काठमाडौं । सत्ता गठबन्धन दलहरू मन्त्रिपरिषद् विस्तारबारे आन्तरिक छलफलमा व्यस्त छन्। यसैबीच यसअघि नेपाली कांग्रेसबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भएका ज्ञानेन्द्र बहादुर कार्कीको मन्त्रालय नेकपा (एकीकृत समाजवादी) ले पाउने भएको छ।
सत्ता गठबन्धनको कार्यदलका सदस्य जनता समाजवादी पार्टी (जसपा) नेता महेन्द्र राय यादवका अनुसार नेकपा (एस) ले कानूनसँग शहरी विकास, श्रम तथा पर्यटन मन्त्रालय पाउने छ। त्यस्तै जसपाले भौतिक पूर्धाधार तथा यातायात मन्त्रालय, सामान्य प्रशासन, वन मन्त्रालय पाउने छ।
त्यसैगरी नेकपा माओवादीले थप शिक्षा र भूमिसुधार मन्त्रालय पाउने टुंगो लागेको पनि यादवले नेपाल भ्यूजसँग बताए। आज जसपाको संसदीय दलको बैठक बसेको र उक्त बैठकमा सरकारमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको यादवले बताए। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको नाम भने भोलि (बुधबार) टुंग्याउने उनले जानकारी दिए।
Facebook Comment
Comment