काठमाडौं। काठमाडौंको फोहर व्यवस्थापनमा प्रयोग हुने टिपरसहितका १७ वटा गाडीमा तोडफोड भएको छ । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइट नजिकै पार्किङमा राखिएका गाडीमा तोडफोड भएको हो ।
धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सहित १७ वटा गाडी सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको हो । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।
भएको थाहा पाएपछि राती १२ बजे प्रहरी पुगेको र गाडि तोडफोडको घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । टिपर चालकहरूले सशस्त्र प्रहरी पोस्ट नजिकै पार्किङ गरेर राखिएको गाडीलाई समेत सुरक्षा दिन नसकेको भन्दै नाराबाजी गरेका छन् ।
फोहर बोकेका गाडी तोडफोड भएपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा झनै चुनौती थपिएको छ । अहिले काठमाडौंका सडक,चोक र गल्ली-गल्लीमा फोहरको थुप्रो लागेको छ ।
Facebook Comment
Comment