असोजदेखि खुल्दैछन् विद्यालय, कस्तो छ तयारी?

उपत्यकाका अधिकांश विद्यालय १ असोजबाट खुल्दैछन्। स्वास्थ्य सुरक्षा सहित कक्षा शुरु गर्न लागेको विद्यालयहरु बताउँछन्। तर अभिभावक भने अन्यौलमै छन्।

असोजदेखि खुल्दैछन् विद्यालय, कस्तो छ तयारी?
फाइल तस्वीर

काठमाडौं। उपत्यकाका अधिकांश नगरपालिकाले आउँदो १ असोजदेखि विद्यालय खोल्ने तयारी गरेका छन्।

१६ भदौमा बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले जिल्ला वा स्थानिय तहको संक्रमणको अवस्था हेरेर शैक्षिक क्षेत्र सञ्चालनमा ल्याउन सक्ने निर्णय गरेपछि विद्यालयहरु खुल्ने प्रक्रियामा लागेका हुन्। उक्त बैठकको निर्णय अनुसार गोकर्णेश्वर नगरपालीकाले १५ भदौबाट नै विद्यालय सञ्चालन गरिरहेको छ भने अन्य केहि नगरपालिकाले १ असोजबाट सञ्चालन गर्ने तयारी गरिरहेका छन्।

कक्षा सञ्चालन भइरहेको गोकर्णेश्वर नगरपालिकामा स्वास्थ्य मापदण्ड र भौतिक दूरी पालना भएको नगरपालिकाको दाबी छ। “विद्यालय अनुगमनमा जाँदा स्वास्थ्य मापदण्ड र भौतिक दुरी पालना गरिएको छ”, नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगानाले बताए।

नगरपालिकाकै अरुणोदय मा. वि. का प्रधानाध्यापक कृष्ण नेपाल भन्छन्, “दुइवटा भवन छन्, एउटामा एक देखि आठसम्मका विद्यार्थीलाई र ८ देखि १२ सम्मका विद्यार्थीलाई अर्को भवनमा सिफ्टअनुसार पढाउने व्यवस्था गरिएको छ।”

त्यस्तै विद्यालयमा बिरामीको स्वास्थ्य अवस्था अवलोकन गर्ने, साबुन पानीले हात धुने व्यवस्था, मास्क सेनिटाइजरको व्यवस्था गरिएको उनले बताए।

कस्तो छ तयारी?
टोखा नगरपालिकामा स्वास्थ्य मापदण्ड अपनाएर सिफ्ट मिलाएर विद्यालय सञ्चालन गर्न सकिने निर्णय भएको नगरपालीकाका शिक्षा शाखाका अधिकृत बाबुराम गौतमले बताए।
उनी भन्छन्, “सो निर्णय विद्यालय व्यवस्थापन समिती अभिभावक, प्रधानाध्यापक र कर्मचारीसँग छलफल गरी निर्णय गरिएको हो।”

केहि विद्यालय २७ भदौबाट सञ्चालनमा आइसकेको र केही १ असोजबाट आउने तर केही भने दशैं अघि शुरु नहुने उनले जानकारी गराए।

नगरपालिकाले विद्यालय सञ्चालन गर्न निर्देशिका बनाएको र त्यस अनुसारमात्रै कक्षा शुरु गरिने उनले जनाए।
“विद्यालय खोल्न ज्वरो मापन गर्ने थर्मोमिटर, स्यानिटाइजर र मास्क उपलब्ध गराइएको छ”, उनले बताए।

कागेश्वरी मनोहरा नगरपालिकामा पनि कक्षा सञ्चालनका लागि सबै तयारी गरिएको बतायउको छ। नगरपालिकाको शिक्षा शाखाका अधिकृत विमलप्रसाद निरौला भन्छन्, “सिडिओ कार्यलयले सबै पालिकाका विद्यालयलाई तयारी अवस्थामा राख्न भनेपछि विद्यालयलाई भौतिक रुपमा कक्षा सञ्चालन गर्न तयारी बस्न आदेश दिइएको छ।”

नेपाल सरकारले भवन स्यानिटाइजेसन, माक्स, स्यानिटाइजर, हात धुने पानी र साबुनका लागी उपलब्ध गराएको रकम विद्यालयलाई उपलब्ध गराएकाले त्यसै अनुसार तयारी भएको उनले जानकारी दिए।

टोखास्थित सरस्वती मा विका प्रअ अर्जुन श्रेष्ठले २७ भदौदेखि विद्यालय सञ्चालनमा आएको बताए। उनी भन्छन्, “२१ भदौमा आफ्नो स्थानिय परिवेश हेरेर विद्यालय व्यवस्थापन समितीले निर्णय गरेर खोल्न सकिने निर्णय अनुसार विद्यालय सञ्चालनमा ल्याइएको छ।”

बिहान ५ देखि १० सम्म, १० देखि १ सम्म, १ देखि ४ बजेसम्म गरी तीन सिफ्टमा कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए।

“विद्यार्थीलाई भौतिक दुरी कायम गर्न लगाएर आधा विद्यार्थीलाई मात्र कक्षा कोठामा राखेर अध्यापन गराइरहेका छौ”, उनले भने, “त्यस्तै विद्यालयमा एक बेञ्चमा दुइ जना बस्ने व्यवस्था, साबुन पानीले हात धुने व्यवस्था र विद्यालय सरसफाई गरिएको छ।”काठमाडौं महानरपालिकाले भने विद्यालय खोल्ने, नखोल्नेबारे निर्णय गरिसकेको छैन। यस विषयमा ३१ भदौमा मात्रै निर्णय हुने महानगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए।
“दशैं अघि नखोल्ने भन्ने बिषयमा अन्यौल छ। औपचारिक हिसाबले विद्यालय सञ्चालनमा ल्याउने निर्णय हुन बाँकि छ।”

महानगरपालीकाले अनुमती दिए भौतिक रुपमा कक्षा सञ्चालन गर्न तयारी रहेको काठमाडौंको पञ्चकन्या आधरभुत विद्यालयकी प्रध्यानाध्यापक (प्रअ) बिनिता रंजितले बताइन्। यस विषयमा अभिभावकसँग छलफल गर्दा विद्यालय पठाउने सहमती जनाएको, विद्यार्थी र विद्यालय प्रशासन पनि तयार रहेको उनले बताइन्।

त्यस्तै, विज्डम अंग्रेजी स्कुलका प्रअ शिव अधिकारी भन्छन्, “यस बिषयमा हामीले अभिभावक र शिक्षकसँग छलफल गरिसकेका छौं। अभिभावकहरु विद्यार्थीलाई स्कुल पठाउन सहमत छन्।”

अनलाईन कक्षा भन्दा भौतिक कक्षा बढि प्रभावकारी हुने देखिएपछि शिक्षकहरुले पनि भौतिक रुपमा कक्षा सञ्चालन गर्न सहमती जनाएको उनले बताए। उनले थपे, “महानगरको निर्देशन अनुसार कक्षा सञ्चालन गर्ने तयारीमा छौं।”

कक्षा सञ्चालन गर्नु अघि विद्यालय भवन सेनिटाइज गर्ने योजना रहेको उनले बताए। साथै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी भौतिक दुरी अन्तर्गत एक बेन्च एक विद्यार्थी राखेर अध्यापन गराउने योजना रहेको उनले बताए।

अभिभावक अझै त्रासमा
चाकुपाट बस्ने अनिता मरासिनीको छोरा एकिन मराशिनी कक्षा ५ मा त्रिपद्मा विद्याश्रममाविमा पढ्छन्। १ असोजबाट कक्षा शुरु हुने जानकारी पाए पनि छोरालाई विद्यालय पठाउन मानसिक रुपमा तयार नभइसकेको उनी बताउँछिन्। “स्कुल पठाउँ कोरोना लाग्ला भन्ने डर, नपठाउँ दिनभरी गेम खेलेर बस्दा भविष्य बिग्रेला भन्ने चिन्ता।”

मैतिदेवी बस्ने अन्जली मल्लकी छोरी परिक्षा थापा द समिट स्कुलमा एल. के. जीमा पढ्छिन्। अन्जली भन्छिन्, “विद्यालय प्रशासनले ३० भदौबाट छोरीलाई स्कुल पठाउन भनेका छन् तर छोरीलाई संक्रमण हुने हो कि भन्ने डरले स्कुल पठाउन अन्यौलमा छु।”

कपन बस्ने देवकी बन्जराका छोरा दिवश बन्जरा पुष्पलाल स्कुलमा कक्षा ८ मा पढ्छन्। २८ भदौदेखि कक्षा शुरु भएपछि डरैडरमा छोरालाई विद्यालय पठाएको उनले बताइन्। देवकी भन्छिन्, “अनलाइन कक्षा भन्दा भौतिक रुपमा पढाउँदा बढि प्रभावकारी हुने रहेछ। मनमा केहि होला कि भन्ने त्रास छ, तर छोराको भविष्य बिग्रेला भन्ने डरले स्कुल पठाएँ।”

स्वास्थ्य सुरक्षा कायम गरेर मात्र विद्यालय खोलौं- डा. वन्त
विद्यालय कसरी सञ्चालनमा ल्याउने भन्ने बिषयमा धेरे बहस भएका छन्। बहसबाट निकालिएका निष्कर्ष कार्यान्वयन भने भएका छैनन्। विश्व स्वास्थ्य संगठनले पनि जोखिम मूल्यांकन गरेर मात्र कक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ। संगठनले तोकेको मापदण्ड अनुसार सरकारले निर्देश गरेअनुसार विद्यालय सञ्चालन नभएकोमा अमेरिकामै पनि विरोध भइरहेको छ।

विद्यार्थीलाई संक्रमणबाट जोगाउन कक्षा शुरु गर्नुअघि सम्बन्धित क्षेत्रमा संक्रमणको जोखिमबारे मूल्यांकन गर्नुपर्ने जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्। “संक्रमणको अवस्था मुल्याङकन गरी जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ”, वन्तले भने।स्कुल सञ्चालनमा ल्याउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दुरी कायम राख्नका लागी आवश्यक तयारी गर्नुपर्ने उनले बताए। विद्यालय आउँदा–जाँदा प्रयोग गरिने सार्वजनिक यातायात, खाजा खाने होटलबाट पनि संक्रमण हुनसक्ने जोखिम भएको उनले बताए।

डा. वन्त भन्छन्, “स्कुल जानका लागी विद्यार्थी सार्वजानिक यातायातमा आउने जाने गर्दा, बाहिर होटलमा खाजा खान जाँदा बिशेष सावधानी अपनाउनु सल्लाह दिनुपर्छ। यसका लागी अभिभाबक र विद्यालय प्रशासनले इमान्दारीका साथ बालबालिकालाई भौतिक दुरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउनुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved