काठमाडौँ। सरकारले १० वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार सूचना निकालेर ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबै नागरिकलाई खोप लगाउने जानकारी दिएको हो।
यस्तै काभ्रे र चितवनमा २५ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ।
काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका र बाँकी ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ।
देशभर असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयको सूचनामा उल्लेख छ।
Facebook Comment
Comment