प्रिमियर लिगमा गएराति भएका खेलमा साविक विजेता म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग विजेता चेल्सीलाई उसकै मैदानमा हराउन सफल भएको छ। चेल्सीले सिटीसँग १-० को हार बेहोरेको हो।
गोलरहित बराबरीमा पहिलो हाफ सकिएको थियो। पहिलो हाफमा गोल नभए पनि सिटी एकपक्षीय रूपमा चेल्सीमाथि खेल अवधिभर हाबी देखिएको थियो। खेलको ५३ मिनेटमा ग्याब्रिएल जिससले सिटीको निर्णायक गोल गरे।
दुवै हाफमा एक पटक पनि गोल टार्गेट गर्न नसकेको चेल्लसीसँग सिटीले अघिल्लो सिजनको तीनै खेलको हारको बदलासमेत लिएको छ। अघिल्लो सिजनमा सिटी लिगको दुवै पटक चेल्सीसँग पराजित भएको थियो भने च्याम्पियन्स लिगमा फाइनलमा चेल्सीसँग स्तब्ध भएको थियो।
जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ भने समान ६ खेलबाट चेल्सी भने तेस्रोमा झरेको छ।
त्यसैगरी गएराति भएको अर्को खेलमा घरेलु मैदानमा म्यानचेस्ट युनाइटेड पराजित भएको छ। बराबरीतर्फ धकेलिएको खेलको अन्तिम दुई मिनेट बाँकी छँदा युनाइडेटल गोल खान पुगेको हो। एस्टन भिल्लालाई म्यानचेस्टर युनाइटेडविरुद्ध जित दिलाउन कोर्टनी हाउसले गोल गरे।
जितपछि भिल्ला आठौं स्थानमा उक्लिएको छ। उसले लिगमा ६ खेलबाट १० अंक जोडेको छ। उता युनाइटेड भने चौथो स्थानमा झरेको छ।
त्यस्तै राति नै भएको अर्को खेलमा नवप्रवेशी ब्रेन्टफोर्डसँग लिभरपुल बराबरीमा रोकिएको छ। ३-३ को बराबरी बनेको खेलमा दुवै टिमले पालैपालो गोल गरेका थिए। पूरा समय बल नियन्त्रणमा लिए पनि लिभरपुलले जित निकाल्न सकेन। बराबरीपछि पनि ऊ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
त्यस्तै राति एभर्टनले नर्विच सिटीलाई २-० ले पराजित गर्दा लेस्टर सिटी बर्नलीसँग २-२ मा रोकियो।