सरकारले काट्यो स्टार्टअपको बजेट

उद्यमी भन्छन् – दीर्घकालीन असर गर्छ

‘‘यो तीन महीनामा स्टार्टअप व्यवसायको तयारी गरेका थुप्रैलाई यसले असर गर्छ।’’

नेपालभ्युज

सरकारले काट्यो स्टार्टअपको बजेट

काठमाडौं। स्टार्टअप उद्योगका लागि छुट्टाइएको बजेट सरकारले कटौटी गरेको छ। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्दैै ल्याएको बजेटमा स्टार्टअप उद्यमका लागि कुनै व्यवस्था नगरिएको हो।

केपी शर्मा ओलीको तत्कालीन सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एक प्रतिशत ब्याजदरमा २५ लाखसम्मको बीउ पुँजी कर्जा दिने व्यवस्था गरेका थिए।

बजेटमा स्टार्टअप व्यवसाय दर्ता तथा नवीकरण लगायतमा नीतिगत सहजीकरण गर्दै एक अर्ब रुपैयाँको च्यालेन्ज फन्डको स्थापना गर्ने बताइएको थियो। नयाँ बजेटले उक्त कार्यक्रमलाई निरन्तरता दिएको छैन।

अर्थमन्त्री शर्माले स्टार्टअपको बजेट कटौटी गरेकाले यसले दीर्घकालीन असर गर्ने व्यवसायीहरू बताउँछन्।

टुटलका सञ्चालक शिक्षित भट्टले स्वरोजगार बन्न चाहनेका लागि स्टार्टअपमा दिने भनिएको बीउँ पूँजी कर्जा कटौटीले लामो समयसम्म असर गर्ने बताए। पूर्वाधार तथा सडक निर्माणमा लामो समय लाग्ने भएकाले त्यस्ता कार्यक्रम एक वर्ष ढिलो शुरू भए त्यति फरक नपर्ने भएता पनि स्टार्टअप कार्यक्रममा गरिएको कटौटीले सर्वसाधारणमा ठूलो असर पर्ने उनको भनाइ छ।

‘‘स्टार्टअपले एक वर्षमा धेरै रोजगारी सिर्जना गर्न सक्छ जसका लागि अघिल्लो बजेटमा सहज कर्जा भएकाले उद्यमीले केही शुरू गर्ने अवसर थियो,’’ उनले भने, ‘‘यो तीन महीनामा स्टार्टअप व्यवसायको तयारी गरेका थुप्रैलाई यसले असर गर्छ।’’

अर्थमन्त्री शर्माले शुक्रबार प्रतिस्थापन विधेयकमार्फत् यसअघिको बजेटबाट १४ अर्ब ७४ करोड घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved