नेपाल-भारत मैत्रीपूर्ण फुटबल

नेपाली टिममा पलाएको आशा

नेपाली टिममा पलाएको आशा
तस्वीर स्राेत : एन्फा।

काठमाडौं। भारतसँगको मैत्रीपूर्ण फुटबल खेल शुरु हुनुअघि धेरैको अनुमान थियो, नेपाललाई भारतविरुद्ध हार टार्न सजिलो हुने छैन।
इतिहास र हालको फिफा वरीयताले पनि यस्तै देखाउँछ।

तर, नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले खेलको अघिल्लो दिन भनेका थिए, “इतिहास र र्‍याङकिङको हामी परवाह गर्दैनौं, जितका लागि खेल्छौं, हामी नयाँ गोर्खाली हौं।”

बिहीबार नेपालले यस्तै खेल खेल्यो। भलै नेपालले खेल जित्न सकेन, तर भारतविरुद्ध तुलनात्मक रूपमा राम्रो खेल देखायो। फुटबलमा गोर्खाली जस्तै लड्यो।

फिफा वरीयतामा भारत नेपालभन्दा ६३ स्थान माथि छ।

हेड टू हेड हेर्ने हो भने भारतसँग नेपालले हालसम्म खेलेका १९ अन्तर्राष्ट्रिय खेलमा १३ खेल भारतले जितेको थियो भने चार खेल बराबरीमा सकिएको थियो। नेपालले भने मात्र दुई पटक जित निकालेको थियो।

तर, दशरथ रङ्गशालामा बिहीबार यो आँकडाले काम गरेन। भारतले सोचेअनुरूपको खेल देखाउन सकेन। खेलपश्चात भारतीय प्रशिक्षक इगोर स्टिम्याकले भने, “ खेल रोमाञ्चक भयो, तर भारतीय टिम यो नतिजाभन्दा धेरै राम्रो हैसियत राख्छ, हामीले आफ्नै बेबकुफीले गोल खायौं र केही राम्रा स्पष्ट मौकालाई गुमायौं।”

नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग राम्रो खेलेको मान्न सकिन्छ। अझ नेपाल पहिलो हाफको अग्रता जोगाउन नसक्दा १-१ गालको बराबरीमा रोकियो र आठ वर्षपछि भारतलाई हराउने सुनौलौ मौका पनि गुमाउन पुग्यो।

यसअघि पछिल्लो पटक सन् २०१३ मा काठमाडौंमै भएको दशौं साफमा नेपालले भारतविरुद्ध २–१ गोल अन्तरको जित निकालेको थियो।
हिजोको खेलको ३६ औं मिनेटमा पाएको मौकाको सदपयोग गर्दै अन्जन विष्टले नेपाललाई अग्रता दिलाएका थिए।

चिङलेनसाना सिंह कोनसामले ब्याक पास दिएको बललाई भारतका गोलरशक्षक गुरप्रीतसिंह सन्धुले भेट्टाउनुअघि नै अन्जनले बिट गर्दै सहजै गोल गर्न सफल भए।

पहिलो हाफमा भारतले भने एउटा पनि गतिलो मौका सिर्जना गर्न सकेन। मिडफिल्डमा बल नियन्त्रण गर्न सके पनि भारतको अग्रपंक्तिले काम गर्न सकेन। भारतका स्टार स्टाइकर सुनिल क्षत्री नेपाली डिफेन्समै हराएका थिए।

नेपालीले भने राम्रो डिफेन्ससँगै काउन्टर अट्याकमा केही मौका बनाइरह्यो। पहिलो हाफमा १-० को अग्रता लिएको नेपालीले दोस्रो हाफमा पनि अट्याकलाइ कायमै राख्यो।

तर नेपालले धेरै समय बल डी बक्स बाहिरबाट नै प्रहार गर्दा फ्रेममा पर्न सकेन। भारतले पनि दोस्रो हाफमा नयाँ खेलाडीहरूलाई परिवर्तन गर्दै आक्रमणलाइ अझ बढायो। फलस्वरुप लगातारको प्रयासपछि ६० औं मिनेटमा भारत बराबरी गोल फर्काउन सफल भयो।

कप्तान क्षत्रीको करिब २० यार्ड बाहिरको प्रहारलाई नेपालका किप्पर किरण चेम्जोङले पञ्च गरी बचाए पनि नजिकै रहेका सब्सिच्युट खेलाडि अनिरुद थापाले गोल गरे।

भारतका अन्य केही प्रहारलाइ किरणले विफल पारेका थिए। यो खेलसँगै किरण चेम्जोङले पूर्वकप्तान विराज महर्जनसँगै नेपालका लागि सर्वाधिक ७३ खेल खेल्ने रकर्ड बराबर गरेका छन्।

युवा खेलाडीको टिम बनाएका अलमुताइरीले ६ खेलाडी परिवर्तन गर्दा युवा मिडफिल्डर नितिन थापाले राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरे।
अघिल्लो दिन जितका लागि खेल्ने बताएका अलमुताइरीले नेपाली समर्थकसँग माफी माग्दै भने, “ हामीले यो खेलका गल्ती सुधार्नुपर्छ, साफका लागि योभन्दा अझ राम्रो खेल देखाउन आवश्यक छ, तर मलाइ मेरो खेलाडीप्रति गर्व छ।”

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रङ्गशालामा हुनेछ।

बलियो भारतसामु जितको खोजीमा नेपाल

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved