मोहनामा बढे डल्फिन

कर्णालीको मोहना र यसका सहायक नदी प्रणालीमा देखिएको डल्फिन (सोंस)को संख्या वृद्धिले सरकार र अन्य सरोकारवालालाई बासस्थान सुरक्षित गर्न दबाब दिएको छ।

मोहनामा बढे डल्फिन

काठमाडौं। दुर्लभ स्तनधारी जन्तु डल्फिनको संख्या सुधार्न विचरण क्षेत्र सुरक्षित गर्दै यसका आहराको संख्या वृद्धि गर्नुपर्ने देखिएको छ। बासस्थान पहिचान भएका क्षेत्रमा मानवीय चहलपहल घट्दा संख्या वृद्धि हुने बलियो आधार भेटिएको छ।

कर्णालीको मोहना र यसका सहायक नदी प्रणालीमा देखिएको डल्फिन (सोंस)को संख्या वृद्धिले सरकार र अन्य सरोकारवालालाई बासस्थान सुरक्षित गर्न दबाब दिएको छ। भदौ दोस्रो साताको गणनामा ६८ वटा ‘ग्याङ्गेटिक रिभर डल्फिन’ भेटिएका छन्।

कर्णाली र मोहनाका सहायक नदीहरू काँडा, कान्द्रा, पथरिया र आसपासका विभिन्न १३ वटा घाटको अवलोकन गर्दा यस्तो नतिजा पाइएको हो। कैलालीमा यो संख्या हालसम्मै बढी भएको दाबी गरिएको छ।

प्राणीशास्त्री प्राडा मुकेश चालिसेको प्राविधिक मार्गदर्शन र स्थानीय डल्फिन जलचर तथा जैविक विविधता संरक्षण (बीएबीसी) नेपाल नामक संस्थाले डल्फिनको अनुगमन गरेको हो। यसअघि २०७३ मा १६ घाटमा ६३ वटा र २०७५ मा ३७ वटा घाटको अनुगमन गर्दा ४८ वटा वटा डल्फिन अभिलेख भएका थिए।

विषादी हालेर जथाभावी माछा मार्ने, डुंगा चलाउने, जलप्रदूषण घटाउने क्रियाकलाप रोकथाम भए यो दुर्लभ जन्तुको संख्या बढाउन सकिने प्राडा चालिसेले नेपालभ्यूजलाई बताए।

“डल्फिनलाई मानवीय चहलपहलमुक्त मध्यमखालको स्वच्छ जलप्रवाह चाहिन्छ, विचरण गर्न ठाउँ-ठाउँमा घोल (प्राकृतिक दह) भयो भने डल्फिन लगायतका जलस्तनधारी प्राणीको उपस्थिती नेपालका नदी र जलाधार क्षेत्रमा पाउन सकिन्छ”, उनले भने।

चालिसेका अुनसार डल्फिनका लागि कम्तिमा दुई मिटर गहिराईको जलसतह चाहिन्छ। हिउँदयाममा सतह घट्दा नेपाली भू-भागमा देखिने डल्फिन भारतको गंगा नदीतर्फ जान्छन्। बीएबीसी नेपालको अगुवाईमा मोहनाका लगायतका नदी र घाटमा डल्फिन जस्ता दुर्लभ जलचर संरक्षणबारेको सचेतना कार्यक्रम चल्न थालेका छन्।

अन्यत्रको तुलनामा मोहना र पथरिया दोभान, पथरिया कोडा दोभान र पथरिया र गैरीनाला दोभानमा दैनिकजसो यो दुर्लभ जन्तु देखिने गरेको बीएबीसी नेपालका पदाधिकारी बताउँछन्।

सचेतना कार्यक्रमले दुर्लभ जन्तुको संख्या सुधार्न सहयोग गरेको सो संस्थाका अध्यक्ष भोजराज ढुंगानाको दाबी छ।

“विगतमा जिल्ला विकास समितिले मोहना लगायतका नदीमा माछा मार्न ठेक्का दिन्थ्यो, त्यस्ता गतिविधि अहिले रोकिएका छन्, नदी किनारामा फोहोर फाल्ने घटना रोकिएका छन्”, उनले भने, “त्यसैले अहिले संख्या बढेको हाम्रो ठहर छ।”

मोहना नदीको पथरिया दोभानस्थित ढुंगाना टोलमा भेटिएको डल्फिन। तस्वीर सौजन्यः बीएबीसी नेपाल।

यसपटकको गणनामा भेटिएका ६८ मध्ये करिब २० वटा बच्चा भएको अनुमान गरिएको ढुंगानाले बताए। हिउँदमा समेत चहलपहल देखिन जलचरको सहज आवागमन हुने प्रकृतिका प्राकृतिक दह निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ।

डल्फिन गणनाका क्रममा पानी ओतसमेत भेटिएको ढुंगानाले जानकारी दिए। कर्णालीका सहायक नदीमा डल्फिन लगायतका स्तनधारी जन्तु भेटिन थालेपछि टीकापुर नगरपालिका र भजनी नगरपालिकाले संरक्षणमा सचेतना कार्यक्रमसँगै पर्या-पर्यटनका गतिविधि बढाउन चासो दिएका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ले डल्फिनसहित विभिन्न २७ स्तनधारी जन्तु संरक्षित सूचीमा सूचिकृत छन् । वर्षायाममा कर्णाली, मोहना, सप्तकोशी र नारायणी नदीमा डल्फिनको चहल-पहल पाइएको छ। बाक्लो संख्या भने कैलालीमा भेटिने गरेको छ।

बढ्दो मानवीय गतिविधि र नदी प्रदूषणले दुई दशकयता नारायणीमा यो जन्तुको उपस्थिति घट्दै गएको छ। पाँच वर्षअघि वर्ष अघिको राष्ट्रिय गणनामा सप्तकोशीमा एक दर्जन र नारायणीमा दुई वटा डल्फिन भेटिएका थिए। नारायणीको भेलौजी आसपासको भेगमा हरेक वर्ष एक/दुई वटा डल्फिन देखिने गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

‘ग्याङ्गेटिक डल्फिन’ नेपाल, भारत र बंगलादेशमा मात्रै अभिलेख छ। सीमित मुलुकमा मात्रै उपस्थिती पाइएको यसको अध्ययन÷अनुसन्धानका लागि एक अर्को मुलुकबीच हातेमालो भने छैन। यसपटक कैलालीको अनुगमनमा भारतीय अधिकारीलाई औपचारिक खबर गएन।

बंगलादेशका अधिकारी भने सञ्चार माध्यममार्फत खबर थाहा पाएपछि कैलाली आएका अध्यक्ष ढुंगानाले बताए। बंगलादेशको वन मन्त्रालय र वन विभागका अधिकारी आएर फर्किएका उनले जानकारी दिए।

‘ग्याङ्गेटिक डल्फिन’लाई सरकारले संरक्षित सूचीमा राख्दैमा मात्रै अध्ययन अनुसन्धान फराकिलो नहुने प्राडा चालिसेको तर्क छ। निजी क्षेत्रले डल्फिनको वस्तुस्थिति बुझ्दै गर्दा एउटै जलप्रणालीमा भेटिएका ओत लगायतका जन्तुबारे अनुसन्धान गरिनुपर्ने उनले जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved