युरिया मल र किसानलाई पेन्सनको माग गर्दै रौतहटमा ट्याक्टर र्‍याली

नेपालभ्युज

युरिया मल र किसानलाई पेन्सनको माग गर्दै रौतहटमा ट्याक्टर र्‍याली

गौर। युरिया मल उपलब्ध गराउन तथा किसानलाई पेन्सनको माग गर्दै रौतहटमा ट्याक्टर र्‍यालीसहित प्रदर्शन गरिएको छ। आईटी आर्मीको किसान मोर्चाले बुधबार जिल्लाको विभिन्न स्थानबाट आएका हजारौँ ट्याक्टर रौतहटको मध्यभाग गरुडामा जम्मा भई सदरमुकाम गौरसम्म प्रदर्शन गरेका छन्।

खेतीको मुल समयमा युरिया मलको अभाव हुने भएकोले किसानलाई हुने समस्या समाधान गर्न युरिया लगायतका मलखाद अविलम्ब उपलब्ध गराउन माग गर्दै प्रर्दशन गरिएको जनाइएको छ।

प्रदर्शनकारीले किसानलाई सम्मान गर्दै किसानलाई पेन्सनको व्यवस्था गर्न, किसानलाई पर्याप्त र सहज ऋणको व्यवस्था गर्न, कृषि बीमा लागु गर्न, ट्याक्टरलाई लाग्ने सम्पूर्ण कर खारेज गर्न माग राखेका छन्। उनीहरुले दलाल पूँजीवादी व्यवस्था खारेज गरी किसान मजदुरको राज्य व्यवस्था लागु गर्न नाराबाजी गरेका थिए।

प्रथम चरणको किसान संघर्षको कार्यक्रमको तहत ट्याक्टर र्‍याली निकालिएको र माग पूरा गराउन लगातार संघर्ष जारी राख्ने पूर्वप्रदेशसभा सदस्य कुन्दन कुशवाहाले बताए। उनले किसानका मागहरु सम्बोधन नभएको खण्डमा रौतहटमा मात्र नभई देशभर संघर्ष गर्ने बताए।

आईटी आर्मीको किसान मोर्चाले २७ भदौमा प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, ३० भदौमा मल उपलब्ध गराउने स्थानीय तहको सहकारी डिपो घेराउ गर्ने, असोज १ गते साल्ट ट्रेडिंग कर्पोरेसन र कृषि सामग्री कम्पनीको कार्यालयको घेराउ गर्ने तथा असोज ५ गते पहिलो चरणको संघर्षको कार्यक्रमको समीक्षा गरी दोस्रो चरणको संघर्षको घोषणा गर्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved