सर्लाही। लालबन्दी नगरपालिका-१७ की १५ वर्षीया किशोरीको हत्याको विषयलाई लिएर स्थानीयले सर्लाही जिल्ला प्रशासनमा पुगेर प्रदर्शन गरेका छन्। गत साउन ३१ गते घरबाट हराएकी १४ वर्षीय किशोरी प्रियंका भुजेलको शव चार दिनपछि लालबन्दी नगरपालिका-६ स्थित कालिन्जोर पुलभन्दा केही तल भेटिएको थियो। उक्त हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २ युवकलाई नियन्त्रणमा लिएको थियो।
किशोरीका आफन्त र स्थानीयले हत्यामा संलग्नमाथि कडाभन्दा कडा कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर नाराबाजी गरेका हुन्। किशोरीको बलात्कारपछि हत्या भएको दाबीसहित घटनामा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाही र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन्।
किशोरीका आफन्त तथा स्थानीले दोषीहरूलाई सार्वजनिक गरी कडा कारबाही हुनुपर्ने, शंकास्पद व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने, किशोरीको मोबाइल फोनको कल डिटेलका आधारमा पनि अनुसन्धान बढाउनु माग गर्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ज्ञापन पत्र बुझाएका छन्।
किशोरी बेपत्तापछि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले नै किशोरीको शव गाडिएको ठाउँ प्रहरीलाई देखाएका थिए। हत्या आरोपमा सोही ठाउँका १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।किशोरीको शव अझै पनि परिवारले बुझिसकेका छैनन्। बुधबार नै पोष्टमार्टम गरिए पनि शव जिल्ला अस्पतालमै राखिएको छ।
यसअघि उनीहरूले इलाका प्रहरी कार्यालय लालबन्दीमा पनि धर्ना दिँदै दोषीमाथि कडा कारबाही माग गरेका थिए। उक्त क्रममा त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो।