भक्तपुर नगरपालिकाले विद्यालय सञ्चालनबारे परामर्श चलायो

नेपालभ्युज

भक्तपुर नगरपालिकाले विद्यालय सञ्चालनबारे परामर्श चलायो

भक्तपुर। भक्तपुर नगरपालिकाले कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने विषयमा शिक्षाविद् तथा स्वास्थ्यविद्हरूबीच मंगलबार छलफल तथा परामर्श चलाएको छ।

नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सुरक्षित र व्यवस्थित ढंगले विद्यालय सञ्चालन गर्ने विषयमा छलफल तथा परामर्श कार्यक्रम गरेको जानकारी दिइन्।

छलफलमा उपप्रमुख जोशीले विद्यालय सञ्चालन गर्न सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गरी रचनात्मक सुझावहरू प्राप्त भएको बताइन्। प्राप्त सुझावअनुरूप सुरक्षित ढंगले स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताइन्।

कोभिड-१९ बाट विद्यार्थीहरूलाई कसरी सुरक्षित गर्ने विषयमा आफूहरू संवेदनशील भएको उनले बताइन्। विद्यालय, अभिभावक र विद्यार्थीहरूले विद्यालय सञ्चालन गर्नुपर्ने मागहरू राख्ने गरेका उनले त्यसक्रममा बताइन्।

भक्तपुर नगरपालिका-७ का वडाध्यक्ष उकेश कवांले छलफलबाट सकारात्मक सुझावहरू प्राप्त भएको बताउँदै कोभिड संक्रमण घट्दो क्रममा रहेकाले विद्यालय सञ्चालन गर्ने विषयमा नगरपालिका सकारात्मक रहेको जनाए।

ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले विद्यालयहरूले स्वास्थ्यसम्बन्धी सम्पर्क व्यक्ति तोकेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सकिने बताए।

त्यस्तै, कार्यक्रममा शिक्षासेवीहरू विनोदचरण राय, लक्ष्मीभक्त बासुकला, योगेन्द्रमान बिजुक्छेँ, ज्ञानसागर प्रजापति, सुशिला कर्माचार्य, गीता केसी, बालमुकुन्द बासुकला, अम्बिकामान मानन्धर, सिद्धिरत्न शाक्य, उद्धव सुजखु र गौतमप्रसाद लासिवाले विद्यालय अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, विद्यालयले विद्यार्थी र परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved