बलियो भारतसामु जितको खोजीमा नेपाल

अलमुताइरीको शैलीले सुधारिएको खेल पस्किने आशा

नेपालभ्युज

बलियो भारतसामु जितको खोजीमा नेपाल

काठमाडौं। नेपाली फुटबलका लागि भारत सधैं बलियो प्रतिद्वन्दी हो। अझ हालको समयमा भारतीय राष्ट्रिय फुटबल टिमलाई हराउनु नेपालका लागि ठूलै सफलता मानिन्छ। किनकि भारतीय फुटबल तुलनात्मक रुपमा धैरै अगाडि बढिसक्यो।

नेपालले बिहीबार भारतसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दै छ। नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा भेट हुन लागेको हो।

सन् २०१५ मा दशरथ रंगशालामा भएको विश्वकप छनोटको पहिलो खेल भारतले २-० ले जित्दा दोस्रो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो।

भारतसँग नेपालले हालसम्म १९ अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा दबदबा भारतकै छ। भारतविरुद्ध नेपालले मात्र दुई पटक जित निकाल्न सकेको छ।

सन् १९९३ को दक्षिण एशियाली खेलकुद ‘साग’ को फुटबल फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४-३ ले हराएको थियो। यसपछि सन् २०१३ मा काठमाडौंमै भएको १० औं साफमा नेपालले भारतविरुद्व २-१ गोल अन्तरको जित निकालेको थियो। जसमा अनिल गुरुङ र जुमानु राईले एक एक गोल गरेका थिए।

चार खेल बराबरीमा सकिँदा १३ खेल भारतले जितेको थियो।

हाल फिफा वरीयतामा भारत नेपालभन्दा ६३ स्थान माथि छ। नेपाल फिफामा १६८ औं स्थानमा छ भने भारत १०५ औं स्थानमा छ।

तर नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरी भन्छन्, “इतिहास र र्‍याङकिङको हामी परवाह गर्दैनौं, जितका लागि खेल्छौं, हामी नयाँ गोर्खाली हौं।”

प्रशिक्षक अलमुताइरी आएपछि नेपालले मात्र हालसम्म चार अन्तर्राष्ट्रिय खेल खेलेको छ। तुलनात्मक रूपमा बलिया प्रतिद्वन्द्वीविरुद्ध तीन खेल हारे पनि नेपाली टिमको सुधारिएको शैलीले आशा गर्ने ठाउँ छ।

नेपाली टिम दुई महिनादेखि साफ च्याम्पियनसिप र यो खेलको तयारीमा छ।

बिहीबार हुने पहिलो खेलअघि नेपालका कप्तान किरण चेम्जोङले भने, “भारतविरुद्व खेल्न सहज छैन तर नयाँ प्रशिक्षक हाम्रा लागि बुबासमान हुनुहुन्छ। उहाँले हामीलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि निकै बलियो बनाउनुभएको छ।”

नेपाल र भारत दुवै आउँदो साफ च्याम्पियनसिपको तयारीस्वरुप यो मैत्रीपूर्ण खेल खेल्दै छन्। साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्स्मा सुरु हुँदै छ। त्यसैले भारतले यो खेलमा पनि बलियो टिम उतार्दै छ।

फुटबलमा बलियो बन्दै भारत 

तुलनात्मक रूपमा हेर्दा भारतको फुटबलको स्तर नेपालको भन्दा धेरै छ। त्यहाँ पछिल्लो समय फुटबलमा सरकारको उच्च लगानी गर्न थालेको छ। भारतीय फुटबलको घरेलु लिग पनि निकै व्यावसायिक भइसक्यो। यूरोप, अफ्रिका र दक्षिण अमेरिकाका स्टार खेलाडी पनि इण्डियन सुपर लिग खेल्न आउने गरेका छन्।

भारत निकट भविष्यमै विश्वकप खेल्ने लक्ष्यसाथ फुटबलमा लगानी गरिरहेछ। तर पनि भारतले नेपाललाई कम भने आँकेको छैन।

भारतीय कप्तान सुनिल क्षत्री भन्छन्, “हाम्रो फुटबल जुन स्थितिमा भए पनि नेपाली राष्ट्रिय टिमसँग खेल्न सधैं गाह्रो हुन्छ।”

क्षत्री नेपाली मुलका भारतीय नागरिक हुन। उनले नेपालीमै बोल्दै थपे, “मेरा बुबा नेपाली हुनुहुन्छ, आमा पनि नेपाली हुनुहुन्छ, बुबाको आर्मीको पृष्ठभूमिका कारण म भारतमा रहें। त्यसैले नेपालप्रति मेरो ‘सफ्ट कर्नर’ छ तर खेलमा त्यसले केही असर गर्दैन।

अलमुताइरीको आगमन फुटबल क्षेत्रमा आएपछि टिममा केही परिवर्तन देखापरेका छन्। त्यसको एक उदाहरण हो, ११ जना नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउनु।

भारतसँगको पहिलो खेलमा केही युवा खेलाडीले डेब्यू गर्ने सम्भावना छ।

नेपालको भारतसँग पछिल्लो भेट सन् २०१७ मा मुम्बईमा भएको थियो। उक्त खेल घरेलु टिम भारतले २-० ले आफ्नो पक्षमा पारेको थियो।

प्रशिक्षक अलमुताइरीका अनुसार नेपालको प्रमुख लक्ष्य साफ च्याम्पियनसिपको उपाधि र सन् २०२३ मा चीनमा हुने एसिएन कप फुटबलका लागि छनोट हुनु हो।

नेपाल एसिएन कप छनोट प्रतियोगिताको तेस्रो चरणमा छ।

मैत्रीपूर्ण खेललगत्तै नेपाल थप प्रशिक्षणका लाथि कतार जानेछ। कतारमा मिलेसम्म एक अभ्यास खेल खेलेर नेपाली टोली साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स् जानेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved