नारायणगढ-मुग्लिन सडक खण्ड भासियो, यातायात भने सञ्चालनमा

नेपालभ्युज

नारायणगढ-मुग्लिन सडक खण्ड भासियो, यातायात भने सञ्चालनमा
फाइल तस्बिर

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिएको छ। तर, सडक भासिए पनि सवारी आवागमन भने सुचारु अवस्थामा रहेको छ। उक्त क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालयले जनाएको छ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझैँ सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग सडक भासिएको छ।

उक्त क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको खनालले जानकारी दिए। दुई मिटर गहिराइसम्म सडक भासिएको छ। भासिएको क्षेत्र बाहेकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको उनको भनाइ छ। खनालले भने, ‘सो ठाउँमा सडक १३/१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएर सडक रोकिँदैन।’

सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ। नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ। नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले जानकारी दिए। सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी गरिएको उनले बताए।

सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा छ। नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने रहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बाहिर सञ्चारमाध्यममा आएजस्तो सडक बन्द नरहेको प्रष्ट पारे। उनका अनुसार सडक भासिएको ठाउँमा यातायात अवरुद्ध भएको छैन। वर्षासँगै एकाएक सो ठाउँमा सडक भासिएको हो। बिहीबारदेखि यो सडक भासिन सुरु भएको र आज पनि थप भासिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved