विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावरलाई जरिवाना

विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्रवाला १ सय ४८ मेनवापरलाई वैदेशिक रोजगार विभागले जरिवाना गराएको छ।

नेपालभ्युज

विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावरलाई जरिवाना

काठमाडौं। विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्रवाला १ सय ४८ मेनवापरलाई वैदेशिक रोजगार विभागले जरिवाना गराएको छ। ऐनअनुसार कुनै पनि म्यानपावरले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र सङ्ख्या, कामदारले पाउने तलब सुविधासहितको जानकारीसहित सूचना प्रकाशित गर्नुपर्छ।

तर, प्रकाशित नगर्ने १ सय ४८ मेनपावरलाई ५० हजारका दरले जरिवाना गराइएको हो। जरिवानाबाट ७४ लाख जरिवाना रकम सङ्कलन गरिएको विभागले जनाएको छ।

राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्थालाई ५० हजारका दरले जरिवाना गराएको हो।

साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले उनीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गराएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

उनीहरूले विज्ञापन प्रकाशन गरे नगरेकोबारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको महानिर्देशक पौडेलले बताए। संस्थाले विज्ञापन प्रकाशनको नाममा ऐनको दफा ४९ उल्लङ्घन गरेको विभागको ठहर छ। वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ को १ मा कुनै पनि इजाजत पत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृति बिना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजत पत्रवालालाई पचास हजार रुपैयाँ जरिबाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने कुरा उल्लेख छ।

ऐनअनुसार विभागबाट स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न राष्ट्रिय स्तरको कुनै पनि दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्नेमा सो नगरेको विभागको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved