तमसुक लुट्न ३० हजारको सुपारी दिएर योजनाबद्ध हत्या, ५ जना पक्राउ

तमसुक लुट्न ३० हजारको सुपारी दिएर योजनाबद्ध हत्या, ५ जना पक्राउ

जनकपुरधाम। महोत्तरीमा एक १८ वर्षीय युवकको योजनाबद्ध तरीकाले हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा लिई बस्दै आएका ३२ वर्षीय जितकुमार यादव, २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम ४ घर भई वडा नं। ७ मा डेरा लिई बस्दै आएका २५ वर्षीय सन्तोष कुमार, औरही गाउँपालिका २ पौडेश्वर घर भई क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा डेरा लिई बस्दै आएका २१ वर्षीय किरण भन्ने प्रमीला महरा र २७ वर्षीय बिगुल मुखिया विन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

असार २० गतेदेखि जनकपुरधाम ७ बाट बेपत्ता भएका १८ वर्षीय अजय भनेर चिनिने अर्जुन साहको शव तीन दिन पछि २३ असारमा महोत्तरीको लोहारपट्टी ८ भगवानपुर चौर स्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साइडमा फेला परेको थियो।

यसरी गरियो हत्या

करिब एक वर्ष पहिले प्रमीला र उनका श्रीमान् बिगुल र कृष्णले अर्जुनको घरबाट एक लाख नगद र सुनका गहना चोरी गरेका थिए। घटनाको ६ महिनापछि मृतक अर्जुनकी आमाले प्रमीला र कृष्णले चोरी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गर्ने भन्दै धम्क्याइन्। त्यसपछि आपसी सहमतिमै उक्त रकम तिर्न बिगुलसँग एक लाख १७ हजार र कृष्णसँग दुई लाख ४६ हजारको कपाली तमसुक बनाएका थिए। कपाली तमसुक बनाएदेखि दुवै बेपत्ता थिए।

प्रहरीका अनुसार केही साताअघि उनीहरूलाई अर्जुनकी आमाले जनकपुरमा फेला पारेकी थिइन्। तमसुक बमोजिमको पैसा नतिरे प्रहरीमा उजुरी गर्छु भनेर उनले धम्क्याएकी थिइन्।

त्यसको रिसले आक्रोशित भएर प्रमीला, उनका श्रीमान् बिगुल र कृष्णले आमा छोराको हत्या गर्ने योजना बुनेका थिए। घरबाट सुनको गरगहना, नगदसहित तमसुकसमेत उनीहरूले फेरि लुट्ने योजना बनाए।

योजनाअनुसार कृष्णले जितकुमार र सन्तोषलाई अर्जुनको हत्या गरे ३० हजार दिने प्रलोभन देखाए।

साउन २० गते जित कुमारले अर्जुनलाई फोन गरी ट्याम्पो भाडामा लिए।

साँझ अर्जुनकै अटोमा चढेर उनीहरू त्यतातिर लागे। उनीहरूको योजनामा जित कुमार र सन्तोषले अर्जुनलाई रिजर्भमा जाने भनेर ट्याम्पोमा चढाएर भित्री सडकमा लगेपछि हत्या गरेको खुलेको हो।

प्रहरीका अनुसार भ्रमरपुराको भित्री सडकमा दुवैजना मिलेर गम्छाले घाँटीमा पछाडिबाट पासो लगाई हत्या गरेपछि शव नहरमा फालेका थिए।

हत्या गरेपछि शव छोडेर उनीहरू जनकपुर फर्किन थाले तर जनकपुरधाम–७ मुसहरी टोलमा ट्याम्पो फसेपछि उनीहरूले त्यहीँ छाडेर फरार भए।

चोरीमा संलग्नहरूसँग तमसुक बनाएको कारण नै हत्या

घरमा भएको चोरीको घटना ढाकछोप गर्न बार्गेनिङ गरेर अर्जुनका घरपरिवारले चोरीमा संलग्नहरूसँग तमसुक बनाएको कारण नै हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ।

जित कुमार यादवका भाइ कृष्ण र बिगुलकी श्रीमती २१ वर्षीया प्रमीलाको पूर्व योजनामा नै जनकपुरधाम उपमहानगरपालिका निवासी १८ वर्षीय ट्याम्पो चालक अर्जुन साहको हत्या भएको महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए।

साहको योजनावद्ध हत्या भएको प्रहरीले पुष्टि गर्दै हत्या आरोपमा पक्राउ परेका पाँचजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पंगेनीले पत्रकार सम्मेलनमा बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved