जनकपुरधाम । बलात्कार आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आरोप लागे देखि फरार रहेका महतो शुक्रबार कानुन व्यवसायी मार्फत लहान प्रहरीमा हाजिर भएका थिए । महतोलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको सिरहाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार महतोको स्वास्थ्य परीक्षणका लागि लहान स्थित प्रादेशिक अस्पताल पठाइएको छ। महतोको स्वास्थ्य परीक्षणपछि अनुसन्धान पूरा नभएसम्म थुनामा राखिने उनले बताए ।
महतोमाथी गत जेठ १९ गते जागिरको प्रलोभन देखाई २१ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ । ती महिलाले साउन ४ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी परेका खबर पाएपछि उपप्रमुख महतो सम्पर्कविहीन भएका थिए । उनी करिब दुई महिनापछि प्रहरीमा हाजिर भएका हुन् ।
उनले ती महिलालाई गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गर्न अपरेटर पदमा जागिर लगाइदिने प्रलोभन देखाएको बताइएको छ ।
Facebook Comment
Comment