एमालेको विधान महाधिवेशन आजदेखि, यी हुन् छलफलका दस्तावेज

सर्वोच्च अदालतले संसद् विघटन खारेज गरेको विषय, संसद् विघटनबारे सर्वोच्चको फैसला र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने खारेज गर्ने सरकारको नियतका विषयमा छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

नेपालभ्युज

एमालेको विधान महाधिवेशन आजदेखि, यी हुन् छलफलका दस्तावेज

काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशन आजदेखि शुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा एमालेले विधान महाधिवेशन गर्दैछ। विधान महाधिवेशनका लागि उसले भव्य तयारी गरेको छ।

आज मध्यान्ह सवा १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा मुख्यतः तीन ओटा दस्तावेजमाथि छलफल हुँदैछ। राजनीतिक प्रतिवेदन, संठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमा छलफल हुनेछ। तीन ओटै प्रस्तावहरूमा घनिभूत छलफल गर्दै पारित गर्नु विधान महाधिवेशन उद्देश्य हो। एमालेले पहिलोपटक विधान महाधिवेशन गर्न लागेको हो।

एमालेले यसअघि पार्टीको नेतृत्व चयन गर्ने महाधिवेशनमै यी विषयमा छलफल गर्दै आएको थियो। एमालेको दशौँ महाधिवेशन दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने थियो। तर माओवादी केन्द्रसँग एकता भएर नयाँ पार्टी गठन भएकाले प्रक्रिया रोकिएको थियो।

फेरि २३ फागुन २०७७ मा एमाले माओवादी साविककै रूपमा रहने सर्वोच्च आदलतले फैसला गरेपछि एमाले पुनः अस्तित्वमा आएको हो। बीचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदाको समय शून्य समय भन्दै निर्वाचन आयोगले एमाले महाधिवेशनका लािग आउँदो वैशाखसम्मको समयसीमा तय गरेको छ।

महाधिवेशनमा तीन ओटा प्रतिवेदनका साथै पछिल्लो समय विकसित घटनाक्रमलगायतका विषयमा समीक्षा हुने प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। खास गरेर सर्वोच्च अदालतले संसद् विघटन खारेज गरेको विषय, संसद् विघटनबारे सर्वोच्चको फैसला र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने खारेज गर्ने सरकारको नियतका विषयमा छलफल हुने उनले बताए।

‘‘सरकार परिवर्तनमा विभिन्न संवैधानिक अङ्गबाट खेलिएको भूमिका, एमालेविरुद्ध विभिन्न दलको गठबन्धन, मुलुकको लोकतन्त्र, संविधानको मर्म र राजनीतिक स्थायित्वमाथि आएको गम्भीर चुनौतीलगायतका विषयमा र छलफल गर्दै निर्णय गर्नेछौँ’’, प्रवक्ता ज्ञवालीले भने।

विधान महाधिवेशनबारे के भन्छन् एमाले नेताहरु?

यसै महाधिवेशनमार्फत नै चुनाव केन्द्रित रणनीति बनाउने योजना छ। पार्टीको कार्यदिशा र कार्यभारको स्पष्ट व्याख्या पनि विधान महाधिवेशनको प्राथमिकतामा रहेको नेताहरू बताउँछन् । उमेर हद, संगठन संरचना, दुई कार्यकालको सीमा, एक व्यक्ति एक पद जस्ता प्रस्ताव सम्मेलनको पेचिलो विषय बन्नेछन्।

विधान अधिवेशन ३ दिन चल्नेछ। विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट १५ जना सहभागी हुनेछन्।

प्रत्येक जनसङ्गठनका पदाधिकारी र वरिष्ठ सदस्य मध्येबाट १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रबाट अनिवार्य १ जना महिला, प्रत्येक जिल्लाबाट १ जना दलित, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र एकतामा सामेल भएका व्यक्तिहरू सहभागी हुने छन्। माओवादी केन्द्रतर्फबाट समेत एमालेमा आएका प्रतिनिधि थपिएकाले महाधिवेशन प्रतिनिधि बढेको एमालेका नेताहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved