ओलीले प्रधानमन्त्रीलाई भने – एसपीपीबारे भ्रमपूर्ण प्रचारबाजी नगर्नुस्, सत्यतथ्य बाहिर ल्याउनुस्

‘‘ख्यालठट्टाको विषय हो र यो ? यो कुनै पार्टी विशेषको, कुनै व्यक्ति विशेषको, कुनै समूह विशेषको, कुनै गुट विशेषको, कुनै गठबन्धन विशेषको कुरा हुन सक्दैन। यो राष्ट्रिय विषय हो।’’

नेपालभ्युज

ओलीले प्रधानमन्त्रीलाई भने – एसपीपीबारे भ्रमपूर्ण प्रचारबाजी नगर्नुस्, सत्यतथ्य बाहिर ल्याउनुस्

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) आफूले रोकेको दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अमेरिकाले प्रकाशित गरेको रिपोर्ट हेरेपछि हित अनुकुल नभएको भन्दै त्यतिबेलै एसपीपी रोकिएको बताए।

‘‘०७६ साल जेठमा अमेरिकाले एसपीपी आइपीएसको अंग भएको र नेपाल एसपीपीमा सामेल भएको रिपोर्ट प्रकाशित गर्‍यो। त्यसपछि हाम्रो ध्यान गयो। त्यो रिपोर्ट हेरेपछि हाम्रो ध्यान गयो’’, संसद्मा उनले भने, ‘‘र तत्कालीन रक्षामन्त्रीले परराष्ट्र सचिवको संयोजकत्वमा एउटा कमिटी बनाउनुभयो । त्यो कमिटी परराष्ट्र सचिव, रक्षा सचिव, गृह सचिवको थियो। र त्यसले त्यतिबेलै यसलाई स्टप गरेको थियो। यो हितअनुकुल छैन भनेर।’’

उनले एसपीपी ख्यालठट्टाको विषय नभएको भन्दै कसले सहमति गरेको स्पष्ट भन्नुपर्ने बताए। ‘‘ख्यालठट्टाको विषय हो र यो ? कसको समयमा कसले निर्णय गर्यो, कसले अघि बढायो । कसको बीचमा सहमति भइरहेको छ ? भित्रभित्र के भइराखेको छ ?’’, ओलीले भने, ‘‘त्यस्ता विषयहरु भित्रभित्रका विषय हुन सक्दैनन्। यो कुनै पार्टी विशेषको, कुनै व्यक्ति विशेषको, कुनै समूह विशेषको, कुनै गुट विशेषको, कुनै गठबन्धन विशेषको कुरा हुन सक्दैन। यो राष्ट्रिय विषय हो।’’

एसपीपीको पत्राचार भएको हो वा होइन भन्ने विषयमा सत्य तथ्य जानकारी दिन उनले प्रधानमन्त्रीलाई आग्रह गरे।

‘‘पत्राचार भएको भए नेपाल सरकारको कुन तहको, कुन मितिको, के विषयको निर्णयको आधारमा ? कुनकुन प्रधानमन्त्री, रक्षामन्त्री, क–कसले निर्णय गरेको छ ?’’, उनले भने, ‘‘ यस सम्बन्धमा भ्रमपूर्ण प्रचारबाजी होइन, सत्यतथ्य बाहिर ल्याउन म प्रधानमन्त्रीलाई अनुरोध गर्छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved