छानबिन पूरा नभई उडाइयो बुद्ध एयरको जहाज

क्याप्टेन आङ्गेलुलाई छानबिन अवधिभर निलम्बन

छानबिन पूरा नभई उडाइयो बुद्ध एयरको जहाज

काठमाडौं। ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुल्दा दुई घण्टा आकाशमै होल्ड भएको विमान बुद्ध एयरले भोलिपल्टैबाट उडाएको छ। नागरिक उड्डयन नियमावली २०५४ अन्तर्गत वायुयानको मर्मत तथा संभार सम्बन्धी व्यवस्थामा कुनै घटनापश्चात् मर्मत, संभार नगरी वायुयानको उडान तथा सञ्चालन गर्न नहुने उल्लेख छ।

यस्तै नियमावलीको परिच्छेद पाँचमा भनिएको छ ‘‘वायुयानको इन्जिन तथा अन्य पार्टपुर्जाहरूको प्राधिकरणले तोकेको अवधिभित्र मर्मत तथा संभार नगरी त्यस्तो वायुयान उडान तथा सञ्चालन गर्न पाइँदैन।’’
नागरिक उड्डयन नियमावली २०५४
तर बुद्ध एयरले घटनाको भोलिपल्ट मंगलबारबाटै कलसाइन ७०१ को जहाज उडाउन थालेको छ। यो उडानलाई कतिपय हवाई विज्ञले भने नियमावलीविपरित भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर छानबिन प्रक्रिया पूरा गर्नुपर्नेमा प्राधिकरणले प्राविधिक समस्या देखिएको जहाजलाई २४ घण्टाभित्रै उडाउन अनुमति दियो।
परीक्षणपछि महानिर्देशकको अनुमतिमा जहाज उडान गर्न मिल्ने व्यवस्था  छ। तर महानिर्देशक राजकुमार श्रेत्रीले भने परीक्षणबिनै उडान अनुमति दिएका हुन्।
यता महानिर्देशक क्षेत्री भने विमानमा कुनै समस्या नदेखिएपछि उडान अनुमति दिइएको बताउँछन्। ‘‘घटना भएकै दिन विमान ग्राउन्डेडपछि राति ८ बजेसम्म प्राधिकरणका इन्जिनियरले विमान परीक्षण गरेका थिए। केही समस्या नदेखिएपछि उड्न अनुमति दिइएको हो,’’  उनले बताए।
बुद्धको जहाज सही अवस्थामै रहेको दाबी उनको छ। तर परीक्षणको  छानबिन प्रतिवेदन भने अझैं आएको छैन।
सोमबार ८ः३० मा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटीआर विमान चक्का नखुलेर पुन काठमाडौँमा आएर अवतरण गरेको थियो। जहाज उडेको झन्डै दुई घण्टापछि जहाज त्रिभुवन विमानस्थलमा अवतरण गराइएको थियो।
क्याप्टेनलाई विमान चलाउन रोक

उक्त विमान उडाउने क्याप्टेन आङ्गेलु शेर्पालाई भने विमान चलाउन रोक लगाइएको छ। ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुल्दा झण्डै दुई घण्टापछि काठमाडौँमै अवतरण गरिएको घटनापछि शेर्पालाई विमान चलाउन रोक लगाइएको हो। प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर चर्चा र प्रशंसा कमाइरहेका शेर्पालाई छानबिन प्रक्रिया पूरा नहुँदासम्म ग्राउन्डेड गरिएको बुद्ध एयरलाइन्सका एक उच्च अधिकारीले बताए।

नागरिक उड्डयन नियमावली २०५४ मा छानबिन पूरा नहोउन्जेल पाइलटलाई निलम्बन गर्ने व्यवस्था छ।

सोही नियमावलीको व्यवस्थाअनुसार क्याप्टेन शेर्पालाई निलम्बन गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ। कम्पनीले उक्त घटनाका सम्बन्धमा क्यान र कम्पनीले समेत छानबिन गरिरहेकाले पाइलटलाई नियमअनुसार ग्राउन्डेड गरिएको जनाएको छ।

बुद्धका एक उच्च पदका कर्मचारीले नेपाल भ्यूजसँग भने ‘‘जहाज उडाएको घटनामा छानबिन भइरहेको छ। यदि छानबिनमा क्याप्टेनकै कमजोरी वा केही गल्ती भएको रहेछ उसलाई बर्खास्त वा केही वर्ष निलम्बन वा लाइसेन्स खारेजी समेत हुनसक्छ। यस कारण प्राधिकरणले छानबिन गरेर निर्णय नदिँदासम्म क्याप्टेनले जहाज चलाउन पाउँदैनन्।’’

घटनाको छानबिनको लागि बुद्धले आन्तरिक छानबिन समिति बनाएको छ। उता नियामक प्राधिकरणले पनि छानबिन गरिरहेको छ। बुद्धले ककपिट भ्वाईस रेकर्ड र फ्लाइट टाडा रेकर्ड प्राधिकरणलाई दिएको छ।

‘‘क्याप्टेन र कोपाइलटको कुराकानी र उनीहरुले टावर गरेको कुराकानी रेकर्ड हेर्दैछौँ। उडान अवधिभर जहाजको अवस्था के थियो, गियर डाउन थियो वा थिएन, कहिले कसरी खुल्यो अध्ययन गरिहेका छौँ। केही समस्या भएमा निर्माता कम्पनीसँग समेत जानकारी लिन्छौँ,’’ प्राधिकरणका ती अधिकारीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved