छिट्टै आए पाहुना चरा

हिउँदे जाडो छल्न तिब्बत, उत्तरी चीन, मंगोलिया, रूसको साइवेरिया आसपासका उत्तरी ध्रुवबाट धेरै प्रकृतिका पन्छी बसाइँ सर्ने गर्छन्। हिउँदमा पन्छीका करिब डेढ सय प्रजाति आउने गर्छन्।

छिट्टै आए पाहुना चरा
भक्तपुरको मनोहरामा भेटिएको प्रशान्त सर्षपी चरा।

काठमाडौं । हिउँदे आगन्तुक पाहुना पन्छी विगतका वर्षभन्दा चाँडै नेपाल भित्रिन थालेका छन्। प्रशान्त सर्षपी, लामठूँडे राजपुत्रिकालगायत जलपन्छी हिउँदयामभन्दा धेरै अघि आएका हुन्।

प्रशान्त सर्षपीको समूह मध्य साउनदेखि भक्तपुरको मनोहरा खोला किनारको बोडे र आसपासका भेगमा विचरण गर्न थालेको छ। “साउनमा दुई वटाको संख्यामा देखिएको सर्षपीको संख्या अहिले त ५/६ वटा पुगिसक्यो, अब केही दिनमा संख्या अझै बढ्न सक्छ”, यो पन्छीको अनुगमन गरिरहेका सञ्जय था श्रेष्ठले भने।

हिउँदे जाडो छल्न तिब्बत, उत्तरी चीन, मंगोलिया, रूसको साइवेरिया आसपासका उत्तरी ध्रुवबाट धेरै प्रकृतिका पन्छी बसाइँ सर्ने गर्छन्। नेपालमा पन्छीका करिब डेढ सय प्रजाति आउने गर्छन्। हिउँदका पाहुना चरामध्ये हाँस प्रजातिका धेरै हुन्छन्। तापक्रममा सुधार आएसँगै हिउँदयाम अन्त्यमा आफ्नो थातथलो फर्किन्छन्।

गर्मीयाममा करिब ६५ प्रजाति नेपाल आउँछन्। काठमाडौं उपत्यकामा आगन्तुक र रैथानेसहित पन्छीका करिब ६ सय प्रजाति अभिलेख भएका छन्।

श्रेष्ठका अनुसार विगतमा प्रशान्त सर्षपी असोजपछि मात्रै नेपाल आउने गर्थ्यो। प्रशान्त सर्षपी काठमाडौं, चितवन, बर्दिया र तराईका विभिन्न भेगमा देखिन्छन्।

यो पन्छी काठमाडौं उपत्यकामा मनोहराबाहेक अन्यत्र अभिलेख भएको छैन। विगत पाँच वर्षयता प्रशान्त सर्षपीको नियमित अनुगमन गरिरहेका श्रेष्ठका अनुसार विगतमा एक/दुई वटा मात्रै भेटिने यसको संख्यामा सुधार आएको छ। गत वर्ष मनोहराका विभिन्नमा भेगमा ४० वटासम्म यसको संख्या भेटिएको थियो।

गत वर्ष लकडाउनसँगै सुनसान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका भेगमा मानवीय चहलपहल घटेर मनोहरामा सर्षपीको संख्या निकै बढेको उनको ठहर छ। श्रेष्ठ भन्छन्, ‘यसपटक पनि संख्या बढ्दैछ, तर पहिले त्यस्तो धेरै संख्या देखिदैनथ्यो।’

हिउँदे आगन्तुकको सूचीमा रहेको अर्को जलपन्छी लामठूँडे राजपुत्रिका जेठ अन्तिम साता मनोहरा किनारमा भेटिएको छ। पन्छी अनुगमनमा जुटेका सुगम ताम्राकार, पेङ्वा शेर्पा लगायतको टोलीले यो पन्छी फेला पारेको हो। पन्छीलाई नियमित आगन्तुक, फिरन्ते र बटुवामा सूचीकृत गरिएको छ।

हिउँदे र वसन्त ऋतुका नियमित आगन्तुक, गन्तव्य नपुगी बाटो बिराएर फाट्टफुट्ट मात्रै देखिने फिरन्ते सूचीका छन्। नेपाललाई ‘ट्रान्जिट’ बनाएर अन्यत्र विचरणमा जाने बटुवा हुन्। पन्छीविद् डा. हेमसागर बरालका अनुसार प्रशान्त सर्षपी वटुवा र लामठूँडे राजपुत्रिका नेपालका लागि हिउँदे आगन्तुक चरा हुन्।

उनी भन्छन्, “हिउँदयामका बेला धेरै पन्छी नेपालहुँदै अन्यत्र विचरण गर्न जान्छन्, सोही क्रममा यता देखिने गर्छन्, तर सर्षपी नियमित आगन्तुक सूचीको भने होइन।” यस्ता पन्छी नेपाल भित्रिएको अवधि भने निकै छिटो भएकाले कारण पहिल्याउन जरुरी भएको बरालले बताए। नेपालमा सर्षपीलगायत वटुवा सूचीका पन्छीको संख्या र उपस्थिति बढिरहँदा सूक्ष्म अनुसन्धानको खाँचो उनले औंल्याए।

जलवायु परिवर्तन वा आफ्नो थातथलोमा आएको मौसमी परिवर्तनले हिउँदे आगन्तुक पन्छी वर्षायाम नसकिँदै अन्यत्र बसाइँ सर्न थालेका हुनसक्ने बरालको ठहर छ।

केही वर्षयता मध्य वर्षाका बेलामा पनि नियमित आगन्तुक नेपाल आएका नेपाल पन्छी संरक्षण संघले जनाएको छ। संघका अनुसार गत वर्ष भदौ अन्तिम र असोज पहिलो साता श्वेताखीभौं, मालकहाँस, विजुलागैरीलगायत हाँसका प्रजातिसँगै बगाले बगेडी छिटै पाहुनाका रुपमा भित्रिएका थिए।

नेपालमा अहिलेसम्म आठ सय ८८ प्रजातिमध्ये करिब साढे ६ सय रैथाने प्रजातिका पन्छीको अभिलेख भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। नेपालमा अभिलेख भएकामध्ये २९ प्रजाति बटुवा र ७४ प्रजाति फिरन्ते सूचीका पन्छी छन्। पन्छीविद्हरूका अनुसार करिब ५० प्रजाति नेपाललाई ‘ट्रान्जिट’ बनाएर अन्यत्र विचरणका लागि जान्छन्।

थपियो बगेडीको नयाँ प्रजाति

भक्तपुरमा बगेडीको नयाँ प्रजाति भेटिएको छ। गत वर्षको डिसेम्बर ६ तारिखमा मनोहरामा सेतो जुँगे बगेडी फेला परेसँगै नेपालमा १५ प्रजातिका बगेडी अभिलेख भएका छन्।

पन्छी अनुसन्धाता सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले यस्तो प्रजाति भेटेको हो। यसअघि सन् १९७०को डिसेम्बरमा पोखराको फेवातालमा यस्तै प्रकृतिको बगेडी रेकर्ड भए पनि सेतो जुँगे नभएको पुष्टि भएको छ। त्यसबेला भेटिएको बगेडी सेतो जुंगे नभएर ‘कुमफुस्रे’ नामक बगेडी हुनसक्नेमा विज्ञहरू सहमत भएका पन्छीविद् डा. बरालले बताए।

विश्वमा बगेडीका १५ प्रजाति पहिचान भएका छन्। पहाडी भेगमा भेटिने जुरे बगेडी, उच्च पहाडमा पाइने सुन, सल्ले र सिलाबाहेक तराई भेगमा भेटिने ११ प्रजातिका बगेडी हिउँदे पाहुनाको सूचीमा रहेका बरालले प्रस्ट्याए।

भक्तपुरको मनोहरामा भेटिएको सेतो जुँगे बगेडी

तस्वीरहरू सञ्जय था श्रेष्ठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved