै सरकारको काम कारबाहीका विषयमा धेरै नै आलोचित भएको थियो। यस्तै संसदन विघटन गर्ने ओली सरकारको निर्णयले पार्टी जीवनमा धेरै नै क्षति पुगेको विश्वासबीच विधान महाधिवेशन आयोजना हुन लागेको हो।

नेपालका राजनीतिक पार्टीहरूका काम एकातिर र विधान अर्कोतिर हुँदै आएको अवस्थामा एमालेले विधान महाधिवेशन नै आयोजना गर्न लागेको हो। “यो महाधिवेशन आफैमा राम्रो शुरुवात भए पनि औपचारिकताका लागि हो अथवा यसभित्र उठेका विचारले अकार लिन्छ त्यो महत्वपूर्ण पाटो हो”, भन्छन् राजनीतिक विश्लेषक मुमाराम खनाल।

आजबाट शुरु भएको विधान महाधिवेशनलाई आगामी निर्वाचनको तयारीका रुपमा पनि विश्लेषण गरिएको छ। विधान महाधिवेशन प्रचार उपसमितिका संयोजक खिमलाल भट्टराई सम्मेलनलाई निर्वाचन तयारीका रुपमा व्याख्या गर्छन्। भन्छन्, “विधान महाधिवेदनलाई हामीले निर्वाचन तयारीका रुपमा हेरेका छौँ।”

कार्यक्रम अयोजनाबाट एमालेले पार्टी फुटका कारण आन्तरिक रुपमा समस्या नपरेको सन्देश प्रवाह गर्ने प्रयास गर्ने बुझिएको छ। इतिहासमा नै पहिलो पटक आयोजना गरिएको यस प्रकारको महाधिवेशनलाई पार्टीको आन्तरिक जीवनमा के प्रभाव पार्छ भन्ने प्रश्न पनि नउब्जिएको होइन। सांसद एवंम पूर्वराज्यमन्त्री विमला विक पार्टीलाई लोकतान्त्रिक र विधिसम्मत बनाइराख्न यो महाधिवेशनले भूमिका खेल्ने बताउँछिन्। भन्छिन्, “पार्टी संगठनलाई मजबुत बनाइराख्न र जीवन्त राख्न विधान महाधिवेशन आवश्यक छ।” पार्टीको संगठन विस्तारका लागि पनि यसले भूमिका खेल्ने उनी बताउँछिन्।

एमालेका नेताले पार्टी संगठन विस्तार र निर्वाचन तयारीका लागि विधान महाधिवेशनको अवाश्यकता बताए पनि ओली सरकारले लिएका गलत कदमलाई पार्टीले कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न यो भेलाको टड्कारो प्रश्न हुनेछ। अघिल्लो आइतबार तुलसी अमात्य प्रतिष्ठानमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले आफ्नो सरकारले गरेको संसद विघटनको पुनः बचाऊ गरेका थिए।

लगत्तै घनश्याम भूषालले संसद विघटन संविधान विपरित रहेको स्वीकार गर्नुपर्ने प्रस्ताव राखे।

विधान महाधिवेशनमा पुनः यस प्रकारका दोहोरी दोहोरिने सम्भावनालाई नकार्न नसकिने बताउँछन् राजनीतिक विश्लेषक मुमाराम खनाल। “ओली सरकारका गलत कदमका विषय कार्यक्रममा उठे पनि त्यो मत सानो हुने देखिन्छ”, विश्लेषक खनाल भन्छन्, “गल्ती नभएको र आफूले त्यसलाई स्वीकार नगर्ने ओलीको छनक देखिसकेको छ, ती अवाजले पार्टी भित्र स्थान पाउँछन् जस्तो देखिदैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved