भदौमा मात्र १९ जना सडक बालबालिकाको उद्धार

नेपालभ्युज

भदौमा मात्र १९ जना सडक बालबालिकाको उद्धार

काठमाडौं। भदौ महिनामा सरकारले १९ जना सडक बालबालिकालाई उद्धार गरेको छ। तीमध्ये १५ जना बालक र ४ जना बालिका छन्।

उद्धार गरिएका ती सबैलाई संस्थागत संरक्षणमा राखिएको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ। गत वर्ष उद्धार गरिएका ५ जना बालकलाई गत भदौमा परिवारसँग पुनर्मिलन गराइएको परिषद्ले जनाएको छ।

राष्ट्रिय बालअधिकार परिषद्का अनुसार कोरोना महामारीपछि सडक बालबालिकाको संख्या झनै बढेर जाने देखिएको छ।

लकडाउनका कारण धेरै व्यक्तिहरू बेरोजगार भएकाले बालबालिकामा सडकमा आएका बालबालिका खोजतलास केन्द्रका कार्यक्रम अधिकृत सन्तोष अधिकारीले बताए। उनका अनुसार कोरोनाकालमा विद्यालय सञ्चालन नहुनु, पढाइ छाड्नु नै बालबालिका सडकमा आउनुको प्रमुख कारण हो। जसले गर्दा यस्ता बालबालिकाहरू जोखिममा परेका अधिकारी बताउँछन्। भन्छन्, “लकडाउनको समयमा पनि केन्द्रले प्रहरीको समन्वयमा सडक बालबालिकालाई उद्धार गरेको छ।”

यसरी उद्धार गरिएका बालबालिकाको स्वास्थ्य, उमेर, पारिवारिक लेखाजोखा हेरेर प्रारम्भिक फारम भरेपछि समन्वय भएका संस्थामा र सुधार केन्द्रमा पठाउने गरिएको उनले जनाए। “लामो समयदेखि सडकमा जीवन बिताइरहेका नशालु पदार्थ सेवन गर्ने बालबालिकालाई भने सुधार केन्द्रमा पठाउछौं,” उनले थपे।

सडकमा भेटिएका उनीहरूलाई सामान्यतया तीनदेखि छ महिनासम्म संस्थामा राख्ने त्यसपछि सम्भव भएसम्म परिवारको अवस्था हेरेर अभिभावकसँग पुनर्मिलन गराइने गरिएको अधिकारीको भनाइ छ। अधिकारीले भने, “परिवार नभएका १४ देखि १८ वर्ष उमेर समूहकालाई भने सीपमूलक तालिम दिइने गरिएको छ।”

२७ वैशाख २०७३ बाट काठमाडौंमा सडक बालबालिका उद्धार कार्य शुरु भएको थियो। राष्ट्रिय बालबालिका अधिकार परिषद् र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा बालबालिका खोज तलास केन्द्र (१०४) ले फोकल पर्सनको रूपमा काम गर्दै आएको छ।

काठमाडौं उपत्यकाबाट शुरु उद्धार कार्य सातवटै प्रदेशमा विस्तार गरिएको अधिकारी बताउँछन्। उपत्यका बाहिरका सडक बालबालिकालाई सुधार केन्द्रमा पठाउन नपर्ने भए जिल्लागत रूपमा बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थासँग सम्झौता गरी राखिने उनले जानकारी दिए। सुधार केन्द्रमा राख्नुपर्ने बालबालिकालाई भने काठमाडौंमा ल्याउने गरिएको उनले बताए।

उद्धार गरिएका बालबालिका बर्सेनि बढ्दैछन् 

आर्थिक वर्ष ०७६/७७ मा ४ सय ६५ बालबालिकाको सडकबाट उद्धार भएको थियो। ०७५/०७६ मा १ सय ३८ र ०७४/०७५ मा १ सय ८० जनालाई केन्द्रले उद्धार गरेको परिषद्को तथ्यांकमा उल्लेख छ।

यो कार्यक्रम शुरु भएदेखि ०७७ असारसम्म एक हजार ४ सय ३३ जना उद्धार गरिएको परिषदले जनाएको छ। तीमध्ये एक हजार २ सय ३५ बालक र १ सय ९८ जना बालिका छन्।

परिषदको तथ्यांक अनुसार उद्धार गरिएका बालबालिकामध्ये दुई ५०२ जना साक्षर अर्थात् विद्यालय गएको पाइएको छ। यो संख्या उद्धार गरिएका बालबालिकाको ८७% प्रतिशत हो।

त्यस्तै ९७५ जना बालबालिकाको अर्थात् ६८ प्रतिशत सडक बालबालिकाको बाबुआमा जीवित रहेका र १७२ जनाको अर्थात् १२ प्रतिशतको आमाबुबाको मृत्यु भइसकेको तथ्यांक छ।

को हुन् सडक बालबालिका ?

सडकमा पैसा माग्ने सबै बालबालिका सडक बालबालिका हुँदैनन्। कुनै परिवारको दैनिकी नै मागेर चल्ने गर्छ। त्यसअनुसार केही बालबालिका सडकमा पैसा माग्न बसेका हुन्छन्।

लामो समयदेखि सडकमा बसेका परिवारबाट परित्याग भएर पूर्ण रूपमा सडकमा नै जीवन बिताउने बालबालिकालाई मात्र सडक बालबालिका भनिन्छ। बालबालिका परिवारविहीन हुँदा सडकमा आइपुगेका हुन्छन् भने कोही पारिवारिक कलह, बाबुआमा वा अन्य संरक्षकको अभाव, बहकावमा लागेर शहरीकरण प्रभाव, घरमालिकको शोषण, नयाँ कामको खोजी, र घरपरिवार वा समाजका अन्य सदस्यहरूबाट बारम्बार दुर्व्यवहार भोगेर सडक जीवन बिताउन आइपुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved