काठमाडौं। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।
चुनावी अभियानअन्तर्गत आज बिहान नारा प्रान्तमा आयोजित एक कार्यक्रमममा सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो। आबेलाई तत्काल एम्बुलेन्सबाट अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
आबेलाई दुईओटा गोली लागेको थियो।
आबे २००६ देखि २००७ र २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री भएका थिए। लिबरल डेमोक्रेटिक पार्टीको सभापतिका रूपमा समेत काम गरेका उनलाई सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेताका रूपमा लिइन्थ्यो।
आबेको जन्म जापानको राजधानी टोकियोको एक स्थायी राजनीतिक परिवारमा २१ सेप्टेम्बर १९५४ मा भएको थियो। उनको परिवार मूलत: यामागुची पर्फेक्चरका निवासी हुन् र आबे उनको हजुरबुवाको जन्मथलो नागाटोका पञ्जीकृत बासिन्दा हुन्।
उनको हजुरबुवा कान आबे र बुवा सिनतारो आबे दुवै राजनीतिज्ञ थिए। आबेकी आमा, योको किसी जापानका पूर्वप्रधानमन्त्री नोबुसुके किसी (१९५७-१९६०)की छोरी हुन्। किसी द्वितीय विश्व युद्धका समय हिडेकी तोजोका मन्त्रिपरिषदको सदस्य थिइन्।
आबेले सन् १९७७ मा सेइकेई विश्वविद्यालयबाट राजनीतिक विज्ञान विषयबाट स्नातक तह र जन प्रशासनिक विषयमा अध्ययन गरेका थिए। उनले पछि संयुक्त राज्य अमेरिका गएर दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयबाट जन नीति विषयको अध्ययन गरे। सन् १९७९ अप्रिलमा कोबी स्टिलमा काम गरेका आबेले सन् १९८२ मा उक्त कम्पनीबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका थिए।
उनी सन् १९९३ को आम निर्वाचनमा निर्वाचित भए। सन् २००५ को सेप्टेम्बरमा जुनिचिरो कोइजुमीको सरकारले उनलाई मन्त्रिमण्डल सचिवमा नियुक्त गरेको थियो।
त्यसको १ वर्षपछि २००६ सेप्तेम्बरमा लिबरल डेमोक्रेटिक पार्टीबाट चुनाव लडेका उनले कोइजुमीलाई प्रतिस्थापन गर्दै पार्टीको सभापति बनेका थिए।
Facebook Comment
Comment