काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्। राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार एक समारोहका बीच राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्।
शपथ समारोहमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए। मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैदेखि सैनिक नेतृत्वको जिम्मेवारी सम्हालेका छन्।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शर्मालाई गत ११ भदौमा आजदेखि लागु हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी हुन्। यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल आजै सकिएको छ। नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालिम र आर्थिक पारदर्शीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यसअघि नै बताइसकेका छन्।
महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा बंगलादेशबाट शान्ति सेना सम्बन्धी उच्चस्तरीय तालिम प्राप्त गरेका छन्।