प्रतिस्थापन विधेयकले जनताप्रति अधिकतम काम गर्छ – मन्त्री भुसाल

विपन्नलाई राहत दिन विद्युत् महसूलमा छुट दिन लागेको भनाइ

नेपाल भ्यूज

प्रतिस्थापन विधेयकले जनताप्रति अधिकतम काम गर्छ – मन्त्री भुसाल
फाइल तस्वीर

ललितपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छन्।

किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले भनिन्, “आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ। कोरोनाबाट सङ्कटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर बजेट आएको छ।”

मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने गरी नै आउने विश्वास दिलाइन्। गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको उनको बतायन्।

मन्त्री भुसालले स्वदेशमै उत्पादन भएको विद्युतको खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यापार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको बताइन्। “अहिले जसले बढी बिजुली बाल्यो, उसले बढी महसूल तिर्नु परेको अवस्था छ, विद्युत् नियमन आयोगले निर्णय गरेपछि लागू हुन्छ,” उनले भनिन्।

जातीय सामाजिक संस्था ‘किरात याक्थुङ चुम्लुङ’ को ३३ वर्षअघि स्थापना भएको हो। यस संस्थाको देशका नौ जिल्लामा र किरात जाति रहेका विश्वका १९ देशमा यस संस्था क्रियाशील छ। सो अवसरमा संस्थाका केन्द्रीय अध्यक्ष योगराज बानेमले नेपाल जातीय रङ्गीनता रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

संस्थाका ललितपुर जिल्ला अध्यक्ष रामबहादुर खख्खिम लिम्बूले संस्थाका गतिविधिबारे जानकारी गराए। कार्यक्रममा बिजुली बत्ती भूमिगत गर्न तथा खानेपानी समस्या रहेको भन्दै समाधान गरिदिन आग्रह गरिएको थियो।

सो अवसरमा मन्त्री भुसालले ललितपुर महानगरपालिका-१४ स्थित लिम्बू सङ्ग्रहालय परिसरमा निर्मित अतिथि गृहको उद्घाटन समेत गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved