बाजागाजा सहित कोदो रोपाइँ, औषधिको गुण भएको कोदोलाई वेवास्ता गरेकोमा चिन्ता

कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । कोदोका परिकार थोरै खाएर पनि पेट भरिने र धेरै पोषण प्राप्त गर्न सकिने हुन्छ । यसमा असाध्यै धेरै पौष्टिक तत्व रहेको हुन्छ ।

नेपालभ्युज

बाजागाजा सहित कोदो रोपाइँ, औषधिको गुण भएको कोदोलाई वेवास्ता गरेकोमा चिन्ता

काठमाडौं । सरोकारवालाहरुले नेपालमा कोदो उत्पादन र खपत बढाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय कोदो दिवसका अवसरमा मकवानपुरको भिमफेँदी गाउँपालिकाको छवेलीमा भएको रोपाइँ कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाले कोदोका सयौँ फाइदा भएपनि नेपालमा वेवास्ता गरिएकोमा चिन्ता पनि जनाएका छन् ।
“कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान”  भन्ने  मूल नाराका साथ आइतबार दोस्रो कोदो दिवस सम्पन्न भएको छ । रैथाने बालीको रुपमा रहेको कोदो बालीको संरक्षण, सम्बर्द्धन तथा उत्पादनमा वृद्धिका लागि यो दिवस मनाउन थालिएको हो । यो दिवस सन् २०२३ देखि अन्तराष्ट्रिय रुपमा मनाउने घोषणा पनि भइसकेको छ ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र छवेली कृषक समूहले मकवानपुरको भिमफेदी गाउँपालिकाको छवेलीमा गएर दोस्रो कोदो दिवस मनाएको छ । २०७६ सालदेखि महासंघ र अनाजले कोदोको बारेमा बहस चलाउँदै आइरहेको थियो । २०७७ सालदेखि दिवसकै रुपमा मनाउन थालिएको हो ।
छवेलीको एक किसान तथा खेतमा सम्पन्न दोस्रो कोदो दिवस कार्यक्रममा सहभागीहरुले कोदो खाद्यान्न बालीको मुख्यबाली मात्र होइन, औषधी गुणसम्पन्न तथा पोषणयुक्त खाद्यान्न भएकाले यसको जगेर्नाका साथै उत्पादन तथा उपभोगमा जोड दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथीका समावेशी आयोगका सदस्य (किसानतर्फ) विष्णु माया ओझाले कोदोको संरक्षणमा जोड दिँदै किसानलाई उत्पादन गर्नुको साथै त्यसको उपभोगमा पनि ध्यान दिन आग्रह गरिन् ।

खाद्यान्नमा कोदो सबभन्दा बढी पोषिलो रहेकाले यसबाट किसानले आर्थिक तथा स्वास्थ्यको फाइदा लिन सक्ने बताउँदै उनले लोप हुन लागेको कोदोलाई जोगाउन आवश्यक रहेको बताइन । कोदोबाट थुप्रै परिकारहरु बनाउन सकिने बताउँदै उनले यसको वजारको समस्या नभएको तर नेपालमा यसको उत्पादन नरहेको बताइन ।

किसान आयोगका सदस्य एवं प्रवक्ता जिवन्ती पौडेलले कोदो नेपालको महत्वपूर्ण खाद्यान्न भएपनि यो लोप हुने अवस्थामा पुगेको बताइन । यसलाई साँस्कृतिक खाना रुपमा विकास गर्दै राष्ट्रिय बालीको मान्यता दिलाउनका लागि सबै पक्षबाट पहल हुनुपर्ने कुरामा उनको जोड छ ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदोलाई मूख्य बालीको रुपमा विकास गर्नुपर्ने बताए । कोदो हेपहा बालीको रुपमा चिनिने भएको हुनाले त्यसलाई अब मूख्यबाली रुपमा विकास गर्दै यसलाई सबै तप्काका उपभोक्ताले उपभोग गर्नुपर्ने कुरामा उनले जोड दिए । कोदो बाली नेपालको मुख्यबाली भएको कुरा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने कुरामा जोड दिँदै उनले पोषिलोको हिसाबले कोदो अन्य बाली भन्दा १० गुणा पोषिलो रहेको बताए ।

कार्यक्रममा कोदो विज्ञ छवी पौडेलले कोदो एउटा बाली नभएर औषधी भएकाले यसलाई नियमित सेवन गर्न सुझाव दिए । उनले कोदो उत्पादन गर्न निकै सजिलो भएको र अन्य बाली जस्तो गाह्रो नरहेको बताउँदै यसको उत्पादनमा जोड दिइ बजारसम्म पहुँच पुर्याउन सुझाव दिए ।
कार्यक्रममा छबेली कृषक समूहकी उपाध्यक्ष दिलकुमारी लामा, महासंघका उपाध्यक्ष पञ्चकाजी महर्जन, मकवानपुर गढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, अनाजका सदस्य सुरेशकुमार यादवलगायतले कोदोको बारेमा आआफ्नो धारणा राखेका छन् । कार्यक्रममा सहभागी हुन गएका प्रतिनिधिहरुले बाजागाजासहित किसानको खेतमा कोदो रोपेर सो कार्यक्रम मनाएको हो । कार्यक्रममा कोदोका विभिन्न परिकार पनि सेवन गराइएको थियो ।
जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तता बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७० भन्दा बढी देशहरुको समर्थनमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने घोषणा गरिएको छ । नेपालमा गत वर्ष २०७७ देखि साउन १५ लाई कोदो दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।

कोदोको महत्व

कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । कोदोका परिकार थोरै खाएर पनि पेट भरिने र धेरै पोषण प्राप्त गर्न सकिने हुन्छ । यसमा असाध्यै धेरै पौष्टिक तत्व रहेको हुन्छ । खाद्य तथा पौष्टिक सुरक्षामा ठूलो योगदान गर्दछ । रेसा र शरिरलाई चाहिने क्याल्सियम, फस्फोरस, फलाम, लवन, अमिनोएसिड लगायतका खाद्य पदार्थ पाईने हुनाले हड्डी बलियो बनाउने, मुटु तथा रगतको मात्रा बढाउनलाई औषधीय बस्तुको रुपमा प्रयोग भएको पाईन्छ ।
कोदोले रगतमा बोसो र कोलेस्टरोलको मात्रा घटाउछ । जाडो याममा कोदो खानाले चिसोबाट बच्न सकिन्छ । कोदोलाई हिमालयन सुपर फुड (हिमालयन सर्वोत्तम खाना) को रुपमा चिनिन्छ । नेपालका आदिवासी जनजाती समुदायहरुमा चाडपर्व तथा पुजा आजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा प्रयोग हुने भएकाले यसको सांस्कृतिक महत्व रहेको छ । पशु बस्तुको लागि समेत यो महत्वपूर्ण आहार हो ।

भात खाने संस्कृतिलाई न्यूनिकरण गरी खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम शुरुवात गर्न सकिन्छ । पौष्टिकता र औषधीयपन तथा मानव स्वास्थमा पुर्याउने टेवाबारे ज्ञानको प्रसार गरि यसको प्रवद्र्धन गराउन सकिन्छ । शिशु खाद्य, बृद्ध खाद्य, तथा विभिन्न परिकारको रुपमा विस्तार गर्न सकिन्छ ।
अनुसन्धानबाट उन्नत प्रविधिको विकास गरि उत्पादन गराउन सकिन्छ । सम्मानित बालीको रुपमा विकास गरी यसको महत्वलाई बृद्धि गर्न सकिन्छ । राष्ट्रिय नीतिमा सम्बोधन गराई कोदोलाई मदिरा उद्योगको आधारको रुपमा विकास गर्न सकिन्छ । राष्ट्रिय कानुनमा नै सुधार गरी नेपाली ब्राण्डेड कोदोको मदिरा उत्पादन र विदेश निकासी गर्न सकिन्छ ।

जलवायु परिवर्तनको न्यून प्रभाव पर्ने भएकाले दिर्घकालीन कृषि बालीको रुपमा विकास गर्न सकिन्छ ।

सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गराउँदै लगेको छ । फलस्वरुप गएको आर्थिक वर्षमा सात करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको छ । पाखो खोस्रेर दाना फाल्दा पनि उम्रेर फल्ने भएकाले उत्पादनलाई व्यवस्थित गर्दै करोडौंको आयात रोक्न स्वेदशमै कोदो उत्पादनलाई प्रबर्द्धन गर्न आवश्यक देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved