एमालेको विधान महाधिवेशन

तीन दस्तावेजमाथि हुँदैछ छलफल

उमेर हद, संगठन संरचना, दुई कार्यकालको सीमा, एक व्यक्ति एक पद जस्ता प्रस्ताव सम्मेलनको पेचिलो विषय बन्नेछन्।

नेपालभ्युज

तीन दस्तावेजमाथि हुँदैछ छलफल

काठमाडौं। शुक्रबारदेखि शुरु हुने नेकपा (एमाले)को विधान महाधिवेशनमा तीन ओटा दस्तावेजमाथि छलफल हुँदैछ। राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमा छलफल हुनेछ। तीन ओटै प्रस्तावहरूमा घनिभूत छलफल गर्दै पारित गर्नु विधान महाधिवेशन उद्देश्य हो। एमालेले पहिलोपटक विधान महाधिवेशन गर्न लागेको हो।

एमालेले यसअघि पार्टीको नेतृत्व चयन गर्ने महाधिवेशनमै यी विषयमा छलफल गर्दै आएको थियो। एमालेको दशौँ महाधिवेशन दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने थियो। तर माओवादी केन्द्रसँग एकता भइ नयाँ पार्टी गठन भएकाले प्रक्रिया रोकिएको थियो।

फेरि २३ फागुन २०७७ मा एमाले माओवादी साबिककै रूपमा रहने सर्वोच्च आदलतले फैसला गरेपछि एमाले पुन: अस्तित्वमा आएको हो। बीचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदाको समय शून्य समय भन्दै निर्वाचन आयोगले एमाले महाधिवेशन आउँदो वैशाखमा तय गरेको छ।

महाधिवेशनमा तीन ओटा प्रतिवेदनका साथै पछिल्लो समय विकसित घटनाक्रमलगायतका विषयमा समीक्षा हुने प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। खास गरेर सर्वोच्च अदालतले संसद् विघटन खारेज गरेको विषय, संसद् विघटनबारे सर्वोच्चको फैसला र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने खारेज गर्ने सरकारको नियतका विषयमा छलफल हुने उनले बताए।

‘‘सरकार परिवर्तनमा विभिन्न संवैधानिक अङ्गबाट खेलिएको भूमिका, एमालेविरुद्ध विभिन्न दलको गठबन्धन, मुलुकको लोकतन्त्र, संविधानको मर्म र राजनीतिक स्थायित्वमाथि आएको गम्भीर चुनौतीलगायतका विषयमा र छलफल गर्दै निर्णय गर्नेछौँ’’, प्रवक्ता ज्ञवालीले भने। यसै महाधिवेशनमार्फत नै चुनाव केन्द्रित रणनीति बनाउने योजना छ। पार्टीको कार्यदिशा र कार्यभारको स्पष्ट व्याख्या पनि विधान महाधिवेशनको प्राथमिकतामा रहेको नेताहरू बताउँछन् । उमेर हद, संगठन संरचना, दुई कार्यकालको सीमा, एक व्यक्ति एक पद जस्ता प्रस्ताव सम्मेलनको पेचिलो विषय बन्नेछन्।

विधान महाधिवेशनबारे के भन्छन् नेताहरू ?

‘जबज’ संशोधनसहित कार्यान्वयन हुन्छ – योगेश भट्टराई, सचिव, नेकपा एमाले

यसअघि २०७१ सालमा नवौँ महाधिवेशन भएको थियो। त्यसबाट आम पार्टी कार्यकर्ता र सिङ्गो मिडियाको ध्यान चाहिँ को अध्यक्ष हुने? को कुन कुन पदमा हुने? भन्ने मात्रै भयो। तर पार्टीले के विचार सिद्धान्त लिन्छ ? कस्तो विधान बनाउला भन्ने विषयमा कमै बहस भयो। यस कारण पार्टी महाधिवेशन पद केन्द्रित हुने हुँदा विधानको विषयमा बहस छलफल गर्न अलग–अलग महाधिवेशन गर्ने निर्णय लिएर पहिलो पटक विधान महाधिवेशन गर्न लागेका हौँ।

महाधिवेशनमा प्रस्तुत गर्ने राजनीति प्रतिवेदन अध्यक्षले प्रस्तुत गर्नुहुनेछ। सङ्गठनात्मक प्रतिवेदन महासचिव र विधानसँग सम्बन्धित संशोधन प्रस्तावहरू सङ्गठन विभाग प्रमुखले प्रस्ताव गर्नुहुने छ। विधान महाधिवेशनमा यी तीन ओटा विषयमा छलफल गरेर निर्णय लिनेछौँ।

राजनीति प्रतिवेदनमा अहिलेसम्मका घटनाक्रमका संक्षिप्त समीक्षाहरू छन्। गत चुनावमा पार्टीले पाएको सफलताको विषयमा चर्चा गरिएको छ। हामीले सरकार चलायौँ। सरकारमा हुँदाका राम्रा काम र कमजोरीका विषयमा चर्चा गरिएको छ। फेरि किन सरकार टिकेन छाड्नु पर्‍याे, त्यो विषयमा पनि चर्चा भएको छ। दुई–दुई पटक प्रतिनिधिसभाको विगठन किन भयो ? भन्ने विषयलगायतमा चर्चा भएको छ।

योगेश भट्टराई, सचिव, नेकपा एमाले

पार्टीले लिने कार्यदिशा अब के हो भन्ने बारेमा बढी केन्द्रित रहेर छलफल हुने छ। जसमा २००७ सालको क्रान्ति हुँदै यहाँसम्म आउँदा ठूलो फड्को मार्दै परिवर्तन भैसकेको छ। पुष्पलालले पार्टी स्थापना गर्दा नौलो जनवाद र जनवादी क्रान्ति भन्नुभयो। अहिले ७० बर्षपछिसम्म आउँदा नेपालमा सामाजिक र राजनीति परिवर्तन धेरै भएको छ। अव पुष्पलालले भन्नुभएको नयाँ जनवादी क्रान्ति सम्पन्न गरेका छौँ। पछि तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद भन्नुभयो। सारमा कतिपय कुराहरू उस्तै थिए। पछिल्लो समय मदन भण्डारीले भनेका कुराहरू पनि पूरा गरेका छौँ।

अब अगाडी कसरी जाने त भन्दा गणतन्त्रदेखि संविधान निर्माणसम्म आइपुग्दा जनवादी क्रान्ति पूरा गरेका छौँ। शान्तिपूर्ण क्रान्ति गरेका छौँ। अब हामी समाजवादी दिशामा पार्टी अगाडी बढ्नुपर्छ भन्नेमा छौँ। संविधानको प्रस्तावनामै समाजवाद उन्मुख भनेर लेखिएको छ। अब हामीले प्राप्त राजनीतिक उपलव्धिलाई बलियो नेपाली समाजका सामाजिक आर्थिक विभेदलाई हटाउँदै समाजवादको आधार बनाउँदै जाने विषय राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

कस्को र कस्तो पार्टी बनाउने निरूपण गर्ने विधान महाधिवेशन– ठाकुर गैरे, केन्द्रीय सदस्य, नेकपा एमाले

नेपालको कम्युनिस्ट इतिहासमै पहिलो घटना हो। विधान महाधिवेशन पहिलो घटना हो। र यति धेरै प्रतिनिधिको सहभागितामा अर्को ठूलो घटना हो। हामीले पार्टीको सार्वभौमसत्ता पार्टीमा सङ्गठित सदस्यमा निहित हुनेछ भनेका छौँ। विचार महाधिवेशनमा ५ हजार बढी प्रतिनिधि आउनेछन्। ३ ओटा दस्ताबेजमा छलफल हुनेछ। अबको हाम्रो राजनीतिक प्रतिवेदन, राजनीति उद्देश्य, समाजको विश्लेषणसहितको राजनीतिक प्रतिवेदनमा छलफल गछौं। दोस्रोमा सङ्गठनात्मक प्रस्ताव हुनेछ। त्यो भनेको हामीले कस्तो सङ्गठन बनाउने हो ?

सङ्गठन सञ्चालनको प्रणाली के हुन्छ ? यसका विधि प्रक्रियाहरू के हुन्छन् ? भन्ने कुरालाई नेतृत्व गर्ने हिसाबले प्रस्तावका बारेमा छलफल गछौं। र तेस्रो विषय भने विधानका विषयमा छलफल गर्छौ। विगतदेखि बहस भइरहेको विषयमा छलफल गर्नुपर्ने छ। सर्वोच्च निकाय भनेको महाधिवेशन हो। केन्द्रीय कमिटी हुन्छ।

ठाकुर गैरे, केन्द्रीय सदस्य, नेकपा एमाले

अनि त्यसको मातहतमा अरू कमिटी हुन्छ। जसलाई लेनिनवादी संगठानात्मक पद्दति पनि भन्दै आइरहेकाछौँ। त्यससँगै हामीले पार्टीको आन्तरिक जीवन लोकतान्त्रिक बनाउने कुरा पनि गरिरहेका छौँ। यसैलाई समेटिने हिसाबले सङ्गठनात्मक प्रस्तावमा आधारित भएर हामीले विधानको बारेमा निरूपण गर्दैछौं। महाधिवेशनमा पार्टी संरचना कस्तो बनाउने ? के नीति लिने ? भन्ने कुरा तय गर्नेछ।

सरकार हाम्रो लक्ष्य भनेको जनतालाई कसरी सुखी र खुसी बनाउने ? कसरी स्वाधीन र समृद्ध मुलुक बनाउने भन्ने नै हो। जनतालाई त्यो बनाउन सक्ने सामर्थवान पार्टी एमालेलाई बनाउने पहलस्वरुप यो अभियान हो। नेकपा एमालेलाई कस्तो पार्टी बनाउने र कसको पार्टी बनाउने विवादको निरूपण यो महाधिवेशनले गर्ने छ।

हामीले भन्दै आएका छौँ माक्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर हामी भन्दै आएका छौँ। र मान्दै आएका पनि छौ। अब वैज्ञानिक समाजवादलाई लक्ष्य भनेका छौँ। त्यो लक्ष्य तयारी गर्ने प्रक्रियामा हामी छौं। र त्यो प्रक्रियामा नेपाली समाज पुँजीवादको रुपमा विकास भएको छ।

त्यो पुँजीवादी समाजमा दलाल पुँजी र राष्ट्रिय पुँजीको बिचमा द्धन्द हुन्छ। हामीले समाजवादीको तयारी कसरी गर्छौँभने दलाल पुँजी र राष्ट्रिय पुँजीको जुन द्धन्द छ। दलाल पुँजीलाई निरुत्साहित गर्ने, विस्थापित गर्ने र राष्ट्रिय पुँजीको विकास गर्ने बाटोबाट समाजवादको तयारी गर्छौ। अनुत्पादक पुँजीलाई निरुत्साहित गर्ने र रोजगारी सृजना गर्ने पुँजीको विकास गर्ने जसले राष्ट्रिय पुँजीको विकास हुन्छ। जसले देशको रोजगारी बढ्छ। परनिर्भरताको अन्त्य हुन्छ। समाजवादको आधार बनाउँदै जानुपर्छ।

कसरी बढे महाधिवेशन प्रतिनिधि

विधान अधिवेशन ३ दिन चल्नेछ। विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट ५ जना सहभागी हुनेछन्।

प्रत्येक जनसङ्गठनका पदाधिकारी र वरिष्ठ सदस्य मध्येबाट १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रबाट अनिवार्य १ जना महिला, प्रत्येक जिल्लाबाट १ जना दलित, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र एकतामा सामेल भएका व्यक्तिहरू सहभागी हुने छन्। माओवादी केन्द्रतर्फबाट समेत एमालेमा आएका प्रतिनिधि थपिएकाले महाधिवेशन प्रतिनिधि बढेको एमालेका नेताहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved