रेल्वे विधेयक २०७९ राष्ट्रियसभामा पेश

नेपालभ्युज

रेल्वे विधेयक २०७९ राष्ट्रियसभामा पेश

काठामाडौं। राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गरेकी हुन्। बैठकमा मन्त्री यादवले सो विधेयक संसद्बाट पारित भएपछि देशको आर्थिक समुन्नतिमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।

रेल्वे सेवा सञ्चालनले आम नागरिकलाई सरल र सुविधायुक्त यातायातको सुविधा उपलब्ध हुने विश्वास उनले व्यक्त गरिन्। विधेयकमा चालक र सहचालकका लागि अनुमति दिने निकाय र अधिकारीको व्यवस्था, यात्रुको मालसामानको ढुवानी, यात्रु क्षतिपूर्तिको आधार र मापदण्ड तोक्ने, रेल्वेसम्बन्धी दुर्घटनाको छानबिन गरी क्षतिपूर्तिको व्यवस्था गर्नेलगायतका विषय समावेश छ।

हालजनकपुर–जयनगर रेल सञ्चालनमा आएकाले सो सम्बन्धमा तत्काल कानुन निर्माण गर्न आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो।

संसद्को अधिवेशन चालु नभएको अवस्थामा पछिल्लो समय संविधानको धारा ११४ को उपधारा १ बमोजिम गत चैत ६ गते रेल्वेसम्बन्धी अध्यादेश, २०७८ जारी भएर हाल कार्यान्वयनमा रहेको छ।

अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सङ्घीय संसद्मा पेश गरी रेल्वेसम्बन्धी कानूनी व्यवस्थालाई निरन्तरता दिनु आवश्यक रहेको उनको भनाइ छ। यसअघि रेल्वे ऐन, २०२० रहेको थियो। सो ऐनमा चालकको योग्यता, रेल्वेसम्बन्धी अपराध र सजायको व्यवस्था रहेको थियो।

सरकारले विसं २०७७ वैशाख ८ मा रेल्वे अध्यादेश २०७७ जारी गरेपछि पुरानो ऐन खारेज भएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही असार १० गते शुक्रबार दिनको १ बजे बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved