मोटरसाइकलको मूल्य बढ्यो, टीभीएस र बजाजको घट्छ ?

सरकारले आर्थिक ऐनमार्फत् नेपालमै एसेम्बलिङ हुने सवारीमा कर घटाएकोमा नेपालमै एसेम्बलिङ हुँदै आएका टीभीएस र बजाजको बजार बढ्ने आकलन गरिएको छ।

नेपालभ्युज

मोटरसाइकलको मूल्य बढ्यो, टीभीएस र बजाजको घट्छ ?

काठमाडौं। सरकारले प्रतिस्थापन विधेयकमार्फत् मोटरसाइकल तथा स्कुटरमा कर बढाएपछि मूल्य बढ्ने भएको छ। सरकारले १२५ सीसी माथिका मोटरसाइकलमा अन्तरशुल्क कर वृद्धि गरेको हो।

यसअघि ५० देखि १५५ सीसी, १५५ देखि २५० सीसी, २५० देखि ५०० सीसी तथा ५०० सीसीभन्दा माथि गरेर मोटरसाइकलको सेग्मेन्ट वर्गिकरण गरिएको थियो। तर अर्थमन्त्री जनार्दन शर्माले ५० देखि १२५ सीसी, १२५ देखि २ सय सीसी, २ सयदेखि २५० सीसीका रुपमा मोटरसाइकल तथा स्कुटरको वर्गिकरण गरी कर वृद्धि गरेका छन्।

२५० सीसीसम्मको मोटरसाइकलमा ४० प्रतिशत कर लाग्दै आएकोमा १२५ सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत नै र १२५ सीसीदेखि २ सय सीसीसम्ममा ५० तथा २०० देखि २५० सम्ममा ६० प्रतिशत कर लगाइएको छ। यसैगरी ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा अन्तरशुल्क कर ८० प्रतिशतबाट सत प्रतिशत पुर्याइएको छ। यसबाहेक बजेटले १२५ सीसीभन्दा माथिका मोटरसाइकलको सडक निर्माण दस्तुर पनि बढाएको छ। कर बढेसँगै बजारमा १२५ सीसी माथिका मोटरसाइकलको मूल्य बढ्ने भएको छ।

बजेटको नयाँ व्यवस्थासँगैं १२५ सीसी माथिका यमाहा, हिरो, होण्डा, सुजुकी, केटीएम लगायतका मोटरसाइकलको मूल्य बढ्ने भएको छ।

तर सरकारले आर्थिक ऐनमार्फत् नेपालमै एसेम्बलिङ हुने सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको छ। नेपालमै सवारी एसेम्बलिङ गर्ने कम्पनीलाई अन्तरशुल्कमा २५ प्रतिशत छूट दिँदै आइएकोमा उक्त छूट बढाएर ५० प्रतिशत पुर्याइएको हो। यसले नेपालमै एसेम्बलिङ हुने टीभीएस र बजाज मोटरसाइकलको मूल्य घट्ने आकलन गरिएको छ।

बजेटमा दिइएको छूटसँगैं टीभीएसले मूल्य घट्ने संकेत गरेको छ। टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक मल्होत्राले बजेटसँगैं ग्राहकले टीभीएस मोटरसाइकल खरिदमा सहुलियत पाउने वातावरण बनेको बताए। ‘‘एसेम्बलिङ उद्योगमा सरकारले दिएको छूट सकारात्मक छ,’’ उनले भने, ‘‘छूटपछिको खर्च हेरेर कसरी ग्राहकलाई सहुलियत दिन सकिन्छ अध्ययन गर्दैछौँ।’’ मूल्य घटाउने विषयमा अध्ययन भइरहेको बताउँदै उनले अन्य मोटरसाइकलको मूल्य बढेपनि तत्काल टीभीएसका मोटरसाइकलको मूल्य नबढ्ने बताए।

यसैगरी नेपालमै एसेम्बलिङ हुने बजाज मोटरसाइकलको पनि मूल्य घट्ने अनुमान गरिएकोमा बजेटको विषयमा कम्पनीले आधिकारिक धारणा राखेको छैन।यस विषयमा बुझ्न एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छालाई हामीले सम्पर्क गरेकोमा उनको फोन उठेन भने व्यवस्थापन समूहले बोल्न चाहेन। ‘‘सडक दस्तुर पनि बढेकाले अन्तरशुल्क घटेपनि तत्काल केही भन्न सकिने अवस्था छैन,’’ नाम नखुलाउने शर्तमा बजाजका एक कर्मचारीले भने, ‘‘यस विषयमा आन्तरिक छलफल पछि मात्रै के हुन्छ भन्न सकिएला।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved