फेरियो नेपालको मनसुनी पात्रो

केही दिन ढिलोगरी आउने मनसुन एक हप्ता ढिलोगरी जान थालेपछि मौसम विभागले पात्रो नै परिवर्तन गरेको छ।

फेरियो नेपालको मनसुनी पात्रो

काठमाडौं। क्यालेन्डरबाट भदौले बिदा माग्दैगर्दा आकाश पनि सफा हुने गर्थ्यो। पारिलो घामले हिलाम्मे सडक सुकाउन थाल्थ्यो । धानका बाला पाक्न थालेपछि वातावरणमै दशैंको रौनक छाउँथ्यो । र त कविशिरोमणि लेखनाथ पौडेलले कविता रचेका थिए- ‘हट्यो सारा हिलो मैलो/हरायो पानीको वर्षा/भवानीको भयो पूजा/चल्यो आनन्दको वर्षा ।’

कुनै कुनै वर्ष दशैं छेक पनि पानी पर्थ्यो । त्यो अस्वाभाविक वर्षाले फूलपाती डोर्‍याउने दशैंको सडक हिलाम्मे बनाइदिन्थ्यो । अनि टिप्पणी हुन्थ्यो- यसपाली त हिले दशैं पो भयो ।

अचेल मनसुन जिद्दी भएको छ । आउँदा अलिकति ढिलो गरी आउँछ फर्किन भने लामै समयपछि बिदा माग्छ । असोजको मध्यसम्म पनि बेलाकुबेला पानी दर्किरहेको हुन्छ ।
मौसमविद्हरु भन्छन्, मनसुनको पात्रो परिवर्तन भएको छ । मनसुनको स्वभाव फेरिएको छ ।

मनसुनको स्वभावमा आएको यही परिवर्तन विचार गरेर ‘जल तथा मौसम विज्ञान विभाग’ले मनसुनको पात्रोमा सुधार गरेको छ ।

नयाँ पात्रो अनुसार १३ जून (३०/३१ जेठ )मा आउने मनसुन तीन महीना दुई हप्ताभन्दा बढी बसेर २ अक्टोबर (१५/१६ असोज) मा फर्किन्छ । जबकी यसअघि मनसुन एक हप्ताजसो अगाडि नै फर्किन्थ्यो । १० जून (२७/२८ असोज)मा आउँथ्यो र २३ सेप्टेम्बर (७ असोज) मा फर्किन्थ्यो ।

विगत ३० वर्षको मनसुनी अवस्था विश्लेषण गरेर तय गरेको नयाँ पात्रो यही वर्षदेखि लागु हुने विभागले जनाएको छ।

ढिलो गरी भित्रिने मनसुन ढिलैगरी अन्त्य हुन थालेपछि क्यालेण्डर हेरफेर भएको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए।

“मनसुनको शुरुवात १० जुन आसपासमा हुने भए पनि बहिर्गमन अवधि निकै पछि धकेलिन थालेको छ”, उनले नेपालभ्यूजसँग भने, “क्यालेण्डर हेरफेर गर्न तीन दशकको हावापानीको सुक्ष्म विश्लेषण गरिएको छ।”

विश्व मौसम संगठन (डब्ल्यूएमओ) लाई यसबारे अनौपचारिक गराइएको वैद्यले बताए। विश्वव्यापी प्रचलन र डब्ल्युएमओको मापदण्ड अनुसार नेपालले नयाँ मिति तय गरेको वैद्यले प्रष्ट्याए।

अंग्रेजी महिनाका जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो। बंगालको खाडीको दक्षिण अण्डामान र निकोबार टापु समूहबाट मे अन्तिम साता शुरू हुन्छ। मनसुन बंगालको खाडी, दक्षिण भारतबाट क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेशहुँदै नेपालको पूर्वी भेगबाट भित्रिन्छ।

मनसुन आगमन र बर्हिगमनका आधारमा नेपालमा सक्रिय वर्षाको अवधि औषतमा एक सय १२ दिन हुने विभागको विश्लेषण छ। तर, केही वर्षयता नेपालसहित दक्षिण एसियाली मुलुकमा मनसुन अवधि धकेलिँदै गएको छ। दुई वर्षअघि २० जून (असार ५)मा भित्रिएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी १२ अक्टोबर(असोज २५) मा विदा भएको थियो।

त्यसैगरी गत वर्ष १२ जूनमा सक्रिय भएको मनसुन १५ दिन ढिलो गरी १६ अक्टोबरमा बाहिरिएको थियो। यसपटक ११ जून (जेठ २८)मा मनसुन शुरु भएको विभागले जनाएको छ। अहिलेको मौसमी अवस्था नियाल्दा मनसुन तत्कालै विदा हुने संकेत नरहेको विभागको मौसम पूर्वानुमान महाशाखा प्रमुख डा. अर्चना श्रेष्ठले बताइन्।

बंगालको खाडीबाट भित्रिने जलवाष्पयुक्त हावा अन्य मौसमी प्रभाव केही दिन यथावत रहने उनले जानकारी दिइन्।

“मनसुन बर्हिगमनबारे हामी अर्को साता विश्लेषण गर्न गर्दैछौ, अहिलेसम्मको अवस्था विश्लेषण गर्दा यो वर्ष पनि ढिलै गरी मनुसन विदा हुने प्रारम्भिक संकेत देखिएको छ”, उनले भनिन्।

नेपालको मनसुन २३ सेप्टेम्बर भन्दा हप्ता/दश दिन ढिलो गरी विदा हुन थालेकाले नयाँ क्यालेण्डर तय भएको श्रेष्ठले प्रष्ट्याइन्।

भारतीय मौसम विभागले पनि गत वर्षदेखि विभिन्न ११ प्रान्तका ६३ शहरको क्यालेण्डर हेरफेर गरेको छ। नयाँ क्यालेण्डर अनुसार २७ जून मनसुन भित्रिने दिन हो। यसअघि त्यहाँ २३ जूनलाई मनसुन शुरु हुने मिति मानिएको थियो। भारतमा सबैभन्दा छिटो १ जून आसपासमा केरलामा मनसुन सुरु हुन्छ। केरलाको क्यालेण्डर भने पुरानै कायम गरिएको छ।

मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्रा एक हजार चार सय ९६ दशमलव सात मिलिमिटर र काठमाडौंको वार्षिक औसत वर्षा एक हजार चार सय ५४ दशमलव ८ मिलिमिटर हो।

मौसमी सूचना सम्प्रेषणको अभ्यास शुरु भएपछि नेपालमा सबै भन्दा छोटो मनसुन २०३६ मा भएको थियो। सो वर्ष जम्मा ७३ दिनलाई सक्रिय मनसुन अवधि मानिएको छ।

त्यसैगरी २०६५ मा सबैभन्दा लामो मनसुन (एक सय ३० दिन) अवधि रहेको विभागको तथ्यांक छ।

अघिल्लो क्यालेण्डरबारे विभाग नै अनविज्ञ

डब्ल्युएमओले हरेक १०/१० वर्षको मौसमी अवस्था विश्लेषण गरेर नयाँ क्यालेण्डर तय गर्न सकिने मापदण्ड तय गरेको छ। नेपालले पहिलो पटक पात्रो हेरफेर गरेको हो।
कहिले कुन मितिदेखि अघिल्लो पात्रो लागु भयो भन्ने प्रमाण विभागसँग छैन। १० जूनदेखि २३ सेप्टेम्बरको क्यालेण्डरबारे विभागका अधिकारी अनविज्ञ छन्।

“विगतमा कम्प्युटरराइज्ड सिस्टम नभएकाले हामीले विगतको मिति पत्ता लगाउन सकेका छैनौ, विभाग स्थापना भएदेखि नै जुन १० देखि सेप्टेम्बर २३ को क्यालेण्डर थियो भन्न सकिन्छ”, महानिर्देशक वैद्यले भने।

अन्तर्राष्ट्रिय हवाई उडानको मौसमी सूचना प्रदान गर्ने उद्धेश्यले सन् १९६६ मा तत्कालीन जलस्रोत विभागअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम शाखा स्थापना भएको थियो। जल तथा मौसम विज्ञान विभागसँग सन् १९७२ यताको मात्रै मौसमी तथ्यांक छ।

तत्कालीन जलस्रोत विभागअन्तर्गत सन् १९६६ मा मौसम शाखा स्थापना भएको थियो। सोही वर्ष डब्ल्युएमओको सदस्य बनेपछि नेपालले औपचारिक रुपमा मौसमी सूचना सम्प्रेषणको अभ्यास थालेको विभागका अधिकारी स्मरण गर्छन्।

शुरुवातका दिनमा भारतीय र इजरायलका मौसमविद् झिकाएर नेपालको मौसमी अवस्था विश्लेषण हुने गथ्र्यो। त्यस बेला विदेशीहरूले नियालेको मौसमी चक्रका आधारमा यसअघिको क्यालेण्डर तय भएको हुन सक्ने विभागका सिनियर डिभिजनल मेट्रोलोजिष्ट सुमनकुमार रेग्मीको ठहर छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved