प्रकाशकीय

सत्य, न्याय र निष्ठाप्रति हाम्रो पक्षधरता

तथ्यपूर्ण समाचार, प्रासंगित विचार र ज्ञानको प्रशारण र बजारनिर्देशित प्रतिस्पर्धात्मक पत्रकारिता गर्ने हाम्रो लक्ष्य र उद्देश्य हो।

नेपाल भ्युज

सत्य, न्याय र निष्ठाप्रति हाम्रो पक्षधरता

गएको भदौ १६ गतदेखि प्राविधिक रुपमा परीक्षणमा रहेको नेपाल भ्यूज डटकम आजबाट विधिवत् शुरु भएको छ। ३ असोज अर्थात् संविधान दिवसको ऐतिहासिक दिन पारेर हामी औपचारिक रुपमा आम पाठक/श्रोतामाझ आएका छौं।

यतिखेर सिंगो मानवजाति कोभिडसँगको लडाइँमा छ। कोभिडले नेपालको मात्रै होइन, विश्वकै अर्थतन्त्र र मानवीय जीवनका हरेक पाटालाई नराम्रोसँग गाँजेको छ। एकातिर कोभिडका कारण अर्थतन्त्रमा परेको प्रतिकूलता अर्कोतर्फ ठूलो संख्यामा अनलाइन न्यूज पोर्टलहरू विद्यमान भएको अवस्था। यी दुवैखाले प्रतिकूलतालाई चिर्दै नेपालभ्यूज सार्वजनिक गरेर चुनौतीलाई अवसरमा बद्ल्ने जोखिम उठाएका छौं।

संसारभर डिजिटलाइजेसनको उभारसँगै समाचारमा छापा मिडियाको एकाधिकार समाप्त भयो र अनलाईन मिडियाहरूको बाढी आयो। तर बजारले प्रतिस्पर्धा जन्माउँछ र त्यसले राम्राहरूको छनोट गर्छ भन्ने सिद्धान्तविपरीत अस्तित्व रक्षाको लागि नयाँ जन्मेका मिडियाहरूमा समाचार तोडमोड गर्ने, घटनालाई नाटकीय बनाउने र मिडिया माध्यमलाई स्वार्थपूर्ति गर्ने थलोको रुपमा प्रयोग गर्ने चलन देखियो। जसले गर्दा परम्परागत रुपमा समाचारलाई सत्य भनेर बुझिने आम बुझाईमा फरक पर्न थाल्यो।

यतिखेर हामीले न्यूज मिडियाहरूको ठूलो भिडमा तथ्य र सत्य विस्तारै फिका हुँदै गएको देखेका छौं। सूचनाको वमबारीले सर्वसाधारणहरू दिग्भ्रमित हुन थालेको पाएका छौं। मान्छेको ‘एटेन्सन’लाई व्यवसायीक विनिमय गर्ने वहानामा व्यवसायिक पत्रकारीता विस्तारै मर्दै गएको अनुभव पनि गरेका छौं। यहीनेर हाम्रो उपादेयता सिद्ध हुन्छ भन्ने हाम्रो विश्वास छ। तथ्य र सत्यमा आधारित व्यावसायिक पत्रकारिता हाम्रो प्रण हो।

हामीलाई लाग्छ, यतिखेर नेपालमा तात्तातो समाचार होइन तथ्यपूर्ण समाचारको, असंगत सुचनाको बाढी होइन प्रासंगिक ज्ञानको प्रसारणको र व्यापारमुखि कमाउने पत्रकारिता होइन बजार निर्देशित प्रतिस्पर्धात्मक पत्रकारीताको अभाव र खाँचो टड्कारो छ। त्यसकारण तथ्यपूर्ण समाचार, प्रासंगिक विचार र ज्ञानको प्रसारण र बजार निर्देशित प्रतिस्पर्धात्मक पत्रकारीता गर्ने हाम्रो लक्ष्य र उदेश्य हो।

हामी निष्पक्ष पत्रकारितामा होइन, पत्रकारिताको पक्षधरतामा हुनुपर्दछ भन्ने मान्यता राख्दछौं। त्यसैले हाम्रो पक्षधरता सत्य, न्याय र निष्ठासँग जोडिएको हुनेछ। त्यसैले हाम्रो मिसन सत्य, न्याय र निष्ठाको पक्षमा आवाज उठाउने हुनेछ। हामी किनारामा पारिएका भूईमान्छेहरूको आवाजलाई प्रधानता दिनेछौं।

हामीलाई ठूलो र व्यापक बन्नु भन्दा पनि फरक र असल बनेर पाठकहरूको मनमा बस्नु छ। नेपाली संचारजगतमा केही फरक गर्न खोज्ने हाम्रो प्रयासलाई विश्वास गरेर सहयोग गर्नुहुने सम्पुर्ण विज्ञापनदाता, नेपालभ्यूजका सम्पूर्ण टिम, शुभेच्छुक र पाठकहरूमा हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। हाम्रो प्रयास तपाईहरू सामु परिक्षाको लागि खडा छ। तपाईहरूको अमूल्य माया, सद्भाव र सहयोग पाएर हामी उतिर्ण हुने अपेक्षासहित,

कृति खतिवडा
अध्यक्ष
डिजिटल हाउस नेपाल प्रा‍.लि.

 

 

 

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved