श्रीलंकामा संवैधानिक संकट टर्‍यो तर, विक्रमासिंघेको जितमा धेरैको बेखुसी

नेपालभ्युज

श्रीलंकामा संवैधानिक संकट टर्‍यो तर, विक्रमासिंघेको जितमा धेरैको बेखुसी

एजेन्सी। जनताको प्रदर्शनका कारण राष्ट्रपति गोटावाय राजापाक्ष लखेटिएपछि नयाँ राष्ट्रपति चयनसँगै श्रीलंकामा संवैधानिक संकट टरेको छ । राष्ट्रपतिमा रनिल विक्रमासिंघेको चयनपछि तत्कालका लागि श्रीलंकाको संवैधानिक संकट त टरेको छ, तर आर्थिक र राजनीतिक संकट यथावत् छ ।

नयाँ राष्ट्रपतिका लागि संसद्मा बुधबार सम्पन्न मतदानमा एक सय ३४ मत प्राप्त गरेपछि विक्रमासिंघे राष्ट्रपति भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दुल्लास अलाहपेरुमाले ८२ र अनुरा कुमारा दिसानायेकेले तीन मत प्राप्त गरेका छन् ।

श्रीलंकाको संवैधानिक व्यवस्थाअनुसार राजापाक्षको कार्यकालको बाँकी दुई वर्ष बिताउनै बाँकी थियो। सो कार्यकालको लागि अब विक्रमासिंघे राष्ट्रपति रहनेछन् । तर, संसद्ले विक्रमासिंघे नयाँ राष्ट्रपति बनाए पनि प्रदर्शनकारी उनको नेतृत्व स्वीकार गर्न तयार देखिएका छैनन् । प्रदर्शनकारीले विक्रमासिंघेलाई पनि सत्ताको नेतृत्वबाट बाहिरिनुपर्ने माग राखेका छन् ।

केही दिनअघि प्रदर्शनकारीले राष्ट्रपति निवास र कार्यालय कब्जा गरेपछि राष्ट्रपति गोटावाया राजापाक्ष भागेर अज्ञात स्थल पुगे र सभामुखमार्फत राजीनामाको सन्देश पठाएका थिए । राजापाक्षको राजीनामाको सन्देशसँगै प्रधानमन्त्री विक्रमासिंघेले पनि मुलुकलाई निकास दिन सर्वदलीय सरकारका लागि राजीनामा दिने बताएका थिए ।

तर, राजापाक्षको बहिर्गमन उनका लागि राष्ट्रपति बन्ने सुअवसर देखिएपछि भने उनी त्यो योजनाबाट पछि हटेका थिए। प्रदर्शनकारीको माग र आफ्नो वचनअनुसार राजीनामा दिनुको सट्टा उनले हातमा आएको कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्न पुगेका हुन्। सत्तारूढ दललाई फकाएर आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सफल भएर विक्रमासिंघे राष्ट्रपति नै निर्वाचित भएका छन् । उनले संसद्लाई नयाँ प्रधानमन्त्री दिन आग्रह गरेका छन्।

विक्रमासिंघेको जितप्रति धेरैले निराशा र बेखुसी व्यक्त गरेका छन् ।
आर्थिक संकटपछिको प्रदर्शनले पूर्ववर्ती सरकारका सम्पूर्ण मन्त्रीलाई राजीनामा दिन मात्रै बाध्य बनाएन, प्रदर्शनकै कारण राष्ट्रपतिले देशै छोडेर भाग्नुपर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved