सन्दर्भः बीपी जन्मजयन्ती

किसानहरू हाम्रो आर्थिक जीवनको मेरुदण्ड हुन्–बीपी कोइराला

प्रधानमन्त्रीको शपथ ग्रहणपछि बीपी कोइरालाले रेडियोबाट गरेको सम्बोधन

नेपालभ्युज

किसानहरू हाम्रो आर्थिक जीवनको मेरुदण्ड हुन्–बीपी कोइराला

२०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेपछि पार्टीका अध्यक्ष बीपी कोइरालाले १३ जेठमा प्रधानमन्त्री पदमा शपथ लिएको भोलिपल्टै रेडियोबाट जनताका नाममा सन्देश दिँदै आफ्नो सरकारको कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका थिए। उक्त सन्देश १५ जेठ २०१६ को गोरखापत्रमा पनि प्रकाशित भएको थियो। बीपी जयन्तीको अवसर पारेर उनका सपना र योजना अभिव्यक्त हुने उक्त सन्देश पुनः प्रकाशन गरिएको छ। -प्रधान सम्पादक

देशका दाजुभाइ तथा दिदीबहिनीहरू,

तपाईंहरू सबैमा मेरो अभिनन्दन पुगोस्।

श्री ५ महाराजाधिराजबाट मलाई बडो विश्वासका साथ देशको प्रधानमन्त्रीको सम्मानित पदको जिम्मेवारी बक्सेको छ। मेरो काँधमा प्रधानमन्त्री पदको जिम्मेवारी हालै सम्पन्न भएको आमनिर्वाचनमा बहुमत प्राप्त गरेको पार्टीको नेताको हैसियतले पर्न आएको छ। यसप्रकार, मलाई राजा र प्रजा दुवैको विश्वास प्राप्त हुन सकेकोमा स्वभावतः मलाई अत्यन्त हर्ष, सन्तोष तथा उत्साह प्राप्त भएको छ। मेरो नेतृत्वमा गठित मन्त्रिमण्डल राजा र प्रजा दुवैको विश्वासको पात्र तथा नयाँ व्यवस्थाको प्रतीक हुनगएको छ। मलाई प्रधानमन्त्री बनाउने व्यवस्थाबाट निर्वाचनको आधारमा सरकार गठन गर्ने प्रजातान्त्रिक परिपाटीको शुभारम्भ भएको छ। तसर्थ, नेपालले आज एउटा नयाँ अध्याय प्रारम्भ गरिरहेको अनुभव हामी सबैमा भएको होला भन्ने मलाई विश्वास छ। आज इतिहासले हामीलाई नियतिको आमने-सामने स्थापित गरेको छ। हामीले यो परिवर्तित अवस्था र यसबाट प्राप्त भएको राष्ट्रिय अवसरलाई बिर्सिनु हुँदैन।

श्री ५ महाराजाधिराजको सदिच्छा र प्रजातान्त्रिक प्रणालीमाथिको मौसुफको दृढ आस्थाले गर्दा नेपालको ऐतिहासिक निर्वाचन निष्पक्षतापूर्वक र निर्विघ्न सम्पन्न भएर संसारका सामु हाम्रो देश नेपालको प्रजातन्त्रप्रतिको विश्वास घोषित भएको छ। जनताको सम्पूर्ण सहयोग र आस्था प्रजातन्त्रको मुख्य आधार तथा माध्यम निर्वाचनलाई प्राप्त भएकाले सन्देहरहित ढङ्गले जनताको प्रजातान्त्रिक जागरुकता प्रदर्शित भएको छ। यसप्रति अनास्था उत्पन्न गराउने प्रयत्न अनुचित मात्र होइन, देश, नरेश र जनताको प्रस्ट भावनाको प्रतिकूल हनेछ। नरेशको सदिच्छा तथा जनताको सङ्कल्पप्रति पूर्ण विश्वास राखेर प्रजातान्त्रिक पद्धतिलाई दृढतर पान हामी सबै जना लागौँ भन्ने मेरो हार्दिक आह्वान छ।

श्री ५ महाराजाधिराजबाट मलाई प्रधानमन्त्री मनोनयन गर्ने अवसरमा अविलम्ब संसद् बोलाउनुपर्छ भन्ने हुकुम बक्सेको थियो। यस शाहीइच्छालाई कदर गर्ने हाम्रो सङ्कल्प छ। अहिलेसम्म त्यसतर्फ भएको प्रगतितर्फ विचार गर्दा यस सम्बन्धमा चाहिने नियम तथा उपनियमहरू अविलम्ब तयार हुने सम्भावना देखिएको छ। तर संसद्का लागि भवन उपलब्ध गराउन डेढ महिनाको समय लाग्ने भएकाले यो कार्य असारको दोस्रो वा तेस्रो हप्तामा कुनै ऐतिहासिक तिथिमा सम्पन्न गराउने हाम्रो विचार छ।

निर्माण कार्यका लागि चाहना मात्र यथेष्ट हुँदैन यसका लागि प्रत्येक नागरिकले राष्ट्रलाई फ्नो यावत् प्रयत्न अर्पित गर्न कटिबद्ध हुनुपर्छ

हाम्रो सरकारको आधार नै जनताको विश्वास भएकाले र साथै हाम्रो राजनीतिक जीवनको मूलजरो पनि जनतामै पसेर यसले त्यसद्वारा आफ्नो जीवनरस पाइरहने हुनाले हाम्रो प्रथम र अन्तिम ध्यान देशबासीहरूको कल्याण कार्यपट्टि स्वतः रहिरहने छ। हामीले जनताका समक्ष बचनबद्ध भई उपस्थित गरिसकेको हाम्रो निर्वाचन घोषणा-पत्र हाम्रो कार्यक्रमको आधारशिला हो। सरकारको आर्थिक सामर्थ्यअनुसार त्यसमा उल्लेखित कार्यहरूको सम्पादन गर्नु हाम्रो मुख्य लक्ष्य हुनेछ। हामीले आफ्नो कार्यक्रममा, १) प्रशासकीय तथा न्यायसम्बन्धी सुधार, २) अल्पकालीन तथा तत्काल परिणाम तथा लाभ ल्याउन सक्ने योजनाहरूलाई विशेष ध्यान दिएर अहिलेसम्म भइरहेको विकास कार्यलाई झन् द्रुतगतिले बढाउने कार्य, ३) भूमिसुधार तथा किसानहरूको कल्याण, ४) लघु उद्योगधन्दाको विस्तार, ५) शिक्षा, ६) स्वास्थ्य र ७) यातायातको विस्तार, आदि विषयलाई प्राथमिकता दिएका छौं।

किसानहरू हाम्रो आर्थिक जीवनको मेरुदण्ड हुन्। उनीहरूको कल्याणले नै समाजको कल्याण हुन्छ भन्ने हाम्रो विश्वास छ। त्यसो हुनाले स्वभावतः हाम्रो सरकारको सर्वप्रथम ध्यान उनीहरूको कल्याणपट्टि जानेछ। हाम्रो सरकारको ध्यान विदेशबाट प्राप्त हुने सहायताको दुरूपयोग हुन नदिई देशलाई अधिक लाभ हने गरी यसको सङ्गठन गर्नपट्टि जानेछ। पछिल्ला सरकारद्वारा समय-समयमा प्रारम्भ गरिएका योजनालाई सम्पन्न गर्ने पनि हाम्रो चाहना छ। सरकारले पहिले उठान गरिएका कार्यलाई अगाडि बढाउनुका साथसाथै नयाँ कार्यहरूको शिलान्यास गर्नेछ। सरकारले आफ्नो कार्यक्रम समय-समयमा प्रकाशित गरिरहने छ। आफ्ना योजनाहरू संसद्को बैठक बस्न थालेपछि सभासमक्ष विचारार्थ प्रस्तुत गर्नेछ। हामी स्थानीय जनताको सहयोग लिई उपयुक्त स्थानीय सङ्गठनको माध्यमबाट विकास कार्य गराउने प्रयत्न गर्नेछौं। यस सम्बन्धमा म एउटा कुरा भन्न चाहन्छु। निर्माणकार्यका लागि चाहना मात्र यथेष्ट हुँदैन। यसका लागि प्रत्येक नागरिकले राष्ट्रलाई आफ्नो यावत् प्रयत्न अर्पित गर्न कटिबद्ध हुनुपर्छ। म तपाईंहरूलाई पनि आजको अवसरमा आराम नगरिकन देशको सम्पत्ति वृद्धिमा सचेष्ट रहनुपर्छ भन्ने अपिल पनि गर्दछु।

शिक्षामाथि हाम्रो सरकारको विशेष ध्यान रहने भएकाले विद्यार्थीहरूको जीवनमा स्वतः नयाँ स्फूर्तिको प्रेरणा आउनेछ भन्ने मलाई लागेको छ। शिक्षालयको अवस्था सन्तोषजनक नभएको हुनाले विद्यार्थीहरूको जीवनमा एक प्रकारको बेचैनी छ। यसलाई हटाएर पछि हाम्रा विद्यार्थीहरूले उपयुक्त वातावरणमा विद्याध्ययन गर्न पाउनेछन्। सरकारले युवकहरूको उत्साह र आदर्श भावनालाई कुण्ठित हुन नदिई देशको मङ्गलमय भविष्यप्रति उत्तरदायित्वको भावना जागृत गराउने प्रयत्न गर्नेछ। प्रजातन्त्रमा देशका विभिन्न वर्ग, बुद्धिजीवी, शिक्षक, मजदुर, व्यापारी, महिला आदिले झन् बढी मात्रामा आ-आफ्नो विकासका अवसर पाउनेछन्। प्रजातन्त्रले सबैको विकासको बाटोलाई प्रशस्त गर्नेछ भन्ने कुरालाई प्रमाणित गर्ने जिम्मेवारी पनि हामीहरूकै भएको छ।

प्रजातन्त्रमा देशका विभिन्न वर्ग, बुद्धिजीवी, शिक्षक, मजदुर, व्यापारी, महिला आदिले झन् बढी मात्रामा आआफ्नो विकासका अवसर पाउनेछन्

जङ्गी वा निजामती जुनसुकै ओहदामा भए पनि सरकारी कर्मचारीहरूले नयाँ युग, जसको प्रादुर्भाव हालै सम्पन्न भएको निर्वाचनले गरेको छ, आफूलाई त्यसअनुसार जनताको सेवक भन्ठान्नुपर्छ। देशले सुखद् कल्पना गरेको कल्याणकारी राजनीति तथा आर्थिक व्यवस्थाको निर्माण गर्ने सरकारी माध्यम ‘प्रशासकीय यन्त्र’ हो। तसर्थ, सरकारी कर्मचारीहरूको ठूलो जिम्मेवारी छ। देशको भलो हुने ठूलो यन्त्र उहाँहरूबाटै सञ्चालित भइरहेको छ। यो यन्त्रलाई भ्रष्ट हुन नदिन पनि उहाँहरूकै पवित्र अभिभारा हो। हाम्रो सरकारले भ्रष्टाचारलाई निर्मूल गर्ने अठोट गरेको छ। यस कार्यमा सरकारलाई कर्मचारीहरूको उत्साहपूर्ण सहयोग प्राप्त हुनेछ भन्ने मलाई विश्वास छ। प्रशासकीय सुधारद्वारा कर्मचारीहरूको इमानदारीको कदर गर्ने र आफ्नो कर्तव्य तथा उत्तरदायित्वप्रति सदा सजग रहन प्रेरणा प्रदान गर्ने हाम्रो सरकारको चाहना छ। सरकारी कर्मचारीहरूको इज्जत तथा आत्मसम्मानको रक्षा गर्ने अभिभारा पनि सरकारले लिनेछ। नेपाली जातिको गौरवको एउटा विषय रहेको शाही सेनाले हाम्रो देशको मर्यादा राख्ने आफ्ना परम्परालाई नबिर्सी नयाँ उत्तरदायित्वलाई ससम्मान पूरा गर्नेछ भन्ने मलाई विश्वास छ। शाहीसेनाबाट तयार तथा हालै श्री ५ महाराजाधिराजबाट उद्घाटन भएको कान्ति राजपथ देश विकास कार्यमा शाहीसेनाको प्रयत्नको एउटा सुन्दर नमूना भएको छ। यसले नेपाली हृदयमा उत्साह भरेको छ। आजको दिन म जङ्गी निजामती, पुलिसप्रभृत्ति यावत् कर्मचारीलाई सम्झेर उहाँहरूले दलगत राजनीतिबाट तटस्थ रही श्री ५ को सरकारप्रति पूर्ण बफादार रहेर सरकारी नीति कार्यान्वयन गराउनुपर्छ भन्ने कुरा सम्झाउन चाहन्छु।

नेपालले बिस्तारै-बिस्तारै विभिन्न राष्ट्रहरूसँग मित्रताको सम्बन्ध बढाउँदै गएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा अहिले पहिलेको नेपाल छैन। भारतसँगको ऐतिहासिक तथा अविच्छिन्न मित्रता झन् घनिष्ठ भइरहेको छ। हाम्रो छिमेकी देश चीनसँग हाम्रो मित्रताको सम्बन्ध पुनर्स्थापित भएर आफ्नो यो ऐतिहासिक सम्बन्धलाई हामीले झन्-झन् बलियो पारिरहेका छौँ। हामीले नेपालमा आफ्नो दूतावास स्थापना गर्न रुसलाई स्वागत गरेका छौँ र अब छिट्टै काठमाडौंमा रूसी दूतावास स्थापित हुनेछ। यस प्रकार हामीले अरू मित्रराष्ट्रहरूलाई पनि स्वागत गर्ने अरू मौका पाउनेछौँ। संयुक्त राष्ट्रसङ्घमा हाम्रो सदस्यता भएकोले हामो देशले आफ्नो राष्ट्रिय आदर्शअनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने अवसर पाएको छ। हाम्रो सरकारले यो सदस्यताको सदुपयोग विश्व शान्ति र हाम्रो राष्ट्रिय नीति ‘तटस्थताको स्वतन्त्र नीति’को पक्षमा गर्ने छ। नेपालको हितलाई अनुशरण गरेको कुरा मैले दोहोयाएर भनिरहनु आवश्यक छैन। नेपाल कुनै पनि सामरिक गुटमा लाग्नेछैन।

आठ वर्षपछि म पुनः तपाईंहरूबीच सरकारी पदमा रहेर काम गर्न आइरहेको छु। नयाँ जमाना ल्याउनका लागि त्यो आठ वर्ष पहिलेको अवसर एउटा द्वार उद्घाटनको समारोह जस्तो थियो। त्यो अनियन्त्रित उत्साहको अवसरको आठ वर्षपछि पुनः म उपस्थित भएको छु। जिम्मेवारी, निर्माणको जिम्मेवारी छ, सङ्गठनको जिम्मेवारी छ। आज केवल उत्साह मात्र अपेक्षित छैन, आज त्यस्तो राष्ट्रिय सङ्गठन चाहिएको छ, जसद्वारा प्रजातान्त्रिक प्रणालीमा समाजको कल्याणकारी कार्यको सम्पादन हुन सकोस्।

प्रजातन्त्रलाई बलियो पार्ने अथवा देशको विकास कार्य सम्पादन गर्ने उत्तरदायित्व सबैको काँधमा छ। देशलाई अगाडि बढाउनका लागि सबैको सहयोग हामीलाई अपेक्षित छ। प्रजातन्त्रमा विरोधीको पनि असाधारण महत्त्व छ, नत्र भने सरकारको प्रवृत्ति अधिनायकवादी हुने भय रहन्छ। तर, सरकारलाई जस्तो ठूलो जिम्मेवारी परेको हुन्छ, विरोधी तत्त्वहरूलाई पनि उनीहरूका उत्तरदायी कार्यले त्यस्तै जिम्मेवार पारेको हुन्छ।

तसर्थ, म आज सबैको सहयोगका लागि हदृयदेखि अपिल गर्दछु। देश सबैको साझा हो। हामी सबैको सामूहिक आशा नेपालको उज्ज्वल भविष्य हो। नियतिले हामीलाई निर्माण, उत्थान र गौरवको मार्गमा अग्रसर हुन आह्वान गरिरहेको छ। के आजको ऐतिहासिक क्षणमा हामी आफ्नो स्वार्थ, सङ्कीर्णता तथा दुर्बलतालाई त्यागेर नियतिको वाणीलाई सुन्न सक्तैनौं ? यति भनेर सबैलाई पुनः अभिनन्दन गर्दै, तपाईंहरूसँग अहिले बिदा हुन्छु।

जय नेपाल!

(प्रदीप गिरिको सम्पादनमा प्रकाशित संसद्मा विश्वेश्वरः विश्वेश्वर कोइरालाका संसदीय बहसहरूबाट साभार ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved