काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले मन्त्रपरिषद् विस्तारबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। नेपालभ्यूजसँग कुरा गर्दै पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारका लागि आन्तरिक सल्लाह नगरेको बताए।
देउवाले कुनै जानकारीबिनै मन्त्रिपरिषद् विस्तार गर्न लागेको बताउँदै उनले आफूलाई को को मन्त्री बन्दैछन् भन्ने थाहा नभएको बताए।
प्रधानमन्त्री देउवाले आज मन्त्रीपरिषद् विस्तार गर्दैछन्। सत्ता गठबन्धनबाट बन्न लागेको सरकारमा कांग्रेसले प्रधानमन्त्री सहित ९ मन्त्रालय पाएको छ। कांग्रेसले आफ्नो भागबाट यसअघि कानून, गृह र रक्षा गरी तीन मन्त्री र एक राज्यमन्त्री बनाइसकेको छ।
गत बुधबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बेठकमा पौडेलले तीन ओटा मन्त्रालय माग गरेका थिए। त्यसपछि प्रधानमन्त्री देउवाले पौडेललाई दुई ओटा मन्त्री छनोटको जिम्मेवारी दिएको बताइएको थियो। मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी चलीरहँदा वरिष्ठ नेता पौडेलले सरकार विस्तारमा अनविज्ञता प्रकट गरेका हुन्।
मन्त्रिपरिषद् महामन्त्री शशांक कोइराला आज विहान काठमाडौं उपत्यका बाहिर निस्किएका छन्। पौडेल पक्षकै अर्का नेता दिलेन्द्र बडुले मन्त्री चयनका लागि पौडेल पक्षले कुनै बैठक र छलफल नगरेको बताए।
Facebook Comment
Comment