नेकपा (एकीकृत समाजवादी)मा कुन नेतालाई के जिम्मेवारी ?

जनस्तरमा खुलेर प्रतिगामी कदमको भण्डाफोर गर्न निर्देशन

पार्टीले ६ जना नेताहरुलाई सचिवालयको जिम्मेवारी दिएको छ। यस्तै, प्रचार विभाग, प्रवास र उपत्यका विशेष प्रदेश कमिटीमा पनि नेताहरुलाई जिम्मेवारी तोकेको छ।

नेपालभ्युज

नेकपा (एकीकृत समाजवादी)मा कुन नेतालाई के जिम्मेवारी ?
फाइल तस्वीर

काठमाडौं। नेकपा एमाले फुटेर बनेको दल नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गरेको छ। पार्टीको स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजन गर्दै केन्द्रीय निकायमा जिम्मेवारी तोकेको हो।

एकीकृत समाजवादीको स्थायी समिति बैठकले केन्द्रीय सचिवालय गठन गर्दै प्रदेश इन्चार्जहरू पनि तोकेको छ। सुदूरपश्चिमबाहेक प्रदेशमा पार्टीले इन्चार्ज तोकेको हो।

स्थायी समिति बैठकपछि एकीकृत समाजवादीले जारी गरेको पहिलो अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको कार्यविभाजन र जिम्मेवारी उल्लेख गरिएको छ।

पहिलो अपानिमा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निकै ठाउँ खर्चिएका छन्। उनले ओलीकै कारण आफूहरूले नयाँ पार्टी बनाउनु परेको उल्लेख गरेका छन्।

एकीकृत समाजवादीको पहिलो अपानिमा एमाले अध्यक्ष ओलीले गरेका गलत तथा प्रतिगामी कदमहरूको खुलेर विरोधसहित जनस्तरमा भण्डाफोर गर्न निर्देशन दिइएको छ। ओलीले हुई पटकसम्म संसद विघटन गरेर संविधान र व्यवस्थालाई नै समाप्त पार्न खोजेकाले भण्डाफोर गर्न नेता कार्यकर्तालाई भनिएको छ।

पार्टीले ६ जना नेताहरूलाई सचिवालयको जिम्मेवारी दिएको छ। यस्तै, प्रचार विभाग, प्रवास र उपत्यका विशेष प्रदेश कमिटीमा पनि नेताहरूलाई जिम्मेवारी तोकेको छ।

एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालयमा स्थायी समिति सदस्यद्वय बेदुराम भुसाल र प्रमेश हमालसँगै नेताहरू राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन्। यता, वरिष्ठ नेता झलनाथ खनालले दस्तावेज मस्यौदा समितिको संयोजन गर्नेछन्। उक्त समितिमा १३ जनालाई जिम्मेवारी दिइएको छ।

खनाल नेतृत्वको दस्तावेज मस्यौदा समितिमा स्थायी समितिका डा. बेदुराम भुसाल, प्रमेश हमालसहित नेताहरू राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, डा. विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई, गणेश विक रहेका छन्।

एकीकृत समाजवादीले कर्णालीमा प्रकाश ज्वाला, लुम्बिनीमा भागवत विश्वासी, गण्डकीमा केशवलाल श्रेष्ठ, बागमतीमा केदार न्यौपाने, प्रदेश २ मा धर्मनाथ साह र प्रदेश १ मा घनेन्द्र बस्नेतलाई इन्चार्जको जिम्मेवारी दिएको छ। सुदूरपश्चिममा भने अहिलेलाई खाली राखेको छ।

नेकपा एमाले फुटेपछि गत ९ भदौमा नयाँ पार्टीको आधिकारिकता पाएको एकीकृत समाजवादीको स्थायी समितिमा अध्यक्ष माधवकुमार नेपालसँगै वरिष्ठ नेता खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल रहेका छन्। सोही समितिले नेताहरूको जिम्मेवारी तोकेको हो।

एकीकृत समाजवादीको प्रचार विभाग प्रमुखको जिम्मा जगन्नाथ खतिवडाले पाएका छन्। मोर्चा इन्चार्जको जिम्मेवारी डा. विजय पौडेलले पाएका छन् भने विशेष प्रदेश इन्चार्जको जिम्मेवारी विजय गुरुङ र उपत्यका इन्चार्जको जिम्मेवारी विश्वनाथ प्याकुरेलले पाएका छन्। यता प्रवास इन्चार्जमा श्रीप्रसाद साहलाई तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved