नयाँ सरकार गठनबारे छलफलमा तालिबान

नेपालभ्युज

नयाँ सरकार गठनबारे छलफलमा तालिबान

तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनबारे छलफल गरिरहेको छ।

तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ।

अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन्।

गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए।

यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिबानको सरकार कस्तो हुन्छ भन्नेबारे निकै चासो पूर्ण रुपमा हेरेका छन्। उता तालिबानले भने अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन्।

तालिबानहरूको यो भनाइप्रति भने विश्व समुदाय विश्वस्त हुन सकेको छैन। यो वाचा गरेको भए पनि यसबारे धेरैमा आशंका व्यक्त भइरहेको छ। यसैकारणले पनि जतिसक्दो चाँडै सरकार गठन गर्न तालिबान लागि परेका बताइएको छ।

यतिखेर भने तालिबानले अशरफ घानीको पूर्ववर्ती सरकारसँग मिलेर संकट व्यवस्थापन गरिरहेका बताइएको छ।

बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन्। उनको नाम अमेरिका र संयुक्त राष्ट्रसंघको फरार आतंकवादीको सूचीमा पनि छ।

अघिल्लो हप्ता अफगानिस्तानलाई तालिबानले कब्जा गरेपछि अफगानिस्तान बाहिरसमेत रहेका उच्च तालिबान नेता स्वदेश फर्किन थालेका छन्। तालिबानका कतिपय नेता कतारमा रहेका बताइएको थियो। उनीहरू पनि अहिले स्वदेश फर्किरहेका छन्।

हाल तालिवानका चार संस्थापक नेता छन्। तीमध्येका एक जना बरादर रहेका र उनी गत शनिबार पहिला कान्दहार विमानस्थल आएर त्यसपछि काबुल ओर्लिएका थिए। अफगानिस्तानको कान्दहार शहरमा धैरै संख्यामा तालिबानीहरू छन्। तालिबानले कान्दाहारलाई आफ्नो उद्गमस्थल मान्ने गर्दछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved