जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी केपी ओली सरकारकै पालमा गडबडी भएको आरोप लगाएका छन्।
शनिबार जनकपुरधाममा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले एमसीसी पहिला ‘ओरिजिनल’ भएको र पछि ओली सरकारले बिगार्दा यो तीव्र आलोचित भएको बताए।
आफूहरूसहित नेपाली कांग्रेस सत्तामा हुँदा एमसीसीको ओरिजिनल सम्झौता भएको उनको दाबी थियो। उनले भने, “त्यतिबेला शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो। हामी पनि त्यो सरकारमा थियौं, जतिबेला एमसीसी सम्झौता भयो।’
एमसीसीको पहिलो सम्झौतामा संसदबाट पारित गर्ने कुनै प्रावधान नभएको उनले जिकिर गरे। भने, “तर केपी ओलीको पालामा त्यतिबेला अर्थमन्त्रीले पार्लियामेन्टबाट जे राखियो, विवाद त्यहाँबाट शुरु भयो।”
उनले थपे, “पछि अमेरिकाका केही मन्त्रीहरूले एमसीसीलाई आफ्ना डकुमेन्टमा यो इन्डो प्यासिफिक स्ट्रटेजीको अंग हो भनेर भनियो, त्यसपछि विवाद झनै चर्किएको हो।”
विकासका लागि पैसा चाहिएको र तर त्यसका लागि सम्पूर्ण दलहरूसँग छलफल गरेर यसलाई कार्यान्वयनतर्फ लग्नुपर्ने र संशोधन गरेर नेपालमा लागु गराउनुपर्ने आफ्नो धारणा उल्लेख गरे।
फरक प्रसंगमा उनले मन्त्रिपरिषद् विस्तार ४ असोजपछि हुने ठोकुवा गरे। प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको र ४ असोजपछि सरकार विस्तार हुनेमा कुनै शंका नभएको उनले बताए।
त्यस्तै उनले गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको चारदलीय लोकतान्त्रिक गठबन्धन नटुट्ने दाबी पनि गरे। गठबन्धन बन्न नै नदिने षड्यन्त्र भए पनि अब कुनै हालतमा गठबन्धन नटुट्ने र अगामी चुनावसँग गठबन्धन रहिरह्ने बताए।
संविधानको सर्मथन गर्ने बेला संशाधेन गर्ने शर्तमा आफूले हस्ताक्षर गरेको र अहिले पनि संविधान संशोधन हुन अझै बाँकी रहेको अध्यक्ष दाहालको भनाइ थियो। त्यस्तै जनकपुरधामलाई महानगरपालिका बनाउन आफूले हरसम्भव प्रयास गर्ने र जनकपुरबासीलाई पनि आआफ्नो तर्फबाट पहल गर्न दाहालले सल्लाह दिए।
Facebook Comment
Comment