काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरूले अपहरण र ज्यादतीपूर्ण काम गरेको आरोप लगाएका छन्।
नेताहरूलाई बलजफती रिसोर्टमा लगेर राखेर आफूहरूलाई लोकतान्त्रिक पार्टीको भएको भन्दै ओलीले नेपालप्रति कटाक्ष गरे।
एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, “बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । साधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’
धेरै समय माधव नेपालको पछिल्लो गतिविधिप्रति समय खर्चिएका ओलीले चन्द्रागिरिमा नेपाल समूहले गरेको भेलाबारे भने, “कुटपिट गरियो भनेर आफूले नभन्ने, तर घेराबन्दी गरेर घर–घरबाट लगेर राख्ने? फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो, चाहे सुनकै पिँजडामा होस्, चाहे भव्य रिसोर्टमा होस्।’
शेरबहादुर देउवाले एमाले फुटाउन अध्यादेश ल्याएका भन्दै यो अत्यन्तै गलत भएको उनको भनाइ थियो। अध्यादेश ल्याउनु गलत नभएको तर नियतमा भर पर्नुपर्ने उनको भनाइ थियो।
नेपाल समूहमा लागेका एमालेका केही नेताप्रति गुनासो गरेका ओलीले भने, “पार्टी बचाउन कोसिस गर्दा गर्दै केही मान्छेलाई सच्च्याउन खोज्दा पनि सकिनँ म दुःखी छु। मैले पढाउन खोजेका मान्छेलाई ल्याउन सकिनँ म दुःखी छु।”
माधव नेपालले बृहत् कम्युनिष्ट आन्दोलन बनाएर खरानी बेचेका उनको आरोप थियो।