कांग्रेस पालिका अधिवेशन

रुपन्देहीमा देउवाको वर्चश्व, पाँच वटा पालिकामा निर्विरोध

नेपालभ्युज

रुपन्देहीमा देउवाको वर्चश्व, पाँच वटा पालिकामा निर्विरोध

बुटवल। नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन अन्तर्गत रुपन्देहीका अधिकांश पालिकामा शेरबहादुर देउवा पक्ष विजयी भएका छन्। बुटवल उपमहानगर र देवदह नगरमाबाहेक अन्य नगरपालिकामा सबै देउवा पक्षबाट सभापति चयन भएका हुन्।

बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन्। पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन्। पाण्डेय पार्टीका सभापति शेरबहादुर देउवा पक्षका हुन्।

वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रीता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन्। उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मतसहित विजयी भए। केसी प्यानलका नर बहादुर रजालीले २३८ र हरिलाल सुनार १०२ मत पाए।

सचिवमा पाण्डेय प्यानलकै गंगा पन्थीले ३०७ मत र छाया पोखरेलले २ सय ९४ मत पाएर विजयी भए। केसी प्यानलका जय प्रकाश भट्टराईले २३९ र सन्तोष पौडेल १४८ मत पाए। दुई जना सहसचिवमध्ये पाण्डेय प्यानलका देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मतसहित विजयी भए।

त्यस्तै तिलोत्तमा नगरपालिकामा देउवा पक्षका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन्। १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्दै कडा टक्कर दिए।

पाण्डे वर्तमान नगर सभापति हुन् भने न्यौपाने तिलोत्तमा ९ का वडाध्यक्ष हुन्। अन्य सबै पदाधिकारी भने पाण्डे प्यानलकै विजयी भए। तिलोत्तमामा सभापतिका अर्का उम्मेदवार हरि तिवारीले ३० मत प्राप्त गरे।

यता सिद्धार्थनगरमा देउवा पक्षकै कोशिस खड्का विजयी भएका छन्। उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका छन्। देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन्। उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन्। उनीसहित उनको सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो।

सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन्। उनले १२६ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाए। खनाल रुपन्देही ५ का संघीय सांसद भरत शाहनिकट हुन् भने पोखरेल बालकृष्ण खाँणनिकट हुन्।

शनिबार भएको निर्वाचनमा जिल्लाका ६ वटा नगरपालिकामध्ये सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैना नगरपालिकामा देउवा पक्षबाट नगर सभापति निर्वाचित भएका छन्। बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट विजयी भएका छन्।

पाँच पालिकामा निर्विरोध

रुपन्देहीका १६ मध्ये पाँच स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ। जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो।

गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै पदाधिकारी र कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका घिमिरेले जानकारी दिए।

जिल्लाका बुटवल उपमहानगरपालिका तथा सिद्धार्थनगर, तिलोत्तमा र देवदहमा देउवा र पौडेल समूह अलग-अलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धाका लागि उत्रिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved