काठमाडाैं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेश सभामा विश्वासको मत माग्दा एमाले सांसदले सभा बहिष्कार गरेका छन्। सोमबार अपराह्न प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन आग्रह गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको हो।
एमालेले सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने अडान लिएको छ। त्यसैअनुसार मुख्यमन्त्रीले विश्वास मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी भएनन्। एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरूलाई जानकारी नभएको बताएको छ।
मुख्यमन्त्री केसीले भने आफूलाई विश्वासको मत नदिनुपर्ने कारण नभएको र आवेग, ईर्ष्या र बदलावको भाव नराख्न एमालेसँग आग्रह गरे। आफू मुख्यमन्त्री बनेपछि एमालेले शुभकामना पनि नदिएको केसीको गुनासो थियो। संविधानले निर्दिष्ट गरेअनुसार विपक्षी दलसँग पनि संवाद, सहमति र सहकार्य गरेर बढ्न सरकार प्रतिबद्ध रहेको उनले बताए।