सांस्कृतिक सम्पदा र स्वास्थ्य क्षेत्रमा भारतले ४ सय २० करोड दिने

नेपालभ्युज

सांस्कृतिक सम्पदा र स्वास्थ्य क्षेत्रमा भारतले ४ सय २० करोड दिने

काठमाडौं : १४ वटा सांस्कृतिक सम्पदा र १ सय ३ वटा स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि भारत सरकारले नेपाललाई ४ सय २० करोड अनुदान सहयोगमा दिने भएको छ।

शुक्रबार भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) बीच सम्झौता भएको छ।

विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई परियोजना निर्देशक श्री श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त अनुदान सहयोगबाट २०७२ को भूकम्पले क्षति पुर्‍याएका ललितपुर, नुवाकोट, रसुवा र धादिङ जिल्लाका १४ वटा सांस्कृतिक सम्पदा र ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १०३ वटा स्वास्थ्य परियोजना पुनर्निर्माण गरिने भारतीय दूतावासले जनाएको छ।

साथै नेपालको शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि १०० मिलियन अमेरिकी डलरका दरले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत कुल २५० मिलियन अमेरिकी डलर विनियोजन गरेको समेत जनाएको छ।

दूतावासका अनुसार भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदा परियोजनाको निर्माण भइरहेको छ।

त्यस्तै नेपालका १० जिल्लामा १४७ वटा स्वास्थ्य सुविधा र गोरखा र नुवाकोटमा ५० हजार घरहरूको निर्माण भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved