प्राविधिक शिक्षा छात्रवृत्तिमा तीन गुणा बढी आवेदन

सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षाको छात्रवृत्तितर्फ लक्ष्यभन्दा तीन गुणा बढी आवेदन परेका छन्।

नेपालभ्युज

प्राविधिक शिक्षा छात्रवृत्तिमा तीन गुणा बढी आवेदन

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षाको छात्रवृत्तितर्फ लक्ष्यभन्दा तीन गुणा बढी आवेदन परेका छन्। प्राविधिक शिक्षाका विभिन्न विधामा सात सय २७ जनालाई छात्रवृत्ति दिने लक्ष्य रहेकोमा दुई हजार एक सय ३८ जनाको आवेदन परेको जनाइएको छ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार डिप्लोमातर्फ तीन सय ३४ र प्रि-डिप्लोमा तर्फ तीन सय ९३ जनालाई छात्रवृत्ति दिने लक्ष्य छ। कार्यालय प्रमुख कुष्माकर भट्टले भने, “प्रि–डिप्लोमा तर्फ लक्ष्यभन्दा कम आवेदन परेका छन् भने डिप्लोमातर्फ पाँच गुणा बढी आवेदन परेको छ।

उनका अनुसार प्रि–डिप्लोमा तीन सय ९० आवेदन परेका छन्। तीन सय ३४ लक्ष्य रहेको डिप्लोमा तर्फमा एक हजार सात सय ४८ जनाको आवेदन परेको छ। कार्यालयले गत बुधबारदेखिनै छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरूको छनैट पक्रिया शुरु गरेको जनाएको छ।

कार्यालयले विद्यार्थीको एसईईमा प्राप्त ग्रेड, कक्षा आठको प्राप्त अंक, उमेर अनुसारको ज्येष्ठता लगायतलाई आधारमा छात्रवृत्तिका लागि आवेदन दिएका व्यक्तिहरूलाई छनोट गर्ने उनले बताए। भने, “अहिले सबै अनलाइन माध्यमबाटै छनोट कार्य भइरहेको छ। शुरुमा एसईई ग्रेड, कक्षा ८ को अंक, उमेर अनुसार ज्येष्ठता लगायतलाई आधार मानेका छौं।”

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले कृषि तथा पशुपालन, इन्जिनियरिङ, स्वास्थ्य तथा नर्सिङ, वन, होटल व्यवस्थापनलगायत प्राविधिक विषयमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। परिषदले प्रत्येक २० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा एक वर्गीकृत (निःशुल्क), प्रत्येक ३० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा दुई, ४० मा तीन र ४८ मा चार जनालाई वर्गीकृत निःशुल्क छात्रवृत्ति गर्दै प्रदान गर्दै आएको छ। त्यस्तै प्रत्येक कार्यक्रममा एक जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृत्ति दिने गरेको छ।

तिहारपछि परीक्षा

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले हरेक वर्ष सेमेष्टर र वार्षिक परीक्षा भदौ र साउनमा गराउँदै आएको थियो। यस वर्ष कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण विद्यार्थीहरूले प्रयोगात्मक र पाठयक्रम पनि पूर्ण रुपमा पढ्न पाएका थिएनन्।

सोही कुरालाई दृष्टिगत गर्दै परिषद्ले सेमेष्टर र वार्षिक परीक्षा तिहारपछि गर्ने जनाएको छ। कार्यालय प्रमुख भट्टले भने, “अझै हामीसँग डेढ महिनाको समय छ। यो अवधिमा प्रत्येक विद्यालयले प्रयोगात्मक कक्षा सम्पन्न गर्छन्। यसरी विद्यार्थीहरूलाई पठनपाठन पनि गर्न सहज हुन्छ। उनले डेढ महिनापछि हुने परीक्षामा विद्यार्थीहरू सहजै सहभागिता हुने बताए।

जारी निषेधाज्ञाका कारण सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा लिएर पठनपाठन गरिरहेका छात्रछात्रालाई समस्या भएको उनले बताए। “प्रि-डिप्लोमा तथा डिप्लोमा कक्षा भइरहेका विद्यार्थीहरूलाई भर्चुअल माध्यमबाट पनि पठनपाठन तथा प्रयोगात्मक कक्षा गरियो”, उनले भने, “साना बालबालिकाहरू त्यसको पहुँचमा भएनन्।” कोभिड महामारीका कारण माध्यामिकभन्दा पनि आधारभूत तहका विद्यार्थीहरूलाई असर गरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved