गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपालभ्युज

गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।

शनिबारदेखि थाइल्यान्डको राजधानी बैंककमा सुरु भएको गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “नेपालमा लगानीको वातावरण छ । यहाँ अनगिन्ति अवसरहरू छन् । प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ । त्यसैले, अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ । त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ ।”

ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चाँसो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, सम्मृद्धि र समुन्नतिका लागि काम गर्न आह्वानसमेत गरे । “कोरोना महामारीको पहिलो लहरका बेला हामी अब त संसार नै सखापै हुन्छ कि भन्ने त्रासमा थियौँ । त्यतिबेला विभिन्न कारणले विदेशमा रहेका कैयौँ नेपालीहरू घर फर्किने भनेर नेपाल फर्किनुभएको थियो । ती दृष्यहरू देख्दा सुन्दा लाग्थ्यो हामी अहिले जहाँ जुन रूपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ । आफ्नो जन्मस्थान नै सबैको प्यारो हुने रहेछ,” उनले भने ।

उपाध्यक्ष ढकालले गैरआवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासंघको पारिवारिक सम्बन्ध रहेको बताउँदै ढकालले गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप तथा पुँजी नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफूहरू तयार रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved