४० भन्दा बढी जिल्लामा गिद्ध गणना शुरु

सुनसरी, चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, रुपन्देही, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गिद्धका विभिन्न प्रजातिको चहलपहल भेटिएको छ। त्यसैगरी कास्की, पाल्पा, अर्घाखाँचीलगायत पहाडी भेगमा गिद्धको गुँड फेला परेका छन्।

४० भन्दा बढी जिल्लामा गिद्ध गणना शुरु

‘प्रकृतिका कुचिकार’ कहलिएका गिद्धका प्रजाति र संख्या यकिन गर्न गणना शुरु भएको छ। लोपोन्मुख गिद्ध संरक्षण कार्यलाई प्रभावकारी बनाउन नेपालका ४० भन्दा बढी जिल्लामा अनुगमन थालिएको हो।

चितवनदेखि कञ्चनपुरसम्मको पूर्व-पश्चिम राजमार्ग र आसपासका भेगमा विज्ञ, अनुसन्धाता र सरोकारवाला अनुगमनमा खटिएका छन्। पूर्वको सुनसरी र पहाडी भेगमा पनि गिद्धको गणना भइरहेको नेपाल पन्छी संरक्षण संघ (बीसीएन)ले जनाएको छ।

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसर पारेर गणना थालिएको हो। गिद्धले वातावरण सन्तुलनमा खेल्ने भूमिका र अन्य विविध पक्षबारे थाहा दिन अंग्रेजी महिनाको सेप्टेम्बरको पहिलो शनिबार यस्तो दिवसका रूपमा मनाउने गरिन्छ। शनिबार नेपालसहित ३० भन्दा बढी मुलुकमा १३ औं दिवस मनाइएको छ।

हिमाली र पहाडी भेगमा मौसम अनुकूल पारेर दिवस आसपासमै गणना हुने संघले प्रस्ट्याएको छ। तीन वर्षयता दिवसको अवसरमा समेत अनुगमन गर्न थालिएको हो। एउटै विधि र एकै समय पारेर प्रत्येक वर्षको मेईमा नेपालमा गिद्ध गणना हुने गर्छ।

गिद्धले वातावरणमा पुर्‍याउने महत्व, यसका प्रजाति लोप हुने कारण र संरक्षण शिक्षाबारे जनचेतना जगाउन दिवस महत्वपूर्ण रहेको गिद्ध अनुसन्धाता कृष्णप्रसाद भुसालले बताए।

सुनसरी, चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, रुपन्देही, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गिद्धका विभिन्न प्रजातिको चहलपहल भेटिएको छ। त्यसैगरी कास्की, पाल्पा, अर्घाखाँचीलगायत पहाडी भेगमा गिद्धको गुँड फेला परेका छन्।

विश्वमा २३ र एसियामा गिद्धका ९ प्रजाति अभिलेख भएका छन्। एसियामा पहिचान भएका सबै प्रजाति नेपालमा फेला परेका भुसालले जानकारी दिए। उनका अनुसार नेपालमा डंगर, लामो ठूडे, सानो खैरो, सुन, सेतो, हिमाली, हाडफोर, खैरो र राज गिद्ध पहिचान भएका छन्।

नेपालमा बाह्रैमास सानो खैरो, डंगर, सेतो, हिमाली, सुन र हाडफोर गिद्ध पाइन्छन्। राज, खैरो र लामो ठूँडे गिद्ध भने हिउँदका बेला जाडो छल्न आउँछन्। राज र खैरो चीन, मंगोलिया र आसपासका भेगबाट भित्रिन्छन् भने भारत र पाकिस्तानका विभिन्न भेगबाट आउने लामो ठूँडे गिद्ध हिउँदयामको अन्त्यसम्म यतै रहन्छन्।

नेपालमा सबै प्रजातिका गिद्धको संख्या २० हजार हाराहारीमा रहेको अनुमान गरिएको छ। अन्यको तुलनामा हिमाली गिद्धको संख्या सन्तोषजनक रहेको र सो प्रजातिको संख्या १० हजार हाराहारी रहेको विज्ञहरूको ठहर छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को ‘रेड लिस्ट’मा सूचीमा सूचीकृत सानो खैरो गिद्धको संख्या नेपालमा ५० देखि ७५को हाराहारीमा रहेको अनुसन्धाता भुसालले बताए।

“अन्य प्रजातिको तुलनामा यसको संख्या निकै कम छ”, उनले नेपालभ्यूजसँग भने।

आईयूसीएनले डंगर, लामो ठूँडे, सानो खैरो र सुन गिद्धलाई अति संकटापन्न र सेतो गिद्धलाई संकटापन्नमा सूचीकृत गरिएको भुसालले जानकारी दिए।

पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनक नामक औषधि गिद्धका संख्या घटाउने प्रमुख कारण रहेको पुष्टि भएपछि सरकारले २०६३ जेठ २३ मा सो औषधिको बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो। यस्तो औषधि प्रयोग गरेर मरेका पशुको सिनो खाएका धेरै गिद्ध मरेका बीसीएनको अध्ययनले पुष्टि गरेको छ। अनुगमन प्रभावकारी नहुँदा डाइक्लोफेनकको बिक्री नरोकिएको सो संस्थाको दाबी छ।

डाइक्लोफेनक र अन्य विषादीरहित शुद्ध आहरा र सुरक्षित बासस्थान सुनिश्चित नभएसम्म लोपोन्मुख गिद्धको संख्यामा सुधार नआउने विज्ञहरूको ठहर छ। गिद्धको घट्दो संख्यामा सुधार ल्याउन सरकारले चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन् केन्द्र सञ्चालन गरेको छ।

केन्द्रमा हुर्किएका डंगर गिद्धलाई प्राकृतिक बासस्थानमा घुलमिल हुन अभ्यस्त गराएर प्रकृतिमै छाडिन्छ। मरेका जनावरको सिनो खाएर प्रदूषित वातावरणलाई स्वच्छ राख्न र मृत जनावरबाट फैलने विभिन्न महामारी नियन्त्रण गर्न गिद्धले सघाउ पुर्‍याउँछन्।

लोपोन्मुख गिद्धको संख्या सुधार गर्न बीसीएनको पहलमा नेपालका विभिन्न भेगमा जटायु रेष्टुरेन्ट (गिद्धको सुरक्षित आहारा केन्द्र) खोलिएका छन्।

केन्द्रमा वृद्ध, अशक्त र बेवारिसे गाईवस्तु संकलन गरी पालनपोषण गरिन्छ। गाईवस्तुको प्राकृतिक रूपमा मृत्यु भएपछि गिद्धको आहाराका रूपमा प्रयोग गर्ने गरिन्छ।

रेष्टुरेन्टको अवधारणा दिगो समाधान नहुने विज्ञहरूको ठहर छ।

तस्वीर सौजन्य: कृष्णप्रसाद भुसाल

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved