काठमाडौं। मेघ गर्जनसहितको वर्षाले सोमबार बिहान सबेरै काठमाडौं उपत्यकावासीको निद्रा खल्बल्यायो। “ओहो, एक्कासी कस्तो चट्याङ पर्यो, पानी पनि कति ठूलो”, धेरैका मनमा यस्तै तर्क खेल्यो।
बागमती, विष्णुमति लगायतका खोला किनारमा बसोबास गर्नेहरु भने मुसलधारे पानी पर्न थालेपछि सुत्न सकेनन्। खोलाको सतह कति बढ्यो, कुन बेला घरमा पानी छिर्ने हो, छि¥यो भने सामान कसरी जोगाउने यस्तै चिन्ताले सतायो। बिहान झिसमिस नहुँदै बाढीले करिब चार सय घर, कार्यालयमा क्षति पु¥यायो।
अनामनगर, बानेश्वर, शंखमुल, टेकु, थापाथली, नरेफाँट, काँडाघारी, बोडेफाँट डुवानमा परे। बल्खु र कालिमाटी तरकारी बजार, कुलेश्वरको हाउजिङ, शंखमुल पार्कसहित र अन्य खोला किनारका बस्ती जलमग्न भए।
बाढीले बागमतीसहित अन्य खोला किनारका सुकुम्बासी बस्ती प्रत्यक्ष प्रभावित भएका छन्। खोला किनार आसपासबाट दुई सय ४७ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
अनुमान भन्दा ठूलो वर्षा
जल तथा मौसम विज्ञान विभागको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा एक सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ। आइतबार साँझदेखि सोमबार बिहानसम्म काठमाडौंमा एक सय ५ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ।
यो तथ्यांक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित महाशाखा केन्द्रको हो। वर्षाको यो मात्रा महाशाखाको पूर्वानुमान भन्दा ठूलो हो।
“ठूलो वर्षा हुन्छ भनेर पूर्वानुमान गरिएको थियो, तर अनुमान भन्दा ठूलो मुसलधारे वर्षा भयो”, महाशाखाका मौसमविद् मीनकुमार आर्यालले भने। उनका अनुसार मनसुन शुरु भएयता २४ घण्टामा उपत्यकामा एक सय मिलिमिटर वर्षा नाघेको थिएन।
सोमबार विहान (२४ घण्टा)मा नगरकोटमा एक सय २२ दशमलव आठ मिलिमिटर, सुन्दरीजलमा ८६, बबरमहलमा ७९ र बुढानिलकण्ठमा ७९ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ।
पाँच दशकपछिको तेस्रो ठूलो वर्षा
सोमबार विहानको वर्षा पाँच दशकयताको सबैभन्दा तेस्रो ठूलो भएको विभागले पुष्टि गरेको छ। काठमाडौंमा यसअघि सन् १९८७ अक्टोबर २० मा एक सय २४ दशमलव चार र सन् २००२ जुलाई २३ तारिखमा एक सय ७७ मिलिमिटर वर्षा भएको थियो।
त्यसैगरी सन् २०१५ मे ११ तारिखमा एक सय १५ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागकी सिनियर डिभिजनल मेट्रोलोजिष्ट डा. इन्दिरा कँडेलले जानकारी दिइन्। उनले भनिन्, “सोमबारको वर्षा निकै ठूलो र भारी हो, विमानस्थलमा मौसम मापन केन्द्र स्थापना भएपछिको सबैभन्दा तेस्रो ठूलो वर्षा हो।”
एक घण्टाको अवधिमा ६० मिलिमिटर भन्दा सो भन्दा बढी वर्षा भएमा मौसमविद्हरु भारी वर्षाका रुपमा बुझ्ने गर्छन्। सो भन्दा बढीलाई ‘अधिक वर्षा’का रुपमा बुझिन्छ।
सन् १९६८ मा त्रिभुवन विमानस्थलमा केन्द्र स्थापना भएपछि उपत्यकाको वर्षाको अवस्था मापन गर्न थालिएको हो। अंग्रेजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो। करिब चार महीनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका हाराहारीमा पानी पर्ने विभागको तथ्यांक छ।
नाघ्यो वर्षाको औसत मात्रा
मनसुनमा मुलुकको औसत वर्षाको मात्रा एक हजार चार सय ९६ दशमलव सात मिलिमिटर हो। वर्षाको चार महीनाको अवधिमा काठमाडौं उपत्यकाको औषत वर्षाको मात्रा एक हजार एक सय ७६ दशमलव शून्य मिलिमिटर मानिएको छ।
सोमबारसम्म यो मात्रा नाघेर एक हजार तीन सय दुई दशमलव नौ मिलिमिटर पुगेको कँडेलले जानकारी दिइन्। “चार महीनाभरीको सरदर मात्रा ‘क्रस’ भइसकेको छ, अहिलेसम्मको अवस्था नियाल्दा सरदर भन्दा १० प्रतिशत बढी वर्षा भइसकेको छ”, उनले भनिन्। सेप्टेम्बर महीनामा उपत्यकाको औसत वर्षा एक सय ९९ दशमलव आठ मिलिमिटर हो।
सोमबार एकै दिन एक सय मिलिमिटर भन्दा बढी वर्षा भएकाले यसपटक नयाँ रेकर्ड रहने विभागको ठहर छ। यसअघि सन् २००८ सेप्टेम्बर १२ तारिखमा ८४ दशमलव तीन मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
निकास व्यवस्थित नहुँदा समस्या
हरेक वर्षायाममा बागमतीसहितका खोला किनारका बस्ती डुवानमा पर्ने गर्छन्। मुसलधारेले मात्रै होइन, मध्यम प्रकृतिको वर्षामा पनि यस्तो समस्या दोहोरिने गर्छ। बस्तीको ढल तथा सडकको निकास सोझै खोलामा पुग्ने भएकाले समस्या बल्झिने गरेको विज्ञहरुको बुझाइ छ।
आधुनिक प्रकृतिका ढल निकास नहुँदा वर्षाका बेला सडक र नदी किनार जलमग्न हुने समस्या बढेको खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिजनल इन्जिनियर प्रभात श्रेष्ठ बताउँछन्। “घरायसी तरल फोहोरसँगै वर्षौअघिदेखि मानव मलमुत्र व्यवस्थापन गर्न बनाइएका निकास, सडकको पानी बागमती लगायतका नदी\खोलामा पठाउँदा समस्या बढेको छ”, उनले भने।
जनसंख्याको चाप अनुसारको ढल र फोहोर पानी प्रशोधन केन्द्र बनाइनुपर्ने श्रेष्ठको बुझाइ छ। व्यक्तिका घरदेखि सार्वजनिकस्थल कंक्रिटमय भएकाले वर्षाको पानी सोझै खोलामा पुग्दा क्षणभरमै जलसतह बढेर बस्तीको निकास थुनिँदा होला बस्तीमा डुवान समस्या बढ्ने गरेको उनले बताए। यससँगै कंक्रिटका संरचना र खुला स्थानको अभावले पानीका स्रोत पुनभरण हुन छेकिएको विज्ञहरुको ठहर छ।
अतिक्रमणले निम्त्यायो समस्या
बागमती र अन्य खोला किनार अतिक्रमण गरी बसेका बस्तीले नदीको बहाब क्षेत्र खुम्चिने गरेको अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिले औल्याएको छ। व्यापारिक र राजनीतिक प्रभाव, ढल र सडक विस्तारले नदीको क्षेत्र साँघुरो भएको समिति पदाधिकारी बताउँछन्।
बागमती, विष्णुमति, धोविखोला, टुकुचा लगायतका खोलाको प्राकृतिक बहाव खुम्च्याएर पक्की पर्खालसहित सडक लगायतका संरचना बनाइएकाले बस्तीमा बर्सेनि ढुवानको समस्या दोहोरिने गरेको नेपाल नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले बताए।
उनले भने, “भारी वर्षाको रोकथाम मानवीय नियन्त्रणमा नभए पनि खोलाको बहाव सरकार र सरोकारवाला निकायले फराकिलो बनाउने हो, विभिन्न स्वार्थ समूहको दबाबमा हुने गरेको अतिक्रमण रोकिनुपर्छ।”
बागमतीको उद्गमस्थल बागद्धारदेखि चोभारसम्मको लम्बाई ४० किलोमिटर हाराहारी छ। सिनामंगल, बानेश्वर, थापाथली, टेकुसहित विष्णुमति, धोबिखोला किनारका विभिन्न भेगमा सुकुम्बासी बस्ती रहेका समितिले जनाएको छ। उपत्यकामा बागमती सभ्यतासँग जोडिएका साना-ठूला २० वटा सहायक खोला छन्। विष्णुमति, धोविखोला, मनोहरा, टुकुचा, बल्खु, नख्खु, हनुमन्ते, मनमती, स्यालमति, साङ्ला लगायतका सहायक नदी प्रणाली छन्।
Facebook Comment
Comment