मकवानपुर र धादिङ जोड्ने गोराङ्दी खोलामा मोटरेबल पुल बन्ने पक्का, प्रदेशबाट ठेक्काको तयारी

मकवानपुरको मनहरीदेखि धादिङको मलेखु जोड्ने छोटो मार्गलाई बाह्रै महिना सञ्चालनमा ल्याउने तयारीअन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घोरकोटेस्थित गोराङ्दी खोलामा पक्की पुल निर्माण पक्का भएको छ।

नेपालभ्युज

मकवानपुर र धादिङ जोड्ने गोराङ्दी खोलामा मोटरेबल पुल बन्ने पक्का, प्रदेशबाट ठेक्काको तयारी

हेटौँडा। मकवानपुरको मनहरीदेखि धादिङको मलेखु जोड्ने छोटो मार्गलाई बाह्रै महिना सञ्चालनमा ल्याउने तयारीअन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घोरकोटेस्थित गोराङ्दी खोलामा पक्की पुल निर्माण पक्का भएको छ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेटको व्यवस्था गरेपछि पुलको बहुवर्षीय ठेक्का लगाउने तयारी भएको हो।

६ करोड ८८ लाख ५२ हजार रुपैयाँ कुल लागत अनुमान गरिएको उक्त पक्की पुलको लागि प्रदेश सरकारले चालु आव २०७९र०८० मा २५ लाख रुपैयाँ छुट्टाइएको थियो। तर सो बजेटले पुलको बहुवर्षीय ठेक्का लगाउन रकम नपुगेपछि सोही वडाको चौकीटार मादलसिं मोटरेबल पुलको लागि छुट्टाएको ७५ लाख रुपैयाँ बजेट पनि गोराङ्दीखोला पुलको लागि रकमान्तर गरी बहुवर्षीय ठेक्का लगाउने तयारी भएको हो।

प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको मनहरी आदमघाट सडकमा ३५ करोड रुपैयाँ विनियोजन गरेकाले चौकीटार मादलसिं पुल पनि सोही बजेटबाट गर्ने गरी चौकीटारको लागि छुट्टाइएको बजेट गोराङ्दीमा रकमान्तर गरिएको हो।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, राज्यमन्त्री सन्तबहादुर प्रजा र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले केही समयअघि स्थलगत अनुगमन गरी एकै वडामा रहेको दुई पुलको बजेट रकमान्तर गरी गोराङ्दी खोला पुलको काम गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका थिए।

मन्त्रीहरूको मौखिक निर्देशनपछि राक्सिराङ गाउँपालिकाले बजेट रकमान्तरको लागि मन्त्रालयमा सिफारिस गरेको थियो। मन्त्रालयले पूर्वाधार विकास कार्यालय चितवनलाई रकमान्तर गरी आवश्यक कार्य गर्नको लागि पत्र पठाएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले जानकारी दिए।
मनहरीबाट ५२ किलोमिटर मात्र दूरी रहेको मनहरी मलेखु सडकको सबै ट्रयाक पूरा भइसकेको र घोरकोटेमा पुल निर्माण भएपछि उक्त सडक बाह्रै महिना सञ्चालन हुनसक्ने राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। ‘मनहरी मलेखु सडकको परेवाभीरमा पनि काम भइरहेको छ । घोरकोटेमा पनि पुल बनेपछि अब मलेखु मनहरी सडकमा बाह्रै महिना गाडी चल्न सक्छ’ अध्यक्ष मल्लले भने। सो पुलको लागि दुई वर्षअघि नै गाउँपालिकाले डिपिआर तयार गरिसकेको छ।

गोराङ्दीमा पुल निर्माण भए कैलाश, राक्सिराङ र धादिङका बासिन्दासमेत बढी लाभान्वित हुने देखिएपछि आवश्यकताको आधारमा गोराङ्दी खोलामा पुल निर्माणको काम अघि बढाइएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved