कौडीसरी तक्मा !

मापदण्ड विपरीत आफ्ना कार्यकर्ता र आफन्तलाई वितरण गर्दा पाउनुपर्ने पदक पाउँदा पनि स्विकार्य हुन नसकेको विश्लेषकहरूको टिप्पणी छ।

कौडीसरी तक्मा !

काठमाडौँ। काठमाडौं निवासी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले नेकपा (एकीकृत समाजवादी दल)को प्रशंसा गर्दै आएका छन्। उनलाई संविधान दिवसको अवसरमा सरकारबाट तक्मा प्राप्त भएको छ।

नेपाल राष्ट्र बैंकमा कार्यरत उपेन्द्रप्रसाद पौडेल पत्रपत्रिकामा लेख रचना लेखिरहन्छन्। जसमा उनले वर्तमान सरकारका राम्रा पक्ष समेटेर गुणगान गाइरहन्छन्। उनले पनि संविधान दिवसकै दिन विभूषण प्राप्त गरे।

पदक पाउने अधिवक्ता, सामाजिक अभियन्ता, बैंकर, सहकारीकर्मी, शिक्षासेवीलगायत अधिकांश सत्तारुढ दलसँग आबद्ध पेसाकर्मी संगठनमा आबद्ध छन्। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पत्रकार संगठनका विश्वमणि सुवेदीले त फेसबुकमा लेखेका नै छन्– ‘प्रेस संगठनसम्बद्ध केही सहयोद्धाहरू पनि पर्नुभएको छ। उहाँहरूसहित सम्पूर्ण विभूषित महानुभावलाई बधाई।’

सुवेदीको फेसबुक स्टाटसले सरकारबाट तक्मा पाउनेहरू कुनै न कुनै हिसाबले राजनीतिक संगठनसँग आबद्ध भएको देखाउँछ। तक्मा प्राप्त गर्ने पत्रकारहरूको सूचीमात्रै हेर्ने हो भने पनि धेरैजसो त खुलेरै पार्टी पक्षधरता देखाउने पत्रकारहरू छन्।

विभूषण सिफारिस कार्यविधिलाइ लत्र्याउँदै सरकारले सरकारको चाकडी गरेका र भक्तिगान गाउनेलाई विभूषण गरेकैले दिएको भन्दै मानपदवी, अलंकार र पदक विवादमा परेको छ। सिफारिस समितिका सदस्य, उनीहरूका आफन्त, प्रधानमन्त्री तथा मन्त्रीनिकटलाई, तथा सत्तारुढ दल निकटका र कार्यकर्तालाई विभिन्न मानपदवी, अलंकार पदक सिफारिस भएपछि त्यसको विरोध भएको हो।

३ असोजको गोरखापत्रमा प्रकाशित सूचना अनुसार सरकारले आठ सय ९५ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकले विभूषित गर्ने घोषणा गरेको छ। विभूषणका लागि सिफारिस गरिएकामध्ये झन्डै ५० प्रतिशत दलका नेता, कार्यकर्ता दल निकटका कर्मचारी, व्यापारी, पत्रकारलगायतका पेशाकर्मी छन्। बाँकी सुरक्षाकर्मी सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र निजामती प्रशासनका छन्।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका पिता, शेरबहादुर देउवाका कानून व्यवसायीलेसम्म तक्मा पाएका छन्।

पूर्ववर्ती केपी शर्मा ओली सरकार छँदा सरकारका विभिन्न निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने र संसद विघटनविरुद्ध मुद्दामा बहस गर्ने कानुन व्यवसायी समेत तक्मा पाउनेको सूचीमा छन्।

मानपदवी, अलंकार र पदक प्राप्त गर्नेहरू विभूषण सिफारिस समितिमा रहेका व्यक्तिका आफन्त तथा निकट व्यक्ति पनि छन्। समितिमा रहेका मुख्य र गृहसचिव समेत हुन्छन्। उनीहरूले अघिल्लै साल आफैले सिफारिस गरेर लिइसकेका छन्।

विभूषण सिफारिस कार्यविधि २०७५ मा ‘मानपदवी, अलंकार र पदकलाई बढी ओजपूर्ण बनाउन राष्ट्रिय जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मकलगायत राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रमा काम गरेकालाई प्रदान गरिने’ उल्लेख छ। सोही सम्बन्धी मापदण्ड र प्रक्रियामा रहेर पदक सिफारिस गरिने भनिएको छ।

तर मापदण्ड मिचेर सरकारले राष्ट्रिय जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मकलगायत क्षेत्रमा काम गरेकालाईभन्दा गुन लगाउने र गुणगान गाउनेलाई पदक सिफारिस गरेको देखिन्छ। मुलुकमा राजनीतिक परिवर्तन भए पनि मानपदवी दिने प्रणालीमा परिवर्तन आउन नसकेको जानकारहरू बताउँछन्।

संस्कृतिविद् डा. जगमान गुरुङ भन्छन्, “राष्ट्रलाई योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने भनेर कार्यविधि बनेको छ, त्यसको मापदण्डको आधारमा मानपदवी दिनुपर्ने हो। तर त्यसको विपरीत आफ्ना कार्यकर्तालाई बाँड्न थालेपछि साँच्चै सम्मान गर्न लायकहरूले पाएपनि उहाँहरूको अपमान भयो।”

मानपदवी दिने मापदण्ड मिचेर बाँडिएको भन्दै विरोध भएपछि केहीले आफूलाई दिइएको पदक नलिने घोषणा गरेका छन्। छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गाना, पत्रकारहरू हरिबहादुर थापा, कृष्णज्वाला देवकोटा, नारायण अमृत, रवीन सायमीलगायतले सरकारले आफूलाई दिने घोषणा गरेको मानपदवी नलिने सामाजिक सञ्जालमार्फत बताएका छन्।

पत्रकार थापाले फेसबुकमा लेखेका छन् ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु। मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु। राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ। कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ।’

मनपरी पदक वितरणप्रति असन्तुष्टि जनाउनेमा मुख्य विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छन्। विगतमा सरकारमा छँदा यसै गरी पदक बाँडेका उनले संविधान दिवसको अवसरमा नेकपा (एमाले)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा भने, ‘सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved